कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि, एकै वर्षमा २८ हजारभन्दा बढीले लिए श्रम स्वीकृति
सारांश
- कर्णाली प्रदेशबाट आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ५८ जना वैदेशिक रोजगारीमा गएका छन्, जुन अघिल्लो वर्षभन्दा बढी हो।
- नयाँ श्रम स्वीकृति लिनेको संख्या २० हजार ८८६ पुगेको छ, जसमा सल्यान जिल्ला अग्रस्थानमा रहेको छ।
- वैदेशिक रोजगारीमा फर्केका कामदारमध्ये धेरैले पुनः श्रम स्वीकृति लिएर गएका छन्, केही स्वरोजगारमा लागेका छन्।
सुर्खेत । कर्णालीका कैयन् नागरिकहरू मौसमी रोजगारीका लागि भारतका विभिन्न ठाउँमा जाने गर्छन् ।
गाउँमा खेती लगाउने, चाडपर्वमा फर्कने र भारतमा रोजगारी गर्ने ‘मुग्लानिया’ परम्परा कर्णालीको विगतदेखिकै हो । तर, पछिल्लो समय तेस्रो मुलुक जानेहरूको संख्यामा पनि वृद्धि हुँदै आएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशबाट नयाँ श्रम स्वीकृति लिई तथा पुनः श्रम स्वीकृति सहित वैदेशिक रोजगारीमा जानेको कुल संख्या २८ हजार ५८ पुगेको छ ।
यो संख्या आर्थिक वर्ष २०८०/८१ को तुलनामा ११.८७ प्रतिशतले बढी रहेको नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले जनाएको छ ।
प्रतिवेदनका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका लागि प्रदान गरिएको कुल श्रम स्वीकृतिमध्ये कर्णाली प्रदेशको हिस्सा ३.७८ प्रतिशत रहेको छ । यस अवधिमा नयाँ श्रम स्वीकृति लिई बिदेसिनेको संख्या २० हजार ८८६ रहेको छ, जुन त्यसअघिको वर्षको तुलनामा १६.०६ प्रतिशतले बढी हो ।
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकमध्ये अधिकांशले पुनः श्रम स्वीकृति लिएर जाने गरेको पाइएको छ भने केहीले विदेशमा सिकेको सीप स्वदेशमै प्रयोग गरी स्वरोजगारमा संलग्न भएको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लागत तथ्यांकअनुसार सल्यान जिल्लाबाट सबैभन्दा बढी ५ हजार २६१ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति सहित कुल ७ हजार ५८७ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसैगरी, सुर्खेतबाट ४ हजार ४८८ जना नयाँ र कुल ६ हजार ३८७ जना, तथा दैलेखबाट ३ हजार २२९ जना नयाँ र कुल ४ हजार २८८ जना वैदेशिक रोजगारीमा गएको देखिन्छ ।
रुकुम पश्चिमबाट नयाँ २ हजार ६७ र कुल २ हजार ८५९ जना, जाजरकोटबाट २ हजार ५४ नयाँ र कुल २ हजार ५१८ जना रहेका छन् । यस्तै, कालिकोटबाट ८४४ नयाँ र कुल १ हजार २५ र जुम्लाबाट १ हजार ४७ नयाँ र कुल १ हजार २५५ जना वैदेशिक रोजगारीमा गएका छन् ।
यसैगरी, डोल्पा, मुगु र हुम्ला जस्ता हिमाली जिल्लाहरूबाट भने अन्य जिल्लाको तुलनामा कम संख्यामा वैदेशिक रोजगारीमा गएको प्रतिवेदनले देखाएको छ । डोल्पाबाट नयाँ श्रम स्वीकृति लिई जानेको संख्या ६०९ र कुल ६८८ रहेको छ भने मुगुबाट नयाँ ६१५ र कुल ६८६ जनाले श्रम स्वीकृति लिएका छन् । हुम्लाबाट नयाँ श्रम स्वीकृति लिई जानेको संख्या ६७२ र कुल ७६५ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण