मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

को हुन् भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रमुखमा नियुक्त पराग जैन ?

आइतबार, १५ असार २०८२, १३ : ५२
आइतबार, १५ असार २०८२

सारांश

  • भारत सरकारले पराग जैनलाई रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को नयाँ प्रमुख नियुक्त गरेको छ।
  • जैनले यसअघि एभिएसन रिसर्च सेन्टर (एआरसी) को प्रमुख र पाकिस्तान डेस्कको जिम्मेवारी सम्हालेका थिए।
  • उनले जम्मू कश्मीर, श्रीलंका र क्यानडामा काम गरेको अनुभव सँगालेका छन्, र भारतीय सुरक्षा संयन्त्रमा उनको नियुक्ति महत्त्वपूर्ण मानिएको छ।

नयाँ दिल्ली । भारत सरकारले शुक्रबार पराग जैनलाई भारतको बाह्य गुप्तचर एजेन्सी, रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को नयाँ प्रमुख नियुक्त गरेको छ । पञ्जाब क्याडरका १९८९ ब्याचका आईपीएस अधिकारी जैनले जुन ३० मा अवकाश लिँदै गरेका रवि सिन्हाबाट जिम्मेवारी सम्हाल्ने छन् ।

जैन आफ्नो पदोन्नति हुनुभन्दा पहिले रअको प्राविधिक शाखाका रूपमा रहेको एभिएसन रिसर्च सेन्टर (एआरसी) को प्रमुखका रूपमा काम गरिसकेका छन् । यस अवधिमा उनले प्रशासन र कर्मचारी व्यवस्थापन बाहेक पाकिस्तान डेस्कको जिम्मेवारी पनि सम्हालेका थिए ।

भारतीय गुप्तचरी तथा सैन्य क्षेत्रमा उनलाई शान्त र क्रूर तथा सार्वजनिक मञ्चबाट टाढा रहन रुचाउने व्यक्तिका रूपमा चिन्ने गरिन्छ । विगत एक दशकमा, जैनले जम्मू कश्मीर र पञ्जाब बाहेक श्रीलंका र क्यानडामा काम गरेको अनुभव सँगालेका छन् ।

क्यानडामा रहेका शिख समुदायका क्यानडाली नागरिक हरदिप सिंह निज्जरलाई रअले गोली हानी हत्या गर्दा उनी त्यहाँ थिए वा थिएनन् यकिन हुन सकेको छैन । तर, क्यानडामा रहेका शिख समुदायमाथी हत्या गर्ने उद्देश्यले रअले विविध अपरेसन सञ्चालन गरेपछि भारत–क्यानाडाबिचको सम्बन्ध हदैसम्म चिसिएको थियो ।

त्यति मात्र होइन रअले अमेरिकामा समेत हत्या योजना बनाएपछि अमेरिकाको फेडरल व्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले सम्भावित हत्याकाण्डमा संलग्नहरूलाई सार्वजनिक गरिदिएको थियो ।

त्यस्तै जैनले राजनीतिक रूपमा संवेदनशील मानिएको अवधिमा श्रीलङ्कामा स्टेसन प्रमुखका रूपमा काम गरेका थिए । उनले काम गरिरहेको समयमै श्रीलङ्कामा शासन परिवर्तन भएको थियो । रअका वरिष्ठ अधिकारीहरूका अनुसार जैन त्यहाँ हुनु र श्रीलङ्काको सत्ता परिवर्तन हुनुबिच केही न केही सम्बन्ध छ ।

जैन श्रीलंकामै कार्यरत रहँदा रअले तलसम्म ‘सूचना स्रोत’ विकासका लागि मसिनो गरी काम गरेको रअको उच्च स्रोतले द इन्डियन एक्सप्रेसलाई बताएको छ । श्रीलङ्कामा सन् २०२२ मा व्यापक सार्वजनिक विरोध र आर्थिक पतनपछि सेप्टेम्बर २०२४ मा निर्वाचन भयो र गोताबाया राजपक्षेले जुलाई २०२२ मा राष्ट्रपतिको पद त्याग गरे । सेप्टेम्बर २१, २०२४ मा भएको दोस्रो चरणको मतदानमा, अनुरा कुमारा दिसानायके विजयी भएर राष्ट्रपति चुनिए ।

यस्तै अगस्ट २०१९ मा धारा ३७० खारेज भएपछि जैनलाई छोटो समयका लागि जम्मू–कश्मीर डिप्लोय गरिएको थियो । भारत सरकारले जम्मु–कश्मीरसँग रहेको विशेष व्यवस्था धारा ३७० खारेज गरेपछि कश्मीरमा हुन सक्ने विरोधको सामना गर्नका लागि व्यापक सुरक्षा फौज परिचालन गरी अपरेसन चलाएको थियो ।

भारतको इतिहासमै महत्त्वपूर्ण मानिएको त्यो समयमा जैन जम्मु–कश्मीरमै थिए । जैनलाई कश्मीर डिप्लोई गर्नु र अहिले चिफमा नियुक्त गर्नुलाई भारतीय सुरक्षा सम्यन्त्रमा निकै महत्वका साथ हेरिएको छ ।

संवेदनशील भूराजनीतिक रङ्गमञ्चहरूमा उनको कार्यकालमा रअले कस्ता–कस्ता, कहाँ–कहाँ गुप्तचरी अपरेसन चलाउँछ भनी हेर्न भनी बाँकी नै छ ।

रअको परम्परालाई ध्यानमा राख्दै, जैनले आफ्नो कार्यकालभरि आफूलाई जति सकिन्छ गोप्य राख्ने प्रयास गर्नेछन् । जैनको आगमनसँगै भारतीय संस्थापन पक्षले शान्ति–सुरक्षा कायम गर्न तथा छिमेकमा भारतीय संस्थापन पक्षको दबदबा कायम गर्न मद्दत पुग्ने अपेक्षा गरेको बुझिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप