शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पहाडको फेदीमा सुविधासम्पन्न विद्यालय, चीनले यसरी गर्दैछ विकट क्षेत्रको कायापलट

मङ्गलबार, १२ असार २०७५, १९ : ३९
मङ्गलबार, १२ असार २०७५

सिचुवान प्रान्तको राजधानी छेन्दुबाट करीब ४ घण्टाको यात्रापछि पुगिन्छ, जाङ्जा जिल्ला ।  तिब्बत नजिक पर्ने यो क्षेत्र चिनियाँ भूभागको विकट क्षेत्र मध्ये एक हो ।  तर, भौगोलिक बिकटताका बीच पनि यो क्षेत्रलाई चीन सरकारले लोभलाग्दो ढंगले पर्यटकीय क्षेत्रका रुपमा विकास गरेको छ । यही क्षेत्रमा वर्षेनी लाखौंको संख्यामा पर्यटकहरु आउने गरेका छन् भने स्थानीयले आयआर्जनको माध्यम बलियो बनाएका छन् । 

मुलत तिब्बती संस्कृति रहेको यो भूगोलमा  ऐतिहासिक सम्पदा, बौद्ध स्तुपादेखि केबलकार, हाइकिङ र विभिन्न सामाजिक–सांस्कृतिक वस्तुस्थितिको मज्जा लिन सकिन्छ । 

यसो त  सन् २००८ र गतवर्षमात्रै भएको विनाशकारी भूकम्पपछि मानिसहरु कसरी  फेरि सामान्य अवस्थामा फर्किन सफल भएका छन् भन्ने पनि जानकारी हासिल गर्न सकिन्छ । नेपाल जस्तो भूकम्पपछि तंग्रिदै गरेको देशका लागि यो एक उदाहरण पनि बन्न सक्छ । 

भूकम्पको एक वर्षमै विद्यालयको पुर्ननिर्माण
सन् २००८ मा गएको विनाशकारी भूकम्पको पीडा बिर्सन नपाउँदै जाङजा क्षेत्रमा गत वर्ष  पनि ७ रेक्टर स्केलको भूकम्प  गयो । सोहि भूकम्पका कारण स्थानीय जाङजा  प्राथमिक विद्यालय  गल्र्यामगुर्लम भएर ढल्यो ।

साँझको समयमा भूकम्प आएकाले सबै विद्यार्थी आ–आफ्नो घर फर्किसकेका कारण विद्यालय ध्वस्त हुनुबाहेक अन्य मानविय क्षति हुन पाएन । तर, गाउँभरीका विद्यार्थी पढ्ने विद्यालय ध्वस्त हुँदा करीब १४ सय विद्यार्थी अध्ययन गर्ने स्थानको अभाव हुन पुग्यो ।  

विद्यालयका प्रधानाध्यापक जु लाउ भन्छन्– ‘हामीले अहिले  पहिलेको भन्दा व्यवस्थित ढंगले विद्यालय चलाउन पुर्ननिर्माण थालिसकेका छौं ।’ उनका अनुसार अहिले विद्यालय पुनर्निर्माणको काम करीब  ४० प्रतिशत सम्पन्न भएको छ र सोहि विद्यालयमा  इच्छुक विद्यार्थीलाई आवासको व्यवस्थासहित अरु अत्याधुनिक  सुविधा प्रदान गरिनेछ ।   विद्यार्थीको चाहना र रुची अनुसारको शिक्षा प्रदान गरिने पनि उनको भनाई छ । 

अहिले  विद्यालय पुर्ननिर्माणको क्रममा रहेकाले अरु वैकल्पिक स्थानमा  लगेर विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाइएको पनि उनले बताए । 

अर्को रोचक कुरा त के छ भने विद्यालय पुर्ननिर्माण हुँदै गरेको नजिकै विशाल पहाड छ  भने पहाडको नजिकै विद्यालय निर्माणको काम चल्दैछ । पहाडको बनोट यस्तो छ कि सामान्य वर्षा हुँदा पनि  ढुंगाहरु खस्ने र पहिरो जाने खालको छ र गइरहने पनि गरेको छ ।  तर, चिनियाँ पक्षले  पहाडको फेदीमा भएपनि  सम्पूर्ण सुरक्षा र सावधानी अपनाइएको रहेछ ।  पहाडबाट पहिरो र ढुंगाहरु खसेर विद्यालयसम्म नआउन् भन्नको लागि पहाडका भित्ताहरुमा ग्याबिन जालि भरिसकिएको प्रधानाध्यापक  लाउले बताए । 

यस्तै विद्यालयको जग भएको केहि मिटर परबाट विशाल पर्खाल लगाएर पहिरोका साथै पहाडबाट खस्नसक्ने ढुंगाहरुलाई पूर्ण रुपमा रोकिने पनि उनको भनाई थियो । भौगोलिक रुपमा विकट र निकै खतरनाक भएपनि  विद्यालयमा  कुनै भय नरहने सो क्षेत्रको अवलोकन–भ्रमणका क्रममा पुगेका नेपाली पत्रकारहरुलाई उनीहरुले जानकारी गराएका थिए । 

साँघुरो सडक, चारैतिर विशाल पहाड ।  ठ्याक्कै भन्ने हो भने नेपाल पहाडी क्षेत्रको भूबनोवटसँग ठ्याक्कै मेल खानेखालको भू–बनोट यस क्षेत्रमा रहेको छ । 

यही भौगोलिक बनोवटमा चीनले स्थानीयलाई पर्यटन, कृषिलगायतका क्षेत्रमा आकर्षिक गरेर आत्मनिर्भर मात्रै बनाएको छैन   आधुनिक शिक्षादेखि अन्य आवश्यक पूर्वाधारको विकास गरेर स्थानीयको मन पनि जितेको छ । 

भूकम्प पीडितको घाउमा मह्लमपट्टी
८ हजार बढी सर्वसाधारणको ज्यान जाने गरी गएको भूकम्पको ३ वर्ष बितिसकेपनि नेपालमा पुननिर्माणको प्रगति सन्तोषजनक छैन । अझैंपनि भूकम्प पीडितहरु टहरामा  दैनिकी गुजार्न बाध्य छन् । सरकारी ढिलासुस्ती, कामदारको अभाव, आर्थिक अभाव जस्ता समस्याले अझैं पनि प्रभावितहरु टहरामै दैनिकी गुजार्न बाध्य भएका हुन् । 

तर,  गत वर्ष (८ अगष्ट, २०१७)  जाङजा जिल्लामा गएको बिनाशकारी भूकम्पबाट ध्वस्त बनेका अधिकांश घरहरु पुर्ननिर्माण सम्पन्न भइसकेका छन् । 

७ म्याग्निच्यूडको भूकम्पले हजारौं घरहरु ध्वस्त भएको  स्थानीय चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुले जनाएका छन् । 

स्थानीय चिनियाँ कम्युनिष्ट पार्टीका समन्वय र  सरकारको सक्रियतामा अहिले प्रभावित क्षेत्रका अधिकांश घरहरु निर्माण सम्पन्न भइसकेका छन् भने  केहि निर्माणका क्रममा रहेका छन् । 

सबै घरहरु भूकम्प प्रतिरोधी हुनुका साथै  आकर्षक समेत रहेका छन् । 

रेज जाई जुओ जाङजा  काउन्टिकी कृषक हुन् । सन् २००८ को भूकम्प नराम्ररी भोगेर तंग्रिदै गर्दा गत वर्ष फेरि भूकम्प आयो ।  गतवर्षको भूकम्पका कारण उनको घर पूर्ण रुपमा ध्वस्त भयो ।   भूकम्पबाट घर भत्किएपनि कुनै मानवीय क्षति नभोगेको उनको परिवारले अहिले घर निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । 

इट्टा, सिमेन्ट र रडलगायतका कच्चा पदार्थको प्रयोगबाट बन्न लागेको उनको पक्की घर चार तल्लाको रहेको छ । सरकारको ४० प्रतिशत अनुदानमा बनाइन लागेको उक्त घर भूकम्प प्रतिरोधी रहेको उनले बताइन् ।  कूल लागत १ लाख ४० हजार चिनियाँ युआन रहेको उक्त घर निर्माणमा सरकारी  अनुदानका साथै सहुलियत ऋणबाट बनाइन लागेको उनले बताइन् । 

‘भूकम्पपछि मेरो घर बनाउने हैसियत थिएन । तर सरकारी अनुदान र सहुलियत ऋणको व्यवस्था गर्दा अहिले घर निर्माणको अन्तिम चरणमा पुगेको छु’, उनले भनिन् । भूकम्पले घर ध्वस्त बनेपछि निराश बनेकी उनी, उनको परिवार र स्थानीय सरकारको यथेष्ठ सहयोगका कारण अहिले खुसी मात्रै भएका छैनन् भूकम्पको पीडा पछि भुलेका छन् । 

स्थानीयका अनुसार सरकारले आयआर्जनका लागि कृषि कर्ममा पनि सहयोग गरिरहेको छ । यो गाउँका ९३ परिवारमध्ये जुओ ८२ परिवारको घर भूकम्पले ध्वस्त हुन पुगेको थियो । जसमा ७९ परिवारले घर निर्माण काम सम्पन्न गरिसकेका छन् भने जुओ र अरु २ परिवारको पुनर्निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी गराइयो । 

पब्लिक स्कुलमा जोड
यो क्षेत्रको अर्को विशेषता के हो भने पब्लिक स्कुल । जिउजाईगोउ काउन्टीमा रहेका योङफेङ प्राइमरी स्कुल सन् २००८ को भूकम्पपछि चीन सरकारले ३८.२७ आरएमबी खर्च गरेर पुननिर्माण सम्पन्न गरिसकेको छ । 

सन् २०१० मै निर्माण सम्पन्न भएको विद्यालयमा अहिले अंग्रेजीसमेतको अध्यापनसहित विविध  व्यवहारिक सिकाई प्रदान गर्ने गरिएको सो विद्यालयका प्रधानाध्यापक लि जी पिङले जानकारी गराए । उनका अनुसार तिब्बतियन, हाङ, हुई तथा क्वाङ सम्प्रदायका बालबालिकाले पढ्ने उक्त विद्यालयमा १४सय २७ विद्यार्थी अध्ययनरत छन् । 

उनी भन्छन्, ‘हामीलाई चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले विद्यालय सञ्चालनका लागि सबै सहयोग प्रदान गरेको छ ।  विद्यार्थीलाई सबै सेवा बाहेक प्रतिदिन अतिरिक्त ४ आरएमबी समेत प्रदान गर्ने गरेका छौं । यहाँका विद्यार्थी अति नै खुसी छन् र सिकाई स्तरपनि उत्कृष्ट छ  ।’

चीनमा  नेपालमा जस्तै निजी र सरकारी गरी दुई खालका विद्यालय हुन्छन् । तर, विद्यार्थीहरु निजी स्कुलभन्दा पनि सरकारी स्कुलमै पढ्न रुचाउने उनको भनाई थियो । 

चन्द्रागिरीको झल्को दिने केबलकार
सोङपाङ काउन्टीमा रहेको छ– होङलाङ टाउनसिप सोहि क्षेत्रमा  निकै आकर्षक  हाइकिङ रुटको विकास गरिरहेको छ । नेपालको चन्द्रागिरीको जस्तै केबलकारमा यात्रा गरेजस्तैबाट सुरु हुन्छ –होङलाङ हाइकिङ  । 

चन्द्रागिरीमा केवल निजी क्षेत्रले व्यावसाय गरेको छ भने यहाँ भने चिनियाँ कम्युनिष्ट पार्टी र स्थानीय समेत सहभागितामा ८ किलोमिटरको हाइकिङ रुटको विकास गरिएको छ । हाइकिङ रुटको विकास निकै व्यवस्थित र योजनाबद्ध रुपमा बनाइएको छ भने यसबाट करोडौं आर्थिक उपार्जन हुने गरेको छ । चीनले होङलाङ हाइकिङ रुटको विकास गरेजस्तै नेपालले पनि योजना बनाउने हो भने राज्यले आर्थिक कायापलट गर्न सक्नेमा कुनै दुई मत  छैन । 

होम स्टे, स्थानीय उत्पादन र जीवनशैलीका साथै कला–संकृति र सभ्यता देखाएर चीनले  भौगोलिक  रुपमा विकट भएपनि यो क्षेत्रलाई आत्मनिर्भर बनाएको छ । यही क्षेत्रको थप विकास र विस्तारका लागि अर्बौंको लगानी पनि गरिरहेको छ । 

कृषिलाई आधुनिकीकरण
चीनले यस क्षेत्रको परम्परागत कृषिलाई आधुनिकीकरणमा जोड दिएको छ । यस क्षेत्र मध्येको एक होङलाङस्थित डावन गाउँ अहिले  चिनियाँ कम्युनिष्ट पार्टीको अगुवाईमा परम्परागत कृषिकर्मलाई आधुनिकीकरण गरिएको छ ।

यसबाट यो क्षेत्रका कृषकले  उल्लेख्य आम्दानी त गरेकै छन्  न्यून आज भएका  अन्य भूभागका समूदायलाई नाफाको निश्चित रकम प्रदान गर्ने गरिएको डावनकी चिनियाँ कम्युनिष्ट पार्टीकी  उपप्रमुखले जानकारी दिइन् । उनका अनुसार कृषि, पशुपालन र पर्यटनबाट  स्थानीयको जीवनस्तर मजबुत बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप