मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

दुर्घटना अपडेट : सात जनाको मृत्यु

बिहीबार, ०४ मङ्सिर २०८२, १४ : ४७
बिहीबार, ०४ मङ्सिर २०८२

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

सिराहाको सुखीपुर नगरपालिका–८ क्याम्पस मोडस्थित सडकमा प्र.२–०१–००१ ह ०१२० नम्बरको अटोको ठक्करबाट स्थानीय ५५ वर्षीय दिलिप रामको बुधबार राति मृत्यु भएको छ । गम्भीर घाइते रामको प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका–८ गडारखोलामा बा.प्र.०२–०२२ प ८९५५ नम्बरको स्कुटरलाई सु.प्र.०२–००१ ख १३७१ नम्बरको बसले बिहीबार बिहान ठक्कर दिँदा स्कुटर चालक धादिङ निलकण्ठ–५ का २६ वर्षीय शिबजी अगस्तीको मृत्यु भएको छ । गम्भीर घाइते अगस्तीको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको हो । बस चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

सल्यानको छत्रेश्वरी गाउँपालिका–५ कोलचौरमा रा.१ त २४३८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चालक २५ वर्षीय देवेन्द्र सिंहको घटनास्थलमै मृत्यु भएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा से.१ च ६५१ नम्बरको बोलेरो जिप अनियन्त्रित भई बुधबार बेलुकी दुर्घटनामा परी चितवन ईच्छाकामना–५ का ३१ वर्षीय पुष्पलाल गुरुङको मृत्यु भएको छ । गम्भीर घाइते गुरुङको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जिपमा सवार अन्य एक जना घाइतेको चितवनस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको छ । चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको देवदह नगरपालिका–७ शितलनगरमा लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बसले लु.२९ प १५९१ नम्बरको मोटरसाइकल ठक्कर दिँदा पाल्पा बगनासकाली–९ का २३ वर्षीय शौरव खातीको बुधबार राति मृत्यु भएको छ । घाइते खातीको देवदह मेडिकल कलेज भलुहीमा उपचारका क्रममा मृत्यु भएको हो । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी सडकखण्डमा लु.३ त ३३२ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ६५ वर्षीय मनबहादुर गाहा घटनास्थलमै मृत भेटिएका छन् । चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीस्थित भे.२ त ५७९ नम्बरको ट्र्याक्टर दुर्घटनाले सहचालक ३० वर्षीय कर्णबहादुर विकको ज्यान गएको छ । गम्भीर घाइते विकको नगर अस्पताल दिल्लीमा उपचारका क्रममा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यी सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप