नेपाल टेलिकम २२औँ वर्षमा, अब अनलाइनबाटै ई-सिम र भीओआईपी सेवा

काठमाडौँ । नेपाल टेलिकम २२ औँ वर्षमा प्रवेश गरेको छ । मंगलबार टेलिकमले विशेष कार्यक्रम आयोजना गर्दै २१ औँ वार्षिकोत्सव मनाएको हो ।
सो अवसरमा भीओआईपी सेवा र अनलाइनबाटै ई-सिम लिनसक्ने सेवाको सुरुवात गरिएको छ । यसबाट माेबाइल नेटवर्क नभएका तथा कमजोर भएका क्षेत्रमा वाईफाई सेवाबाटै मोबाइल सरह कुराकानी गर्न सकिने जनाइएको छ ।
कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले मुलुकको समग्र अर्थतन्त्रमा कम्पनीको योगदान उल्लेखनीय रहेको बताइन् । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ४२ अर्ब ११ करोड आम्दानी गरी ६ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले करिब रु २० अर्ब १२ करोड आय आर्जन गरिसकेको छ जनाएको छ ।
आव २०७९/८० मा कम्पनीले कर तथा शुल्क, दस्तुर, लाभांश, ग्रामीण दूरसञ्चार विकास कोष र रोयल्टी एवं श्रोतमा कट्टीकर वापत २८ अर्ब ४६ करोड सरकारी कोषमा योगदान पुर्याएकोमा समीक्षा अवधि आव २०८०/८१ मा ४१ अर्ब ५९ करोडको योगदान पुर्याएको जनाएको छ । चालु आवको छ महिनामा कम्पनीले १० अर्ब ८१ करोडभन्दा बढी योगदान गरिसकेको जनाएको छ ।
गत मंसिर महिनाको अन्त्यसम्म कम्पनीका इन्टरनेट तथा डाटा सेवाका प्रयोगकर्ता २ करोड ११ लाखभन्दा बढी पुगेका छन् । यसमध्ये जीएसएम मोबाइल डाटा सेवाका प्रयोगकर्ता २ करोड ७ लाख, तथा एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ३ लाख रहेका जनाएको छ । जीएसएम फोरजी सेवातर्फ हालसम्म करिब १ करोड ६४ लाख ग्राहक संख्यामा पुगिसकेको छ र निरन्तर विस्तारको क्रममा रहेको कम्पनीकी प्रबन्ध निर्देशक पहाडीले जानकारी दिइन् ।
हालसम्म टेलिकमको फोरजी सेवा देशका ७७ वटै जिल्लाका ७४४ स्थानीय तहसम्म यसको पहुँच पुगेको जनाएको छ । नेटवर्क विस्तारका लागि सञ्चालनमा रहेका ४६९७ स्थान मध्ये ४३२४ स्थानमा फोर जी सेवा सञ्चालनमा रहेको टेलिकमले जनाएको छ । आगामी दिनमा थप सेवा विस्तार गर्नको लागि ३३३ ईएनओडीबीको पूर्वाधार तयारीको कार्य अघि बढाइएको छ । थप १२०० ईएनओडीबीको सामान प्राप्ति गर्न बोलपत्रको तयारी अन्तिम चरणमा पुगेको छ। यसै आर्थिक वर्ष भित्रमा १८०० मेगाहेर्जको टु जी सेवा बन्द गर्ने योजना रहेको टेलिकमले जनाएको छ ।
टेलिकमले आटीडीएएफ परियोजना अन्तर्गत ग्रामीण विकास दूरसञ्चार कोषबाट मध्य पहाडी लोकमार्गमा कोशी, मधेश र बाग्मती प्रदेशमा गरी १४५० किलोमिटर बिछ्याउने कार्य सम्पन्न भएको जनाएको छ। यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गत १७४८ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने लक्ष्य रहेकोमा हालसम्म कुल ९९३ किलोमिटर कार्य सम्पन्न भइसकेको जनाएको छ।
टेलिकमले हाल ७७ वटै जिल्लामा एफटीटीएच सेवा उपलब्ध गराएको जनाएको छ । चालु आर्थिक वर्षको पौष मसान्तसम्मको अवधिमा, देशका ४६३ स्थानमा करिब २१ लाख वितरण क्षमताको नेटवर्क तयार भएको उल्लेख गरेको छ ।
२१ औँ वार्षिकोत्सवको उपलक्ष्यमा टेलिकमले माघ २२ देखि फागुन २१ गते सम्म विभिन्न प्याक समेत सञ्चालनमा ल्याएको जनाएको छ ।
मंगलबारको समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, मन्त्रालयकी सचिव समेत रहेकी टेलिकमकी अध्यक्ष राधिका अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी लगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारका ८० प्रतिशत आयोजना कार्यान्वयनमा गएका छन् : मुख्यमन्त्री
-
कच्चा पदार्थको भन्सार छुट गर्न जुत्ता चप्पल व्यवसायीको सरकारसँग माग
-
अबको चुनावमा एमाले पहिलो दल बन्ने मन्त्री दाहालको दाबी
-
कर्णाली सरकारका ८० प्रतिशत आयोजना कार्यान्वयनमा गएको मुख्यमन्त्रीको दाबी
-
यो वर्षको पोखरा म्याराथन पनि केन्याली धावककै कब्जामा
-
मैत्रीपूर्ण फुटबलमा चिनियाँ टोली च्याम्पियन, तस्बिरहरू