ओलीलाई प्रश्न : प्रधानमन्त्रीको कार्यकाल कति लम्बियो ?
बिहीबार, २० मङ्सिर २०८१, १५ : ५७

काठमाडौँ । चार दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधे–प्रधानमन्त्रीको कार्यकाल कति लम्बियो ? प्रधानमन्त्रीले धेरैको अनुमान विपरीत भारत भ्रमण नगरी पहिला चीन भ्रमण गरेपछि पत्रकारहरूले कार्यकालबारे प्रश्न गरेका थिए ।
पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पटक-पटक भन्दै आएको बताए । उनले डेढ वर्षसम्म देउवाले सरकार चलाउने र ०८४ को चुनाव पनि उनैले गराउने पनि बताए ।
‘अब १८ महिना म सरकार चलाउँछु, त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।