लालसलाम कमरेड

त्यो अन्तिम वाक्य पनि हुन सक्थ्यो
कमरेड !
तिम्रो र मेरो बातचित्
समय परिवर्तन भयो कि
हामी परिवर्तन भयौँ
लालरक्षकको भूमिकामा थियौँ
थियौँ सँगै लालझुपडीमा
लालझुपडी छैन तिम्रो
छ त केवल आलिसान महल ।
कमरेड !
प्रजातन्त्रका लागि राजाको पाउमा
दाम चढाउने कमरेड
हजारौँ सहिदको सपनामा होली
खेल्ने कमरेड
एउटै रथका यात्री भएका छन्
सपना पनि कस्तो बुन्छौ कमरेड
कहिले एकताको
कहिले हाँसोको बुन्छौँ
कहिले मिलन कहिले विछोड
२००६ सालदेखि अहिलेसम्म
कति हो कति अधिकारका कुरा
हरेक कोणबाट एउटा नारा
लगाउँछौँ केवल वृद्ध भत्ता ।
कमरेड !
कति आकर्षक छन् फूलका गुच्छाहरू
त्यही गुच्छा !
तिमी जीवित हुँदा गलामा हुनुपर्ने
तिमी मरेपछि लासमा मात्र देखिन्छ
जनवादी व्यवस्थाका लागि भन्दै
राज्यविरुद्ध मोर्चा कसेको दिन
याद गर कमरेड !
तिम्रा एक प्रर्चाका भरमा
संसारै बदल्न निस्किएका
यात्रीहरू
कहाँ होलान् कमरेड १
एउटै सिक्का भएर हिँडेका
हिजाका चे भन्नेहरू
आज कोही सी भएका छन्
कोही बी भएका छन्
एउटै उद्देश्यमा होमिएका यात्रीहरू
विचलित भएजस्तै गरी
१२ भन्दा बढी टुक्रामा विभक्त भएका छन्
त्यसैले त कमरेड पिङ्गला
अन्तिम सलाम तिम्रै लागि थियो
लालसलाम कमरेड !
कमरेड भनेर हात मिलाउने बिहानी
घाममा मात्रै देखिएको छ
तिमी सहिद भयौ भन्ने खबर
ऊबेला नै सुने थिएँ
तिम्रो नाममा एउटा दीप बालेको छु ।
कमरेड !
तिमी माथिबाट हेरिरहेको आवास हुन्छ
तिम्रो शरीर ढल्दा सहिद भयौ
भन्न सक्नेहरू
आफ्ना ढल्दा मुर्छित भएर बसेका छन्
प्रिय कमरेड बिहानी
सायद त्यही दिन थियो
तिम्रो अनुहार मलिन थियो
सुन्दरताको बयान गर्ने ठाउँ थिएन
जाउँ भागेर कुनै गाउँ थिएन
सायद अन्तिम भेट थियो बिहानी
तिम्रो शरीरमा गोलीका खोकाहरूले
क्षतविक्षत बनाएको सुनेँ
क्षतविक्षत शरीर भए पनि एकपटक
तिम्रो शरीरमा छुने रहर थियो
सायद त्यही बोली अन्तिम रहेछ
कमरेड ! लालसलाम ।
कमरेड ! सानिध्य, सुनिल, जमिन
खै आज पत्थर पनि
माटोजस्तै नरम भएका छन्
जसको शरीरबाट आज पनि
बन्दुकका छर्रा निकाल्न सकिएको छैन
तिमी हामीले हातेमालो गरेर
गणतन्त्रको नारा लगाएको पनि
१८औँ वसन्त भइसकेछ
कुरा जहाँको त्यहीँ छ
खै के सम्बोधन गर्नु कमरेड !
तिमी सहिद भयौ
कमरेड जमिनको नाममा गीत बन्यो
हजारौँ सहिदका नाममा कथा कविता लेखियो
आख्यान लेखियो
नाटक लेखियो
अरूण तरेर लेखियो
तिमी ढलेको लेखियो
आज सहिदका नाममा देश लुटेको पनि देखियो
द्वन्द्वको नाममा देश लुटेको पनि देखियो
खै कहाँ लेख्नु कविता
आज कमरेडको नाममा एउटा
कविता लेखियो
लालसलाम कमरेड !
(भोजपुर) ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण