बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

जुम्लामा नुन अभाव छैन : साल्ट ट्रेडिङ कर्पोरेशन

शनिबार, २५ असोज २०८२, ०५ : ३२
शनिबार, २५ असोज २०८२

सारांश

  • जुम्लास्थित साल्टट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले जिल्लामा पर्याप्त नुन रहेको जनाएको छ।
  • कार्यालयका अनुसार, हाल खलङ्गा बजार, नराकोट र गुरुचौर डिपोमा नुनको कोटा तोकिएको छ।
  • दसैँको अवधिमा ५४६ क्विन्टल नुन बिक्री भएको र वडाको सिफारिसमा नुन वितरण भइरहेको छ।

जुम्ला ।  साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले जिल्लामा पर्याप्त मात्रमा नुन रहेको जनाएको छ । यहाँस्थित डिपोमा अहिले करिब छ हजार क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख नगेन्द्रबहादुर थापाले जानकारी दिए । 

 कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि सदरमुकाम खलङ्गा बजारमा रहेको डिपोमा पाँच हजार ५०० क्विन्टल, सिङ्जा गाउँपालिकाको नराकोट डिपोमा एक हजार ५०० क्विन्टल र कनकासुन्दरी गाउँपालिकाको गुरुचौर डिपोमा एक हजार ३०० क्विन्टल नुनको कोटा रहेको छ ।

उनले भने, ‘जिल्लामा नुनको अभाव रहेको छैन । जिल्लामा पर्याप्त मात्रमा नुन रहेको छ । दसैँको अवधिमा करिब ५४६ क्विन्टल नुन बिक्री भएको छ । यहाँका आठवटै स्थानीय तहका वडाको सिफारिसको आधारमा नुन वितरण हुने गरेको छ । वडाको मागबमोजिम नुन वितरण भइराखेको छ ।’

बितेका वर्षमा जिल्लामा करिब पाँच हजार ४०० क्विन्टलको हारहारीमा कोटाहुने गरेको थियो । नुन उपभोक्तालाई पुर्‍याउन केही कठिन हुने गरेकोमा यस वर्षदेखि जिल्लाका लागि नुनको कोटा वृद्धि भएसँगै यहाँका उपभोक्तालाई सहज रूपमा नुन वितरण भइरहेको कार्यालय प्रमुख थापाले बताए । 

सदरमुकाम सहित तीनै डिपोका लागि बाँकी कोटा नुनको ढुवानी भइरहेको छ । सबैभन्दा बढी चन्दनाथ नगरपालिका, गुठीचौर, पातारासी र तातोपानी गाउँपालिकाका उपभोक्ताले नुन लिने गरेको कार्यालयले जनाएको छ । जिल्लाका स्थानीय तहले वडाबाटै नुन वितरण गरेपछि यहाँका स्थानीयवासीलाई सहज भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप