अमेरिकामा १२ अर्ब डलर लगानी गर्दैछ हुन्डाई

वासिङटन डीसी । दक्षिण कोरियाली कार निर्माता कम्पनी ह्युन्डाईले अमेरिकामा १२ अर्ब डलर लगानी गर्न लागेको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले व्यापार साझेदारहरूमाथि लगाएको अतिरिक्त भन्सार महसुल लागु हुने दिन नजिकिँदै गर्दा कम्पनीले अमेरिकामा सो लगानीको घोषणा गरेको हो । यसमा दक्षिण राज्य लुइजियानामा ५ अर्ब ८० करोड डलर लगानीमा स्टिल कारखाना खोल्ने योजना कम्पनीको छ ।
अमेरिकामा सवारी साधनको उत्पादनलाई विस्तार गर्ने र स्वचालित कार अनि कृत्रिम बौद्धिकता जस्ता नवीन प्रविधिमा अर्बौ डलर लगानी गर्ने कम्पनीले भनेको छ ।
लगानीका यी घोषणा अतिरिक्त भन्सार महसुलले निकै राम्रोसँग काम गरिरहेको छ भनेर प्रष्टसँग देखाएको सोमबार ह्वाइट हाउसमा ट्रम्पले भनेका थिए । यही साता सवारी साधनमा अरु भन्सार महसुलको घोषणा हुने पनि उनले बताए ।
नयाँ स्टिल कारखानाले वर्षेनी २७ लाख एमटी स्टिल उत्पादन गर्ने र यहाँ १ हजार ४ सय भन्दा धेरैले काम पाउने ह्यून्डाईले भनेको छ ।