बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

डोल्पाको रिङ्गबो बस्ती विकास कार्यक्रम सुरु, २१ करोड १२ लाखको परियोजना

शनिबार, २२ कात्तिक २०८२, १५ : १२
शनिबार, २२ कात्तिक २०८२

‎‎सुर्खेत । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य फोक्सुण्डो ताल र त्यस नजिकै रहेको प्राचीन बस्ती रिङ्गबोको प्रवर्द्धन गर्न प्रदेश सरकारले 'रिङ्गबो बस्ती विकास कार्यक्रम' सुरु गरेको छ । 

‎कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शुक्रबार एक कार्यक्रमबिच यो कार्यक्रमको शुभारम्भ गरेका हुन् । 

‎यो महत्त्वाकांक्षी परियोजनाले डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा अवस्थित रिङ्गबो बस्तीलाई केन्द्र र प्रदेश सरकारको सहयोगमा विकास गर्नेछ  यस कार्यक्रमको मुख्य उद्देश्य रिङ्गबो बस्तीलाई बौद्ध कला, संस्कृति, प्राकृतिक तथा धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नु हो । 

‎कार्यक्रमअन्तर्गत, साङ्टादेखि फोक्सुण्डोसम्मको पदमार्गको स्तरोन्नति, दुनैदेखि ट्रेकिङ रुटसम्म प्रत्येक दुई किलोमिटरमा १६ वटा प्रतिक्षालय निर्माण, रिङ्गबो बस्तीको भित्री सडक विस्तार, ढल निकासको व्यवस्था, दुई वटा विद्यालयको पूर्वाधार निर्माण, दुई वटा ट्रस पुल, गुम्बामा खानेपानीको व्यवस्था, फोक्सुण्डो ताल स्पष्ट देखिने भ्यु पोइन्टसम्म पदमार्ग र प्रतिक्षालय निर्माण, रिङ्गबो बस्तीमा सङ्ग्रहालय र पार्क निर्माण, तथा बस्तीको जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण जस्ता कार्यहरू सम्पन्न गरिनेछन् । 

‎मुख्यमन्त्री कँडेलका अनुसार प्रदेश सरकारको २१ करोड १२ लाखको लगानीमा सञ्चालन हुने यो योजना २०८४ साल असारसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ । 'यसले फोक्सुण्डोको प्रवर्द्धनमा थप सहयोग पुग्नेछ,' उनले भने । 

‎यो कार्यक्रम दुई वर्षअघि केन्द्र सरकारबाट स्वीकृत भई आएको समपूरक अनुदानअन्तर्गत हो । आर्थिक वर्ष ०८०/०८१ मा प्रदेश सरकारले आफैँ निर्णय गरेर केन्द्रबाट अनुदान माग गरेको थियो । 

‎विगतमा कार्यान्वयनमा जान नसकेको यो कार्यक्रमलाई अब व्यवस्थित रूपमा अगाडि बढाइने भएको छ । शे–फोक्सुण्डो तालको किनारमा रहेको यो प्राचीन बस्तीलाई संरक्षण र विकास गरी पर्यटनको नयाँ केन्द्र बनाउने उद्देश्यका साथ यो कार्यक्रम अघि सारिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप