बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : नेपालमा फिनटेन

‘आजको दिनमा नेपालले डिजिटल पब्लिक इन्फास्ट्रक्चरमा काम गर्नुपर्छ’

हामीले डिजिटल भुक्तानीमा निकै प्रगति गरेका छौँ :  सञ्जीव सुब्बा
मङ्गलबार, ३० वैशाख २०८२, १० : १०
मङ्गलबार, ३० वैशाख २०८२

सञ्जीव सुब्बा नेशनल काठमाडौँ फिनटेकका संस्थापक हुन् । उनी बैंकिङ इन्सिच्युड (एनबीआई)का तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)का पूर्वप्रमुख कार्यकारी अधिकृतसमेत रहेका उनले तत्कालीन ग्रीनलेज बैंक र थाइल्यान्डको वेभस्टार विश्वविद्यालयको कार्यकारी निर्देशक थिए । 

चार वर्षसम्म नेप्सको कार्यकारी निर्देशक तथा अहिले नयाँ फिनटेक कम्पनीको संस्थाककको हैसियतमा रहँदा आईटी क्षेत्र सम्बन्धमा उनको गहिरो अनुभव छ । उनै सुब्बासँग हामीले नेपालमा भुक्तानी सेवा तथा फिनटेक उद्योगसँग सम्बन्धित विषयमा कुराकानी गरेका छौँ । 

  • नेपालमा भुक्तानी सेवा प्रयोग बढ्दो छ, समस्या पनि बढेका छन् । ठुला बैंकदेखि भुक्तानी सेवा प्रदायक र भुक्तानी सेवा सञ्चालक कम्पनीमा पनि वेलावेलामा समस्या देखिएका छन् । कसरी हेरिरहनुभएको छ ? 

प्रविधिले हामीलाई जुन सुविधा दिएको छ, त्यसको अवसर र लाभलाई हामीले बिर्सिनु भएन । प्रविधि नभएको भए एउटा चेक साट्न, बैंकमा गएर लाइन लाग्न कति दुःख पाइन्थ्यो ? यो कुरा हामीले भोगेर आएका पनि हौँ । 

नेपाली बैंक र फिनटेक कम्पनीहरूले ल्याएको प्रविधि विश्वस्तरीय छ । यसले जनताको जिन्दगीलाई धेरै सहज बनाएको छ । यसले समयको बचत पनि गरेको छ । त्यसले गर्दा घरमै बसेर मोबाइल फोनमार्फतै कारोबार गर्न पाएको अवस्था छ । आर्थिक रूपमा कम विकसित भए पनि अमेरिका, युरोपका मान्छेले पाइरहेको सुविधा हामीले पनि पाइरहेका छौँ । यसका लागि हामीले सेलिब्रेट पनि गर्नुपर्छ, हौसला पनि दिनुपर्छ । 

निजी क्षेत्रले आफ्नो लगानीमा काम गरिरहेको छ, बैंकहरूले सेवा दिइरहेको छ भनेपछि उहाँलाई हामीले अप्रिसियट गर्नुपर्छ । नकारात्मक कुरा मात्रै गर्न थाल्यौँ भने ‘इनोभेसन किल’ हुन्छ । 

मैले पनि एउटा आईटी कम्पनीमा चार वर्षसम्म सीईओको जिम्मेवारी निर्वाह गरेर आएँ । यो क्रममा मैले धेरै रियल ह्याङ व्यहोरेको छु । एकपटक कस्तो कोइन्सिडन्ट भोगेँ भने, हाम्रो कम्पनीको तर्फबाट भिजा कार्ड अवरुद्ध भयो । नेपालमा यसको ४०/५० लाख उपभोक्ता छन् । सबैको भिजा कार्ड चलेन । पछि बुझ्दै जाँदा के भएको रहेछ भने भारतको बिहारको पटनामा एउटा मजदुरले बाटोमा गैँतीले हान्दा त्यहाँभित्र नेपाल आउने फाइभर अप्टिक चुँडिएछ ।  

हामी डिजिटल ट्रान्सफरमेसनको प्रारम्भिक चरणमै छौँ । यसमध्ये डिजिटल भुक्तानीमा हामीले निकै प्रगति गरेका छौँ । विश्वस्तरीय प्रविधि हामीले नेपालमा उपभोग गर्न पाएका छौँ ।

हाम्रो आउटसोर्स कम्पनी भिजा थियो, यसको केन्द्रीय कार्यालय सिंगापुरमा थियो । सो कम्पनीले भारतको एयरटेल कम्पनीलाई आउटसोर्स गरेको रहेछ । एयरटेलसम्म पुगेर कारण खोज्दै जाँदा पत्ता लगाउन १४/१५ घण्टा लाग्यो । त्यसो हुँदा कतिपय अवस्थामा समस्या सामान्य भएर पनि पत्ता लगाउन समय लाग्दा यस्तो समस्या पनि आउन सक्छ । 

  • नेपाली सेवाप्रदायकमा देखिएका प्राविधिक समस्यालाई अन्तर्राष्ट्रिय बजारमा देखिएका समस्यासँग तुलना गर्दा हाम्रो अवस्था कस्तो छ ? 

प्रविधिमा समस्या आउनु अस्वाभाविक होइन । यो नेपालमा मात्रै आउने पनि होइन । गत हप्ता अस्ट्रेलियाको ‘कमनवेल्थ बैंक’को मोबाइल एप चलेन । अस्ट्रेलियाजस्तो समृद्ध मुलुकमा समेत यस्तो समस्या आएको देखिन्छ । भारतमा तीन साताअघि ३५ करोड जनताले चलाउने यूपीआई भन्ने पेमेन्ट इन्टरफेज चलेन । 

त्यसैले यो प्रविधि भनेको कस्तो हुन्छ भने, कुनै पनि बैंक वा सेवा प्रदायकमा डिपेन्डेन्सीको चेन धेरै लामो छ । यसको अर्थ एउटा प्रविधि सञ्चालन हुन इन्टरनेट सेवाप्रदायक, फिनटेक कम्पनीदेखि विभिन्न तहका संस्थाहहरू सहभागी हुन्छन् । एउटा ठाउँमा समस्या आउँदा पनि सम्पूर्ण सिस्टम नचल्ने अवस्था आउन सक्छ । अमेरिकामा क्राउडस्ट्राइक हुँदा अर्बौँ डलरको कम्पनी पूर्ण रूपमा आउटवेजमा गएको थियो । 

हामी डिजिटल ट्रान्सफरमेसनको प्रारम्भिक चरणमै छौँ । यसमध्ये डिजिटल भुक्तानीमा हामीले निकै प्रगति गरेका छौँ । विश्वस्तरीय प्रविधि हामीले नेपालमा उपभोग गर्न पाएका छौँ । त्योमात्रै होइन, नेपाली फिनटेक कम्पनीले अहिले अफ्रिकाको तान्जानियामा गएर ट्रेन चढ्दा प्रयोग हुने प्रविधि नेपाली कम्पनीको हो । कति वटा देशमा त साइबर सेक्युरिटीको जिम्मा नेपाली कम्पनीले लिएका छन् । बंगलादेशको बैंकदेखि लिएर कतिपय देशका कम्पनी नेपालीले ड्राइभ गरिरहेका छन् । भियतनाममा रोलआउट भइसकेको छ, म्यानमारमा रोलआउट हुँदैछ । नेपाली फिनटेक कम्पनीहरूले आफ्नो प्रोडक्ट र उत्पादन विश्वस्तरमा लिएर गइरहेको छ । 

नेपाली कम्पनी वा नेपाली बैंकहरूले उपभोक्तालाई प्रविधिमैत्री सेवा दिन एकदमै राम्रो र सकारात्मक प्रयास गरिरहेका छन् । नेपाली प्रविधि विश्वासयोग्य छन्, धेरै राम्रो छन् । तर, कहिलेकाहीँ चुनौतीहरू आउँछन् ।

त्यसैले आईटी भनेको एउटा बोर्डरलेस प्रोडक्ट हो । यसको निर्यातका लागि ट्रक चाहिँदैन, प्लेन चाहिँदैन, रोडवे पनि चाहिँदैन । त्यत्तिकै निर्यात भइरहेको छ । यसको अर्थ के हो भने प्रविधिमा नेपाली कम्पनीको स्केलअप एकदमै राम्रो छ । 

तर उपभोक्ता जति अभ्यस्त हुँदै जान्छन्, सिंगल सोलुसन खोज्दै जान्छन् । पछाडि के भइरहेको छ, के मतलब भन्ने कुरा त हो नि हाम्रो । मिडियाले सम्प्रेषण गर्दा ब्यालेन्स्ड–भ्यु आउनुपर्छजस्तो लाग्छ । उपभोक्ताको सेन्टिमेन्टलाई पनि हामीले एड्रेस गर्नुपर्छ । उनीहरू गरेको कामलाई सेलिब्रेट र हौसला पनि गरिदिनुपर्छ ।

मलाई जहाँसम्म लाग्छ, नेपाली कम्पनी वा नेपाली बैंकहरूले उपभोक्तालाई प्रविधिमैत्री सेवा दिन एकदमै राम्रो र सकारात्मक प्रयास गरिरहेका छन् । नेपाली प्रविधि विश्वासयोग्य छन्, धेरै राम्रो छन् । तर, कहिलेकाहीँ चुनौतीहरू आउँछन् । एकपटक आएको चुनौतीबाट उहाँहरूले पनि सिक्नुपर्छ, त्यो समस्या दोहोरिनु भएन भन्ने कुरामा चाहिँ सचेत हुनुपर्छ । 

  • सिस्टममा प्राविधिक समस्या आउँदा पर्ने प्रभाव कम गर्न ग्राहकले के गर्न सक्छन् ? ग्राहकले मल्टिपल सोलुसनबारे सोच्नु आवश्यक छ कि छैन ?  

ग्राहकको प्रोस्पेक्टिभबाट हेर्दा जोखिम व्यवस्थापनका लागि मल्टिपल सोलुसन एउटा पाटो हुनसक्ला । तर सबैको लागि सधैँ काम नलाग्न पनि सक्छ । 

उदाहरणका लागि नेपालमा आउने सबै कनेक्टिभिटी झ्याप्पै बन्द भयो भने २० वटा नै कार्ड राखे पनि, २० वटै मोबाइल बैंकिङ प्रयोग गरे पनि चल्न सक्ने अवस्था हुँदैन । त्यसैले मल्टिपल सोलुसन खोज्दा त्यसको लिमिट कहाँसम्म छ भन्ने कुरा आउन सक्छ । 

नेपालको कुरा गर्ने हो भने, हामी त फिनटेकमा अझै पनि धेरै नै ‘डिपेन्डेन्ट’ छौँ । फिनटेकमा नेपालले म्यानपावरबाहेक सबै कुरा आयात नै गर्ने हो । नेपालले इन्टरनेट पनि उत्पादन गर्दैन । हामीले इन्टरनेट तेस्रो मुलुकसँग नै किनिरहेको हो । इन्टरनेटमा समस्या आइहाल्यो भने जति सोलुसन खोजे पनि केही हुँदैन । त्यसैले धेरैवटा सेवा प्रयोग गर्दैमा समस्या आउँदैन भन्ने होइन । 

अहिलेको अवस्थामा औसतमा एउटा व्यक्तिले दुई–तीन वटा बैंक खाता त प्रयोग गरिरहेकै हुन्छ । यद्यपि एउटा सेवा प्रदायकले अरू पनि सेवाप्रदायक छन्, उनीहरूले सेवा दिन्छन् भन्ने हिसाबले सोच्नु हुँदैन । उसले ग्राहकलाई कम्प्लिट सोलुसन दिनुपर्छ, सुविधा र सेवालाई सबैभन्दा पहिलो प्राथमिकतामा राख्नुपर्छ । प्रोडक्ट डिजाइन गर्दा कन्जुमरको इन्ट्रेस्ट, सुरक्षालाई हामीले प्रोटेक्ट गर्नु सबैभन्दा ठुलो कर्तव्य हो । त्यसलाई माइनस गरेर हामीले कुनै पनि सोलुसन ल्याउने काम गर्नु हुँदैन । 

हो, सिस्टममा समस्या हुन्छ, नहुने होइन । तर, यो सामान्य विषय होइन, प्रविधिमा समस्या आउँछ भनेर विषयलाई सामान्यीकरण गर्नु पनि हुँदैन । अस्ट्रेलिया र भारतमा सिस्टम डाउन भयो भन्दैमा हाम्रोमा पनि हुनुपर्छ भन्ने छैन । त्यो हिसाबले हामी सचेत हुनुपर्छ ।  

कतिपयले त नेपालमा रोलआउट गर्न नसक्नेले पनि विदेशमा गरिरहेको अवस्था पनि देखिएको छ । यसमा सपोर्ट पाएको अवस्थामा अझै गर्नसक्ने सम्भावना छ । 

अहिलेसम्मको इतिहास हेर्दा विद्युतीय भुक्तानीका माध्यमहरू सहज छन्, सुरक्षित छन् । हामीले वार्षिक कति अर्बको कारोबार गर्छौँ र त्यो कारोबार गर्दै गर्दाको अपटाइम र डाउनटाइम कति छ भन्ने आधारमा हेर्ने हो भने विश्वका विभिन्न मुलुकको तुलनामा डिपेन्डेन्सीका बाबजुद हाम्रो अवस्था राम्रो छ । 

  • अरू क्षेत्रमा पछि परिरहेको समयमा नेपालको फिनटेक इन्डस्ट्रिजले राम्रो प्रगति गर्नुको कारण के हो ?

हाम्रो युवापुस्ताले जुन लेभलमा आफूलाई विकास गरिरहेको छ र जुन अनुभवले खारिएका छन्, यसले नेपालमा यो क्षेत्रको विकासलाई सघाएको छ । हामीसँग इसेवा, फोनपे, एनसीएचएल, आईएमई, खल्ती जस्ता कम्पनी छन्, जसले आन्तरिक बजार मात्रै होइन । यसमध्ये कतिपयले अन्तर्राष्ट्रिय बजारमा पनि सोलुसन दिइरहेका छन् । 

यो किन सम्भव भयो भने यी सोलुसनहरू चुस्त र छिटो बिस्तार गर्न सकिने छन् ।  यसमा जति स्केलअप गर्न सक्यो, सोलुसन पनि त्यति नै राम्रो हुँदै जान्छ । त्यसैले लचिलो, भरपर्दो, चुस्त सिस्टम भएको र यसमा निरन्तर रूपमा लगानी भइरहेकोले नेपालको सिस्टम विश्वस्तरको बन्न सकेको र त्यही लेभलमा सर्भिस दिनसक्ने क्षमता बनाएको हो भन्ने मलाई लाग्छ । 

उहाँहरूले बजार देखेरै गर्नुभएको होला । कतिपयले त नेपालमा रोलआउट गर्न नसक्नेले पनि विदेशमा गरिरहेको अवस्था पनि देखिएको छ । यसमा सपोर्ट पाएको अवस्थामा अझै गर्नसक्ने सम्भावना छ । 

मैले भन्ने गरेको छु, अहिले नेपालले नयाँ सगरमाथाको निर्माण गर्दैछ । एउटा सगरमाथा हिमाल हो । यसको आधारशिविर ५३६४ मिटर हो, हाइटचाहिँ ८८४८.४८ मिटर हो । नयाँ सगरमाथाको आधारशिविरचाहिँ ५१५ मिलियन डलर बराबर हो । अहिले नेपालले आईटी सोलुसन विदेशमा बेचिरहेको छ । यो आधारमा नेपालले उचाइलाई कति पुर्‍याउने भन्ने कुरा नेपाली आईटी कम्पनी, फिनटेक कम्पनीमा भर पर्छ । अबको ५/७ वर्ष भित्रमा ८ देखि १० अर्ब डलर आम्दानी आईटी सेवाबाट हुन सक्छ भन्ने मलाई लाग्छ । 

  • फिनटेक र आईटी कम्पनीका लागि सरकारले गर्नुपर्ने नीतिगत र पूर्वाधार सुधारको विषय के–के हुन सक्ला ? 

अहिले अनुमतिपत्रप्राप्त फिनटेक कम्पनीहरू नेपाल राष्ट्र बैंकको निर्देशिकाहरू, नीति र ऐनले गाइड गरिरहेको हुन्छ । अब नेपालले गर्नुपर्ने काम कहाँनेर छ भने सार्वजनिक पूर्वाधार सुधार हो । हिजोको दिनमा हामीले सार्वजनिक पूर्वाधार भनेर बाटोघाटो बिजुलीलाई भन्थ्यौँ । आजको दिनमा डिजिटल पब्लिक इन्फास्ट्रक्चर (डीपीआई) भन्छौँ । त्यसमध्ये सबैभन्दा पहिले सेन्ट्रल केवाईसी (डिजिटल आईडी) आउनुपर्छ । 

दोस्रोमा, पेमेन्ट अन्तरआबद्धता आउनुपर्‍यो । र, तेस्रोमा डेटा एक्सचेन्ज प्लेटफर्म आउनुपर्‍यो । आजको दिनमा तपाईँ हाम्रो डेटा छरिएर बसेको छ । त्यसलाई एकीकृत गर्ने प्लेटफर्म आउनुपर्छ । यति प्लेटफर्म बनाउने पूर्वाधारमा राज्यले लगानी गर्नुपर्छ, निजी क्षेत्रलाई यसमा आबद्ध गराउनुपर्छ । 

अहिले सेन्ट्रल केवाईसीको लागि राष्ट्रिय परिचयपत्र तयार भएको छ । यसलाई एपीआईमार्फत अन्तरआबद्ध गराउनुपर्छ । बैंक वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी र फिनटेक कम्पनीले एपीआईबाट आफूलाई चाहिने सूचना प्राप्त गर्ने अवस्था हुँदा यसको आधारमा उनीहरूले अरू सेवा सुविधा सुरु गर्न सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप