आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

५०० किलोको बम बनेर पृथ्वीमा खस्दैछ यो स्पेसक्राफ्ट

सोमबार, २२ वैशाख २०८२, १३ : ०७
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । ५३ वर्षअघि पृथ्वीबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको एउटा अन्तरीक्षयान अब धर्तिको लागि खतरा बनेको छ । चाँडै नै यो यान पृथ्वीमा खस्ने समाचारमा उल्लेख छ  । तत्कालीन सोभियत संघले शुक्र ग्रहमा अवतरण गराउन भनेर १९७२ मा ‘कोसमस ४८२’ नामक अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो । 

तर केही यात्रा गरेपछि यानमा खराबी आयो अनि यो पृथ्वीको कक्षमा अड्कियो । यो आधा टन धातुको बल अब नियन्त्रण बाहिर गएर पृथ्वीमा खस्ने स्थितिमा छ । यो कहाँ खस्छ र कति क्षति पुर्‍याउनेछ भन्ने कसैलाई थाहा छैन । 

कोसमस ४८२ कुनै साधारण अन्तरिक्ष यान थिएन । यो लगभग १ मिटर चौडा गोलाकार अवतरण क्याप्सुल थियो, जुन शुक्र ग्रहको विषाक्त, तातो वायुमण्डलमा अवतरण गर्न डिजाइन गरिएको थियो ।

 यसको ताप ढाल यति बलियो थियो कि यसले शुक्र ग्रहको कार्बन डाइअक्साइडले भरिएको हावालाई पनि सहन सक्थ्यो । तर रकेटको असफलताका कारण यो पृथ्वीको कक्षमा अड्कियो । विगत ५३ वर्षदेखि यसले पृथ्वीको परिक्रमा गरिरहेको थियो । द गार्जियनको रिपोर्ट अनुसार, डच वैज्ञानिक मार्काे ल्याङब्रोकले मे १० तिर यो पृथ्वीमा खस्नेछ भन्ने अनुमान गरेका छन् । यो प्रति घण्टा २४२ किलोमिटरको गतिमा खस्नेछ । 

‘आत्तिनु पर्दैन, तर खतरा पूर्ण रूपमा टरेको छैन । यो यान सानो छ, केवल ५०० किलोग्राम तौलको । वायुमण्डलमा जलेर यो ध्वस्त भएन भने पनि, यसको जोखिम उल्का पिण्ड खसेको जस्तै हुनेछ,’ उनले भने । प्रत्येक वर्ष पृथ्वीमा कयौँ उल्का पिण्डहरू खस्छन् । यस यानबाट हानि हुने सम्भावना चट्याङबाट मर्ने सम्भावना जत्तिकै कम हुने  पनि उनले बताए । यो यानमा रहेको केही प्रविधिले काम गरे नजलीकन पृथ्वीमा आउन सक्ने पनि बताइएको छ । यदि ताप ढाल भाँचिएन भने यो आकाशबाट खसिरहेको अनियन्त्रित धातुको बल हुने भनिएको छ । 

यो कहाँ खस्छ भनेर भविष्यवाणी गर्न गाह्रो छ । तर यो ५१ दशमलव ७ डिग्री उत्तर र दक्षिण अक्षांशको बिचमा जहाँ पनि खस्न सक्ने बताइएको छ । यसको अर्थ यो लन्डन र क्यानडाको एडमन्टनको बिचमा कतै झर्ने सम्भावना छ । यानको ५३ वर्ष पुरानो प्यारासुट प्रणालीले अझै काम गर्छ कि गर्दैन भन्नेमा पनि वैज्ञानिकहरूलाई शङ्का छ । २०२२ मा, चीनको बुस्टर रकेट र २०१८ मा, तियांगोङ–१ अन्तरिक्ष स्टेसन पनि नियन्त्रण बाहिर गएर पृथ्वीमा खसेको थियो । यसको धेरैजसो भाग समुद्रमा खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप