सेतो कोटको आवाज

सेतो कोट
एक वस्त्र मात्र होइन,
यो त क्रान्तिको कवच हो
सास रोकिँदै गएको भिडभित्र
म मृत्युलाई चुनौती दिन्छु ।
न रातको अँध्यारो डराउँछ
न घामको ताप थकाउँछ
म त संघर्षको सिपाही हुँ—
रगत, आँसु र पीडाबिच
जीवनको वरण गर्छु ।
धेरैचोटि भत्किन्छु भित्रभित्रै
तर हरपल वसन्तजस्तै फक्रन्छु
जहाँ पीडा फुल्छ
त्यहाँ आशाको बीज रोप्छु
जहाँ निःशब्द करुणा हुन्छ
त्यहाँ नवीन उज्यालो ल्याउँछु ।
सेतो कोट
जसले
जीवन बचाउने शपथ लिएको थियो
जुन रगत र पसिनाले फुलेको थियो
आज बन्चरो बनेर
आफ्नै सपनाको विरुद्ध झुकेको छ ।
दिन र रातका सिमाना मेटाई
हामी बचाउँछौँ कैयौँ सासहरू
तर आफ्नै छातीमा— सुरक्षा होइन
अधिकारको गोली र अपमानका काँडाहरू झर्ने गरेका छन् ।
सरकारका चिल्लो गेटहरूमा
काँचुली फेर्ने सर्पहरू सलबलाइरहेछन्,
जसलाई न देशको पीडा सुनिन्छ,
न सपनाको चीत्कार !
डाक्टर ?
तिनीहरूका लागि
केवल एक साधन
एक प्रयोगशालाभित्र बन्दी सपनाहरू ।
हजारौँ थरी उज्याला
अझै शून्यतामा पलायन भइरहेछन्
विदेशी भुइँमा बलिरहेको न्यानोपन खोज्दै ।
र माटो ?
टुटेका कसमहरूजस्तै चिसो र सुनसान ।
तर ए स्वार्थका पुतलाहरू !
सुन
यो मौनता, यो सहनशीलता
अब सकिएको छ,
यो अन्यायका विरुद्ध,
अब सेतो कोट स्वयं आगो बन्नेछ ।
हामी बाँच्न होइन
बलिदान दिन जन्मिएका हौँ
हामी भत्किन होइन
नयाँ इतिहास रच्न आएका हौँ ।
हामी
सेतो कोटका योद्धाहरू
जसले
आँसुको नदीमा पनि साँचो साहसको पुल बनाउँछौँ ।
सेतो कोट
अब चुप रहनेछैन,
यो कोट अब प्रश्नहरू सोध्नेछ,
यो कोट अब विद्रोहको प्रतीक बन्नेछ !
हामी डाक्टर हौँ
तर हामी
केवल घाउ टाँस्नेहरू होइनौँ
हामी घाउ दिने समाजलाई उपचार गर्न
विद्रोहको शल्यक्रिया गर्ने चिकित्सक हौँ ।
सेतो कोट अब तुषारो होइन,
सेतो कोट
अब आगो हो ।
सेतो कोट
अब परिवर्तनको गर्जन हो ।
(अध्यक्ष, नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन, बंगलादेश)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद
-
रवि लामिछानेका वकिलले पटक–पटक पेसी स्थगित गरेर ‘थाहै दिइएन’ भनेपछि...
-
प्रिन्टिङ्ग प्रणालीमा देखिएको समस्या समाधानपछि पुन: सवारी चालक अनुमतिपत्र छपाइ सुरू
-
षट्कोण आर्ट्सले घोषणा गर्यो नयाँ फिल्म ‘लालीबजार’
-
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
गर्भवती र सुत्केरीको हवाई उद्धार सेवा कमजोर, रातिमा किन भएन ?