शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुननिर्माणको चिनियाँ मोडल : यहाँबाट सिक्न सक्छन् नेपालका भूकम्पपीडित र पुननिर्माण प्राधिकरणका अधिकारीले

मङ्गलबार, १२ असार २०७५, १६ : ०४
मङ्गलबार, १२ असार २०७५

सिचुवान । ८ हजार बढी सर्वसाधारणको ज्यान जाने गरी गएको भूकम्पको ३ वर्ष बितिसकेपनि नेपालमा पुननिर्माणको प्रगति सन्तोषजनक छैन ।

अझै पनि भूकम्प पीडितहरु टहरामा दैनिकी गुजार्न बाध्य छन् ।

सरकारी ढिलासुस्ती, कामदारको अभाव, आर्थिक अभाव जस्ता समस्याले अझैं पनि प्रभावितहरु टहरामै दैनिकी गुजार्न बाध्य भएका हुन् । 

तर, गत वर्ष (८ अगष्ट, २०१७) चीनको सिचुवान प्रान्तमा पर्ने जाँझा जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पबाट ध्वस्त बनेका अधिकांश घरहरु पुनर्निर्माण सम्पन्न भइसकेका छन् । 

७ म्याग्निच्यूडको भूकम्पले हजारौँ घरहरु ध्वस्त भएको स्थानीय चीनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुले जनाएका छन् । 

स्थानीय चिनियाँ कम्युनिष्ट पार्टीका समन्वय र  सरकारको सक्रियतामा अहिले प्रभावित क्षेत्रका अधिकांश घरहरु निर्माण सम्पन्न भइसकेका छन् भने  केहि निर्माणका क्रममा रहेका छन् । सबै घरहरु भूकम्प प्रतिरोधी हुनुका साथै आकर्षक समेत रहेका छन् । 

रेज जाई जुओ जाँझा काउन्टीकी कृषक हुन् । सन् २००८ को भूकम्प नराम्ररी भोगेर तङ्ग्रिदै गर्दा गत वर्ष फेरि भूकम्प आयो ।

गतवर्षको भूकम्पका कारण उनको घर पूर्ण रुपमा ध्वस्त भयो ।

 भूकम्पबाट घर भत्किएपनि कुनै मानवीय क्षति नभोगेको उनको परिवारले अहिले घर निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । 

इट्टा, सिमेन्ट र रडलगायतका कच्चा पदार्थको प्रयोगबाट बन्न लागेको उनको पक्की घर चार तल्लाको रहेको छ ।

सरकारको ४० प्रतिशत अनुदानमा बनाइन लागेको उक्त घर भूकम्प प्रतिरोधी रहेको उनले बताइन् ।

कूल लागत १ लाख ४० हजार चिनियाँ युआन रहेको उक्त घर निर्माणमा सरकारी अनुदानका साथै सहुलियत ऋणबाट बनाइन लागेको उनले जानकारी दिइन् । 

‘भूकम्पपछि मेरो घर बनाउने हैसियत थिएन । तर सरकारी अनुदान र सहुलियत ऋणको व्यवस्था गर्दा अहिले घर निर्माणको अन्तिम चरणमा पुगेको छु’, उनले भनिन् ।

भूकम्पले घर ध्वस्त बनेपछि निराश बनेकी उनी, उनको परिवार र स्थानीय सरकारको यथेष्ठ सहयोगका कारण अहिले खुसी मात्रै भएका छैनन् भूकम्पको पीडा पछि भुलेका छन् । 

स्थानीयका अनुसार सरकारले आयआर्जनका लागि कृषि कर्ममा पनि सहयोग गरिरहेको छ । 

सो क्षेत्रको अवलोकनका लागि पुगेका नेपाली पत्रकारहरुले भूकम्पपछि सरकारले स्थानीयलाई उपलब्ध गराएको सहयोगको प्रशंशा गर्दै नेपालमा पनि सरकारले पीडितको व्यवस्थापनमा उचित ध्यान दिने हो भने  पुनर्निर्माण  छिटोभन्दा छिटो सम्पन्न गर्न सकिने कुरा बताए । 

आवास पुनर्निर्माणमा मात्रै नभई चीन सरकारले विद्यालयका साथै अरु सार्वजनिक निकायको पुर्ननिर्माण तीब्र गतिमा गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप