पहिलो एकदिवसीयमा क्यारेबियन टोलीसँग हार्यो बंगलादेश

काठमाडौँ । घरेलु टोली वेस्ट इन्डिजले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशलाई पाँच विकेटले हराएको छ । जितसँगै वेस्ट इन्डिजले तीन खेलको शृङ्खलामा १–० को अग्रता पनि लिएको छ ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको भ्रमणकारी टोली बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले ४७.४ ओभरमा केवल पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
क्यारेबियन टोलीको जितमा सेरफन रुथरफोर्डले शतकीय योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएर आक्रामक रूपमा प्रस्तुत भएका रुथरफोर्डले केवल ८० बलको सामना गरी आठ छक्का र सात चौका पनि हिर्काए ।
२६ वर्षीय रुथरफोर्डले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो पहिलो शतक हो । वेस्ट इन्डिजका लागि कप्तान साई होपले पनि ८६ रनको योगदान गरे । उनले ८८ बलको सामना गरी चार छक्का र तीन चौका हिर्काए ।
३१ वर्षीय साई होपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो २६औँ अर्धशतक हो । वेस्ट इन्डिजले ९४ रनको कुल स्कोरमा आफ्नो तेस्रो विकेट गुमाएको थियो । त्यसपछि रुथरफोर्ड र साई होपले टोलीको स्कोरलाई एक सय ९३ रनको स्थितिसम्म पुर्याएका थिए ।
३८औँ ओभरको पहिलो बलमा साई होप आउट भएपछि यो साझेदारी टुटेको थियो । त्यसपछि रुथरफोर्ड र जस्टिन ग्रेभ्सले टोलीको स्कोरलाई दुई सय ८८ रनसम्म डोर्याएका थिए । जस्टिनले भने टोलीका लागि अविजित ४१ रनको योगदान गरे । उनले ३१ बलमा पाँच चौका प्रहार गरे ।
केसी कार्टीले पनि टोलीको खातामा २१ रन थपे । बंगलादेशका बलर तान्जिम हसन सकिब, नाहिद राणा, रिसद होसैन, मेहदी हसन मिराज र सौम्य सरकारले एक–एक विकेट लिए । त्यसअघि बंगलादेशका लागि ओपनर तान्जिद होसैनले ६० रन बनाएका थिए ।
२४ वर्षीय तान्जिद होसैनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो तेस्रो अर्धशतक हो । उनले ६० बलमा तीन छक्का र ६ चौका प्रहार गरे । कप्तान मेहदी हसन मिराजले पनि टोलीका लागि ७४ रनको योगदान गरे ।
२७ वर्षीय कप्तान मिराजले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो पाँचौँ अर्धशतक हो । उनले एक सय एक बलको सामना गरी एक छक्का र ६ चौका हिर्काए । महमुदुल्लाहले पनि टोलीका लागि अविजित ५० रन बनाए ।
३८ वर्षीय अनुभवी ब्याट्सम्यान महमुदुल्लाहले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो ३०औँ अर्धशतक हो । जाकेर अली भने केवल दुई रनका कारण अर्धशतक पुरा गर्नबाट चुके । उनले ४० बलमा तीन छक्का र तीन चौकाको मद्दतले ४८ रन बनाए ।
आफिफ होसैनले पनि टोलीको खातामा २८ रन थपे । क्यारेबियन टोलीका बलर रोमारियो सेफर्डले तीन विकेट लिए । अल्जारी जोसेफले पनि दुई विकेट हात पारे । जेडन सिलेसले एक विकेट कुम्ल्याए । वेस्ट इन्डिजको जितमा शतकीय योगदान गर्ने रुथरफोर्ड प्लेयर अफ दि म्याच घोषित भए । दोस्रो एकदिवसीय मंगलबार खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्
-
एनआरएनएको विदेशका शाखामा निर्वाचन गराउन घलेले तोके कुँवरलाई कमाण्डर
-
१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित