तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

तनहुँ । तनहुँमा ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार जिल्लाका तीन लाख २१ हजार एक सय ५३ जनामध्ये एक लाख ४५ हजार सात सय ९८ जना स्वास्थ्य बिमामा आबद्ध भएका हुन् ।
विपन्न नागरिकतर्फ दुई हजार पाँच सय ८९ परिवार र साधारणतर्फ २४ हजार आठ सय ८६ परिवारको स्वास्थ्य बीमा गरिएको कार्यालयका संयोजक सिर्जना पोख्रेलले जानकारी दिइन् । उनका अनुसार १९ हजार नौ सय ३३ ज्येष्ठ नागरिक, एक सय ८७ एचआइभी सङ्क्रमित, चार जना क्षयरोगी, छ सय ५५ अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा भएको छ ।
अझै ५५ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेकाले जनचेतना जगाएर आबद्ध गराउने योजना रहेको संयोजक पोख्रेलले बताइन् । जनचेतनाको कमी र गरिबीका कारण अझै पनि ठुलो जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध हुन नसकेको उनको भनाइ छ ।
सर्वसाधारणले प्रथम सेवा विन्दुमा विशेषज्ञ स्वास्थ्यकर्मी, औषधि र उपकरणको पर्याप्त सुविधा नहुँदा सबै प्रकारका स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका संयोजक पोख्रेलको बुझाइ छ । उनका अनुसार जिल्लामा स्वास्थ्य बीमामा आबद्ध भएकालाई प्रथम सेवा विन्दु ६ वटा रहेका छन् ।
पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, बन्दीपुर अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, दमौली अस्पताल र आँबुखैरेनी अस्पतालबाट सर्वसाधारणले स्वास्थ्य बीमाको सुविधा पाउने गरेका उनले जानकारी दिइन् ।
स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रूपमा रु तीन हजार पाँच सय तिर्नुपर्दछ । परिवारमा पाँच भन्दा बढी सदस्य भएमा प्रति सदस्यको रु सात सयका दरले थप रकम तिर्नुपर्ने प्रावधान रहेको संयोजक पोख्रेलले जानकारी दिइन् । स्वास्थ्य बीमा नियमावली २०७५ ले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई सङ्घीय सरकारले प्रिमियम रकम तिरेर निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ ।
सरकारले बीमामा आबद्ध पाँच सदस्यलाई वार्षिक रु एक लाख बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । नेपालको संविधान, २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा स्थापित गरेपछि नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आर्थिक वर्ष २०७२/७३ देखि यो कार्यक्रम लागू गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्
-
एनआरएनएको विदेशका शाखामा निर्वाचन गराउन घलेले तोके कुँवरलाई कमाण्डर
-
१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित