मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मुटुको रक्तनली बन्द भएर थुनुवाको मृत्यु

बिहीबार, २७ कात्तिक २०८२, १७ : ५८
बिहीबार, २७ कात्तिक २०८२

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा मृत्यु भएको भनिएका वीरेन्द्रनगर नगरपालिका–११, का ३६ वर्षीय गंगे विकको मृत्यु मुटुको रक्तनली बन्द भएर भएको पुष्टि भएको छ । 

पोस्टमार्टम रिपोर्टमा उनको शरीरमा कुनै पनि भित्री एवं बाहिरी चोटपटक नरहेको र मुटुको रक्तनली बन्द भई मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ । 

गत भदौ ३ गते लागुऔषध ब्राउन सुगर (५.५४ ग्राम) मुद्दामा पक्राउ परेका विक कात्तिक २१ गते बिहान ६ बजे हिरासत कक्षमै अचेत भएका थिए । लगत्तै उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार अस्पताल लैजाँदै गर्दा नै विकको परिवारलाई खबर गरिएको थियो । परिवारका सदस्यहरू समेत तत्काल अस्पताल पुगेका थिए । 

तर, केही पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रहरीको कुटपिटबाट उनको मृत्यु भएको दाबी गरे । घटनामा चासो राख्ने परिवारका सदस्य, आफन्त र जनप्रतिनिधिलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई गंगे विक सुतेको हिरासत कक्षको सीसीटीभी रेकर्ड देखाइएको थियो ।

साथै, घटनाबारे जानकारी थुनुवा तथा प्रहरी कर्मचारीहरूसँग बुझी यथार्थ जानकारी गराएको थियो ।

हिरासतमा आफन्तको मृत्यु हुँदा परिवारजनमा शङ्का रहनु स्वाभाविक भए पनि केही सामाजिक सञ्जाल र सञ्चारकर्मीहरूले यथार्थ नबुझी प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै गलत सूचना प्रवाह गरेको विषयप्रति एक विज्ञप्ति जारी गर्दै प्रहरीले निन्दा गरेको छ ।

यस विषयलाई लिएर आफन्तहरूले जिल्ला प्रहरी कार्यालय परिसरमा एक दिन आन्दोलन समेत गरेका थिए ।यस्ता भ्रमपूर्ण सूचनाहरू प्रति ध्यान नदिन र सत्य सूचनाका लागि यस कार्यालयसँग समन्वय गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले मृतक विकको शव पोस्टमार्टमपछि सोमबार बेलुका करिब पौने ४ बजे आफन्तलाई बुझाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप