शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा काप्री
सोमबार, १९ फागुन २०८१, १७ : ४७

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा कृष्णप्रसाद काप्रीको सरुवा भएको छ । तत्कालीन महानिर्देशक दीपक शर्मा अनिवार्य अवकाशमा गएपछि महानिर्देशन पद खाली थियो ।
चिकित्सा शिक्षा आयोगको सदस्य सचिवको रूपमा कार्यरत काप्रीको फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको थियो ।
मन्त्रालयमा सरुवा भएसँगै आइतबार मन्त्रालयले काप्रीलाई केन्द्रको महानिर्देशक बनाउने निर्णय गरेको थियो । महानिर्देशक काप्रीले आजदेखि कार्यभार सम्हालेका छन् ।
यसअघि शिक्षा मन्त्रालय अन्तर्गत विद्यालय शिक्षा, योजना र उच्च शिक्षा महाशाखामा बसेर काम गरेका थिए । त्यस्तै परीक्षा नियन्त्रक कार्यालयको परीक्षा नियन्त्रक, शैक्षिक गुणस्तर परीक्षण केन्द्र र पाठ्यक्रम विकास केन्द्रको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।