मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: एसईईको नतिजामा सुधार, विद्यालय शिक्षा विधेयकमा सहमति

शनिबार, १४ असार २०८२, ०० : ००
शनिबार, १४ असार २०८२

सारांश

  • एसईईको नतिजा सार्वजनिक भयो, जसमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भए।
  • विद्यालय शिक्षा विधेयकमा सहमति जुटेको छ, जसमा निजी विद्यालय सञ्चालन र बाल विकास शिक्षाबारे निर्णय गरियो।
  • १३औँ सागका स्वर्ण पदक विजेता खेलाडीहरू देश छाडेर पलायन भएको विषयले नेपाली खेलकुदको अवस्था चिन्ताजनक देखाएको छ।

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२’ समाचार लिएर उपस्थित भएका छौँ–

१. एसईईको नतिजा 

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो । 

गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । 

२.शिक्षा विधेयकमा सहमति

विद्यालय शिक्षा विधेयकमा सहमति जुटेको छ । निजी विद्यालयको सञ्चालन तथा व्यवस्थापन, प्रारम्भिक बाल विकास शिक्षा लगायतका विषयमा विवाद देखिएको थियो । लगातार दुई दिनको छलफलपछि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिले दुवै विवादित विषयमा सहमति जुटाएको हो ।

३. १३औँ सागका स्वर्णधारीहरूले छाडे देश

 नेपालको खेलकुद इतिहासमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) एक अविस्मरणीय र स्वर्णिम बनेको छ । घरेलु भूमिमा आयोजित उक्त प्रतियोगितामा नेपाली खेलाडीहरूले कीर्तिमानी र ऐतिहासिक ५१ स्वर्ण पदक अभूतपूर्व प्रदर्शन गरेका थिए  । 

तेक्वान्दो विधामा मात्र नेपालले १२ स्वर्ण घरबाट जान दिएको थिएन । यो १२ स्वर्णमा १६ खेलाडी दिलाएका थिए । 

तर, आज त्यही स्वर्ण दिलाउनेमध्ये आधा खेलाडी नेपालमा छैनन्, उनीहरू पलायन भएका छन् । देशका लागि पसिना बगाएर स्वर्णधारीहरू नै यसरी धमाधम विदेश पलायन हुनुले नेपाली खेलकुदको दयनीय अवस्था देखाएको छ । र, यो क्रम नरोकिए खेल क्षेत्रकै बिजोग अवस्था आउन सक्ने खेल सरोकारहरू बताउने गर्छन् । 

४. महानगर विवाद

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँबिचको विवादका कारण पहिलो पटक महानगरको बजेट समयमा आउन सकेन । विवादकै कारण बालेन र गुरागाइँबिच प्रत्यक्ष भेट नभएको ६ महिना नाघिसकेको छ ।

काठमाडौँ टावरको नक्सापास विवादपछि बालेन प्रमुख प्रशासकीय अधिकृतको रूपमा  गुरागाइँलाई स्वीकार नगरेकै कारण विवाद बढेको हो ।

गुरागाइँलाई अस्वीकार गर्दै आएका बालेनले प्रमुख प्रशासकीय अधिकृतलाई नै सम्बोधन गरेर दुई दर्जनभन्दा बढी फाइल भने तोक लगाएर पठाएको खुलेको छ । यस्तै गुरागाइँले पनि त्यसैगरी मेयर बालेनलाई फाइल पठाइरहेका छन् ।

५. काठमाडौँमा सर्प बढेका हुन् कि चर्चामात्र बढी ?

पछिल्लो समय काठमाडौँ उपत्यकाका सर्प भेटिएका घटना बढ्दै गएका छन् । यस्ता घटना बढेसँगै नगर प्रहरीहरू सर्प उद्धारमा खटिरहेका छन् ।

नगर प्रहरीहरू प्रत्येक साता कहीँ न कहीँ उद्धारमा खटिरहनु परेको छ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले नगर प्रहरीलाई सर्पको उद्धार तालिम नै सञ्चालन गरेको छ ।

६. भिजिट भिसा प्रकरण

‘अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति’का पदाधिकारीलाई सरकारले औपचारिक पत्र प्रदान गरेको छ ।

असार ९ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदाश बैरागीको नेतृत्वमा ७ सदस्यीय समिति बनाएको बनाएको थियो । शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरूलाई पत्र प्रदान गरिएको हो । 

७. पीडितलाई कांग्रेस नेताको धम्की

२०८२ असार १ गते कांग्रेस मोरङका नेता तथा पूर्वप्रदेश सांसद सूर्यमाराज राईले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई लक्षित गर्दै सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे । उनले लेखेका छन्, ‘अदालतमा विचाराधीन मुद्दाको बारेमा जिल्ला प्रशासन कार्यालयले कुन अधिकार क्षेत्रको दफा र उपदफामा टेकेर छलफल गराएको हो ? अदालती कुरालाई त्यसरी इन्टरभेन्ट गर्ने कानुनी अधिकार जिल्ला प्रशासन कार्यालयले कहाँबाट, कसरी प्राप्त ग‍र्‍यो ? यो त सरासर अदालतको मानहानी भएन र ?’

८. चर्चा विद्याको

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७४ औँ वार्षिकोत्सवका अवसरमा शनिबार मदन भण्डारी फाउन्डेसनले वृहत् कार्यक्रम गर्दै छ ।

भण्डारीको ७४ औँ जन्म जयन्तीको अवसर पारेर फाउन्डेसनले राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् ।

विशिष्ट अतिथिमा भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी रहने छिन् । फाउन्डेसनका संरक्षकसमेत रहेका ओली सो कार्यक्रममा जाने नजाने निश्चित भैसकेको छैन किन भने ओली शनिबार नै  स्पेन जाने कार्यक्रम रहेको छ । फाउन्डेसनका अध्यक्ष महेन्द्र पाण्डे प्रधानमन्त्री ओली शनिबार साँझ ६ स्पेन प्रस्थान गर्ने भएकाले कार्यक्रममा सहभागी हुनसक्ने बताउँछन् ।

९. मन्त्रालयको अटेरी

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विभिन्न मन्त्रालयले आफू मातहतका निकायमा रहेका कर्मचारीको विवरण पठाउन अटेर गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत निकाय र कार्यरत कर्मचारीलाई सात दिनभित्र दरबन्दी बमोजिम व्यवस्थापन गरी त्यसको जानकारी गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको थियो ।

१०.जग्गामा कांग्रेसको लगानी

नेपाली कांग्रेसले सानेपामा रहेको पार्टी कार्यालय विस्तार गर्न १३ करोडको जग्गा किन्ने सम्झौता गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै १९ आना जग्गा पार्टी कार्यालय विस्तारका लागि खरिद गर्ने निर्णय पार्टीले गरेको जानकारी दिएका छन् ।

११. सेयर बजारमा अन्यौल

पछिल्लो साता सेयर बजार परिसूचक नेप्से सुस्त रह्यो । सातामा भएका पाँच दिनको कारोबारमा बजार ३३.१७ अङ्कले घट्यो । समग्रमा घटेको बजार पछिल्लो तीन दिनमा भने मुस्किलले पाँच अङ्कको मात्रै उतारचढाव देखियो ।

१२. मन्त्रिपरिषद्को निर्णय

सरकारले सहकारी सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको कारबाही र किनारा लगाउन कर्जा असुली न्यायाधिकरण गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कीर्तिबहादुर बस्नेतको अध्यक्षतामा ३ सदस्यीय न्यायाधिकरण गठन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप