बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

सङ्घर्षमा मातृ शक्ति

शनिबार, २४ फागुन २०८१, ०९ : ०२
शनिबार, २४ फागुन २०८१

भ्रूणबाटै निमोठ्न खोजिएको हो 
तिम्रो पहिचान
तिम्रै समाजको जकडिएको सोच देखेर
विश्वास नगरी कसैको
मनभित्र बोकेर अदम्य साहस
गर्नु छ विश्व भ्रमण 
लिनु छ लक्ष्य चन्द्रमा छुने 

त्यसैले 
साथमा बोकेर 
दर्बिलो आत्मविश्वासको भारी
गर्नु छ स्वावलम्बनको यात्रा 
अनकन्टार जङ्गल छिचोल्न 
जोगिएर हिँड्नू तिमीले 
आत्मनिर्भरताको राजमार्ग पुग्नु छ ।

तिमीले लमकलमक 
लक्ष्यमा  लम्किँदै गर्दा
धकेल्ने छन् तिमीलाई 
प्राकृतिक प्रकोपले पनि

तर
भल बाढीपछि धरामा मौलाएको बाली जस्तै 
मौलाउनु छ तिम्रो लक्ष
विचलित नभई उभिनु छ तिमीले
आत्मनिर्भरताको प्रदर्शित पथमा
फुल्नु छ समाजका बिझाएका आँखामा

त्यसैले 
सृष्टिको हर उत्सवको तय गर्ने तिमी
आफ्नो उत्सव अरूले मनाइरहँदा 
अनजान नै छौ अझै किन ?

अबेला भइसक्यो समयको पथ पछ्याउन 
अब
आऊ अड्चनका पहाडहरू छिचोलेर
गर्भमा गर्वसाथ नारीलाई हुर्काउनु छ तिमीले
सुन्दर धरामा  सुरक्षित ल्याएर तिनलाई 
आत्मनिर्भरताको पाठ घोकाउनु छ तिमीले 
निडरता र आत्मरक्षाको बाटो देखाउनु छ तिमीले 
समयमै
प्रकृतिले थोपरेका तिमीमाथिका अड्चनलाई 
आत्म गौरवको अनुभूति गराउनु छ तिमीले
आऊ नारी दिवसको उत्सव अरूले मनाइरहँदा
उत्सवमय दिनमा सङ्कल्पसहित यात्रा प्रारम्भ गरौँ 
सृष्टिका सहयात्रीलाई सँगसँगै डोहोर्‍याएर
बदल्नु छ जब्बर बनेको
आफ्नै समाजको कुत्सित सोचाइलाई 

अर्को पटक 
समतामूलक र हिंसारहित 
पूर्ण समाजलाई हृदयङ्गम गर्दै
हातेमालो गरी गरी 
मनाउन पाइयोस् मानव दिवस 
सद्भाव र शुभकामना आदानप्रदान  गरेर
अपेक्षित कामना साथ 
म, हामी, तिमी, उनी सबै सबैलाई 
यस पटक  
नारी दिवसको शुभकामना !

प्राध्यापन, त्रि-चन्द्र कलेज, नेपाली विभाग

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र चापागाईँ (नीरु)
नरेन्द्र चापागाईँ (नीरु)
लेखकबाट थप

छुटाउनुभयो कि ?