शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षकहरुको चेतावनीदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म

मङ्गलबार, ०९ वैशाख २०८२, ०० : ०५
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. शिक्षक आन्दोलन चल्दा चल्दै शिक्षामन्त्रीको राजीनामा
सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमै रहेका समयमा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । शिक्षकहरूको आन्दोलन सोमबार २० औँ दिन पनि जारी छ ।

२. दुर्गा प्रसाईंका दुवै अस्पतालको खाता फुकुवा गर्न आदेश
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुवै अस्पतालको खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको छ । तीनकुने घटना हिंसात्मक बनेपछि फरार रहेका प्रसाईंद्वारा सञ्चालित दुई अस्पतालको खाता रोक्का गरिएको थियो । उनी हाल प्रहरीको हिरासतमा छन् ।

३. माधव नेपाललाई को–कोमार्फत ज्ञानेन्द्रले गरेका थिए प्रधानमन्त्रीको प्रस्ताव ?
तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा आफूलाई विभिन्न मान्छेमार्फत प्रधानमन्त्रीको प्रस्ताव गरिएको माधवकुमार नेपालले बताएका छन् । उनले दलहरूकै सहमतिमा भएमात्र आफू प्रधानमन्त्री हुने भनेर जवाफ फर्काएको पनि प्रस्ट पारेका छन् ।

४.. निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगाम
निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगाम लगाउने गरी विधेयक आउने भएको छ । प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था सुशासन समितिमा रहेको विधेयकमा कर्मचारीलाई अवकाशपछि दोहोरो सुविधा नदिनेगरी व्यवस्था गर्न लागिएको हो । 

५. जापानमा नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने

उदेश्यले आयोजित १४ औं नेपाल फेस्टिवल २०२४ मा ८० लाख बढि मुनाफा भएको छ । “नेपाल र नेपालीको जापानमा पहिचान, १४ औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवद्र्धन ।“ भन्ने मूल मान्यताका साथ जापानका लागि नेपाली दुतावास टोकियो जापान, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा गत नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन सम्पन्न नेपाल फेस्टिवल आईतबार टोकियोमा आय व्यय सार्वजनिक गर्दै उक्त जानकारी गराइएको हो । 

६. भीम रावलतिर लागेपछि सुदूरका एमाले नेतामाथि कारबाही
 भीम रावलको अगुवाइमा सञ्चालित मातृभूमि जागरण अभियानमा लागेको भन्दै एमालेले सुदूरपश्चिमका एक नेतामाथि कारबाही गरेको छ । सुदूरपश्चिम प्रदेशमा पार्टीका लेखा कमिटी सदस्य बालगिरी कुँवरलाई एमालेले निष्काशन गरेको हो । 

७ं.. तीनकुने घटनामा सुरक्षा कमजोरीबारे छानबिन हुने
गत चैत १५ गते तीनकुनेमा राजावादीले गरेको प्रदर्शनमा भएको सुरक्षा कमजोरीबारे छानबिन हुने भएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा उपत्यका प्रहरी कार्यालयले एसएसपी शेख र खनालको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

८. उपेक्षामा कर्णालीका विमानस्थल
कर्णाली प्रदेशमा कयौँ विमानस्थल स्तरोन्नति तथा विस्तारको पर्खाइमा छन् । तयार भइसकेका केही विमानस्थल समेत सञ्चालन हुन सकेका छैनन् । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

९. जनमत पार्टीमा असन्तुष्टि बढ्दै
सीके राउत नेतृत्वको जनमत पार्टीमा असन्तुष्टि बढ्न थालेको छ । सो पार्टीका निलम्बित उपाध्यक्ष ई। दीपक कुमार साहले कोषाध्यक्ष ई। सुरेन्द्र नारायण यादवको पक्राउप्रति गम्भीर आपत्ति जनाएका हुन् । साहले पार्टी अध्यक्ष राउतमाथि १० बुँदामा गम्भीर आरोपसमेत लगाएका छन् ।

१०. पूर्वमन्त्री प्रेम आलेविरुद्ध उजुरी
धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसदको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ ।

११. रिहा भएपछि धवल शमशेरले के भने ? 
राप्रपाका महामन्त्री धवल शमशेर जबराले हिरासतमा आफूलाई प्रहरीले राम्रो व्यवहार गरेको बताएका छन् । हाजिर जमानीमा रिहा भएपछि पार्टीका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले स्वास्थ्य उपचारका लागि आफू भारत जानु परेकाले हिरासतबाट निस्किएको बताए । 

१२. कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने

मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्ने भएको हो । बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर शिक्षकहरू आन्दोलनरत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप