दैलेखमा प्रतिनिधि छनोटः ओली पक्षभित्रै प्रतिष्ठाको लडाइँ, बल्ल लाग्यो टुंगो
सारांश
- दैलेखमा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयनका लागि नेताहरूबीच लामो समयसम्म रस्साकस्सी चल्यो।
- प्रतिनिधि छनोटमा नेताहरूले आ-आफ्ना पक्षका व्यक्तिलाई चयन गर्न जोडबल गरेका थिए, जसले गर्दा असन्तुष्टि बढेको छ।
- क्षेत्र नम्बर १ मा रवीन्द्रराज शर्माको दबदबा रह्यो भने क्षेत्र नम्बर २ मा लक्ष्मी पोखरेल हावी भएको बताइएको छ।
सुर्खेत । नेताहरूको बाहुल्यता रहेको दैलेखमा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि बन्न संस्थापन (ओली) पक्षभित्रै लामो रस्साकस्सी चलेको छ । कार्यतालिका अनुसार शनिबार नै प्रतिनिधि छनोट गरिसक्नुपर्ने थियो । तर, नेताहरूबिच प्रतिष्ठाको लडाइँले सोमबार मात्रै सकसपूर्ण निकास निस्किएको नेताहरू बताउँछन् ।
दुई निर्वाचन क्षेत्र रहेको दैलेखको क्षेत्र नम्बर १ मा प्रदेश उपसचिव तथा जिल्ला पूर्वअध्यक्ष रवीन्द्रराज शर्माको दबदबा रह्यो भने क्षेत्र नम्बर २ मा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य लक्ष्मी पोखरेल हाबी भएका बताइएको छ ।
दुई दिन लगाएर सर्वसम्मत प्रतिनिधि छनोट गरिए पनि आन्तरिक रूपमा नेता–कार्यकर्तामा ठुलो असन्तुष्टि रहेको एक नेताले रातोपाटीलाई बताए ।
‘सर्वसम्मत त बाहिर देखाउने दाँत भयो, केन्द्रको निर्देशन अनुसार पनि नेताहरूले गर्नुपर्ने बाध्यता थियो,’ एक जिल्ला तहका नेताले भने, ‘भित्र व्यापक असन्तुष्टि छ । यसको रिजल्ट आउने चुनावमा देखिने सम्भावना बढी छ ।’
क्षेत्र नम्बर १ मा चयन भएका अधिकांश प्रतिनिधि रवीन्द्रराज शर्मा पक्षधर छन् । प्रमुख निर्वाचन अधिकृत घनश्याम रेग्मीका अनुसार क्षेत्र नम्बर १ बाट ८ जना प्रतिनिधि चयन भएका छन् । जसमा खुलातर्फ स्वयं प्रदेश उपसचिव शर्मा, जिल्ला समन्वय समितिका पूर्वप्रमुख प्रेमबहादुर थापा, नैनसिंह खत्री र हिमालयजंग शाह चयन भएका छन् । यस्तै महिलातर्फ तप्ता थापा, खगिसरा विसी र लक्ष्मी कार्की तथा युवातर्फ जनकप्रसाद न्यौपाने चयन भएका छन् ।
त्यहाँका सबैजसो प्रतिनिधि शर्मानिकट रहेका स्रोतको दाबी छ । शर्माले छनोटमा एकलौटी गरेका असन्तुष्ट नेता–कार्यकर्ताको आरोप छ । ‘प्रक्रियामा जाने क्रममा जसलाई उनले चाहेका थिए, ती व्यक्तिहरूले मात्रै उम्मेदवारी दर्ता गर्न पाए,’ एक नेताले भने ।
आकांक्षी रहेका नारायण नगरपालिकाका मेयर लोमन शर्मा, पूर्वमेयर रत्न खड्का, मीनबहादुर बुढालगायत पाका नेताहरू छुटेका छन् । गुराँस गाउँपालिकाका अध्यक्षसमेत रहेका पुराना नेता टोपबहादुर विसीलाई पन्छाएर शर्माले भूगोलमै नबसेका नैनसिंह खत्रीलाई च्यापेको आरोप लागेको छ । सुर्खेतमा निजी विद्यालय सञ्चालन गर्दै आएका खत्रीको पार्टीमा खासै योगदान नरहे पनि शर्माले जिल्लामा दुःख गरेका नेताहरूलाई पाखा लगाउँदै उनलाई प्रतिनिधि बनाएको अर्का एक नेताले बताए ।
यस्तै युवा संघका केन्द्रीय पूर्वसचिव तथा दैलेखका युवा नेता चन्द्र दाहाललाई पनि शर्माले ओझेलमा पार्दै आएको गुनासो छ ।
क्षेत्र नम्बर १ भन्दा २ को प्रतिनिधि छनोटको राजनीति अझ पेचिलो बन्यो । यहाँ केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लक्ष्मी पोखरेल, केन्द्रीय सदस्य विष्णु रिजाल, पार्टीका प्रदेश पूर्वअध्यक्ष तथा कर्णालीका कृषिमन्त्री विनोदकुमार शाह, राजबहादुर बुढाबिच आ–आफ्ना निकटलाई प्रतिनिधि छान्न तँछाडमछाड नै चल्यो ।
यो क्षेत्रमा ८ जना प्रतिनिधि छनोटका लागि ५९ जना नेता–कार्यकर्ताले दाबी गरेका थिए । दुई दिनको रस्साकस्सीपछि खुलातर्फ पार्टीका जिल्ला अध्यक्ष सूर्यबहादुर शाही, युवा नेता रुद्रबहादुर शाही, धीरबहादुर शाही र तिलकप्रसाद रिजाल चयन भएका छन् । महिलातर्फ विष्णु थापा, कल्पनाकुमारी थापा र नन्दाकुमारी आचार्य तथा युवातर्फ सुशीलकुमार थापा चयन भएका छन् ।
खुलातर्फ खासै विवाद भएन ।
केन्द्रमा सबै केपी ओली पक्षधर भए पनि यहाँ विशेषगरी महिला र युवातर्फ ठुलो विवाद भयो । महिलामा लक्ष्मी शाह प्रतिनिधि बन्न चाहन्थिन् । उनी एमाले कर्णाली प्रदेशका पूर्व अध्यक्ष तथा कृषिमन्त्री विनोदकुमार शाहकी पत्नी हुन् । मन्त्री शाह, केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर २ का इन्चार्ज राजबहादुर बुढालगायत नेताहरू लक्ष्मीलाई प्रतिनिधि बनाउने लबिङमा थिए । तर, जिल्ला इन्चार्ज पोखरेलले कल्पना थापालाई च्यापे । साथै, उनले आफ्नै गृह नगर दुल्लुकी विष्णु थापालाई समेत प्रतिनिधि बनाएरै छाडे ।
युवा प्रतिनिधि छनोटमा पनि पोखरेल नै हाबी भए । एक दर्जन बढी दाबेदारमध्ये अन्तिममा सुशील थापा, कुमारविक्रम शाही र वीरबहादुर रावतको विषयमा नेताहरूबिच निकै रस्साकस्सी चल्यो । कुमारविक्रम शाहीलाई विनोद शाहले प्रतिनिधि बनाउन चाहेका थिए भने वीरबहादुर रावतलाई जिल्ला अध्यक्ष सूर्यबहादुर शाही र विष्णु रिजालले अघि सारेका थिए । तर, जिल्ला इन्चार्ज लक्ष्मी पोखरेलले मानेनन् । उनले आफ्नै क्षेत्रका सुशील थापालाई काखी च्यापे ।
यसरी शीर्ष नेताहरूकै प्रतिष्ठाको लडाइँले गर्दा प्रतिनिधि छनोटमा समय लागेको एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटककाे आर्कषण केन्द्र बन्दै ऐना पहरा
-
तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै
-
‘चमेलीको पोइ’ १६ असोजमा
-
प्रधानमन्त्रीले माफी माग्नुपर्छ वा संसद्ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली
-
५० अर्ब १ करोडको विद्युत् बक्यौता, कुन उद्योग र स्थानीय तहले कति तिर्न बाँकी ? (सूचीसहित)
-
नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण