मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस् : केपी ओली

शुक्रबार, १४ कात्तिक २०८२, १९ : १८
शुक्रबार, १४ कात्तिक २०८२

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्माणमा योगदान पुर्‍याएका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरे।
  • ओलीले देशको स्वाधीनता, लोकतन्त्रको रक्षा र जनताको जीवनमा सुख, समृद्धि र आशा जगाउनुपर्ने बताए।
  • उनले एमालेलाई जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवारको रूपमा चित्रण गरे।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा एमालेको निर्माण गर्न र बलियो बनाउने यात्रामा सहभागी नेता–कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् ।

ओलीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जहाँ भएपनि आफ्नै घर(नेकपा एमाले) फर्किन आह्वान गरेका हुन् । 

उनले लेखेका छन्,'विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो ।'

ओलीले सबै काँधमा–काँध मिलाएर अघि बढ्नुपर्नेमा जोड दिँदै देशको स्वाधीनता,लोकतन्त्रको रक्षा र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बाल्नुपर्ने बताए । 

उनले अगाडि भनेका छन्,'हामी एउटै परिवार हौँ,हाम्रो लक्ष्य स्पष्ट छ,समृद्ध नेपाल, सुखी नेपाली। म सबैमा आह्वान गर्न चाहन्छु । कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा । हाम्रो साझा सपना साकार पार्न ।निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं।'

महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको उनले बताए । 

लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको भन्दै यस्तो बेला मौन नरही  राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्ने अध्यक्ष ओलीले बताए । 

एमाले एउटा राजनीतिक सङ्गठन नभई जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार भएको उनले बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप