बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिममा ६ हजारभन्दा बढी नयाँ मतदाता थपिए

शुक्रबार, २१ कात्तिक २०८२, ०६ : ४८
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकिएको छ, र मतदाता नामावली दर्ता भइरहेको छ।
  • सुदूरपश्चिम प्रदेशमा ६ हजार २१२ नयाँ मतदाता थपिएका छन्, जसमा कैलालीमा सबैभन्दा बढी छन्।
  • मतदाता नामावली दर्ता गराउनेको संख्या बढेपछि कार्यालयले सेवा समय बढाएको छ।

धनगढी । जेनजी आन्दोलनपश्चात गठित सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउने क्रम जारी छ ।

सुदूरपश्चिम प्रदेशमा मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य तीव्र गतिमा अघि बढेको प्रदेश निर्वाचन कार्यालय, धनगढीले जनाएको छ । सो कार्यालयका अनुसार असोज १० देखि कात्तिक १७ सम्मको अवधिमा ६ हजार २१२ नयाँ मतदाता सूचीकृत भएका छन् । थपिएका नयाँ मतदातामध्ये ४ हजार ८३ पुरुष, २ हजार १२७ महिला र दुई जना अन्य छन् ।

जेनजी आन्दोलनपछि हुन लागेको यस निर्वाचनमा आफ्नो मताधिकार सुनिश्चित गर्न जेनजी पुस्ताका युवाहरू मतदाता नामावलीमा नाम दर्ता गराउन उत्साहित देखिएका छन् । तथ्याङ्क अनुसार सबैभन्दा बढी नयाँ मतदाता कैलाली जिल्लामा थपिएका छन् ।

कैलालीमा १ हजार १९५ पुरुष र ६५३ महिला गरी कुल १ हजार ८४८ जनाले नामावलीमा नाम दर्ता गराएका छन् । यसैगरी, कञ्चनपुरमा १ हजार ५३ पुरुष र ५४० महिलासहित १ हजार ५९३ नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

अछाममा ४१४ पुरुष र २११ महिला गरी कुल ६२५ जना नयाँ मतदाता थपिएका छन् । यस्तै बझाङमा ३६३ पुरुष र १७९ महिला गरी कुल ५४२ जनाले मतदाता नामावली दर्ता गराएका छन् । बैतडीमा २९३ पुरुष र १५५ महिला गरी कुल ४४८ जना नयाँ मतदाता थपिएका छन् । बाजुरामा २१९ पुरुष, १२२ महिला र दुई अन्यसहित कुल ३४३ जना थपिएका छन् । डोटीमा १७० पुरुष र ७५ महिला गरी कुल २४५ जना र डडेलधुरामा १२६ पुरुष र ६५ महिला गरी कुल १९१ जना थपिएका हुन् ।

मतदाता नामावली दर्ता गराउन आउनेहरूको भिड बढेपछि कार्यालयको समय बढाएर सेवा प्रवाह भइरहेको छ ।

निर्वाचन आयोगले अध्यादेशमार्फत कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने समय तोकेको छ । यो अवधिमा नागरिकता पाएर १८ वर्ष उमेर पूरा भएका तर नामावलीमा नाम नभएका नागरिकहरूले आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप