मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

डिजिटल पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा एआई तालिम

मङ्गलबार, १६ मङ्सिर २०८२, १० : ०२
मङ्गलबार, १६ मङ्सिर २०८२

सारांश

  • काठमाडौंमा डिजिटल प्रविधिको प्रयोग गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तालिम सुरु भएको छ।
  • टान, पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा सञ्चालित तालिममा ट्रेकिङ व्यवसायीहरूलाई एआईबारे प्रशिक्षण दिइनेछ।
  • प्रशिक्षकहरूका अनुसार एआईको प्रयोगले ट्रेकिङ र पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्नेछ।

काठमाडौँ । नेपालमा डिजिटल प्रविधिको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘डिजिटल टुरिजम प्रमोसन एण्ड एआई ट्रेनिङ फर ट्रेकिङ एजेन्सी अपरेटर’ शीर्षकको चारदिने तालिम सुरु भएको छ ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सस्टेनेबल टुरिजम प्रोजेक्टको सहकार्यमा सञ्चालित यो तालिम काठमाडौँको एक होटलमा सुरु भएको हो । 

तालिममा सहभागी ३० जना ट्रेकिङ व्यवसायी तथा अफिस प्रोटोकल हेर्ने कर्मचारीहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत अनलाइन पर्यटन प्रवर्द्धन, डिजिटल मार्केटिङ, सामग्री सिर्जना, अनलाइन क्याम्पेन सञ्चालन, डिजिटल ब्रान्डिङ, यात्रा सूचनाको व्यवस्थापन र ग्राहक सेवा स्वचालनजस्ता विषयमा व्यावहारिक अभ्यास गराइने टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंले जानकारी दिए । 

विश्व पर्यटन बजारमा कडा प्रतिस्पर्धा भइरहेको अवस्थामा एआईको प्रयोगले नेपालको ट्रेकिङ तथा पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रशिक्षक सुमन बरालले बताए ।  

प्रशिक्षार्थीहरूकाअनुसार यो तालिमले दैनिक कामलाई निकै सहज बनाउने र पुरानो शैलीको प्रचारप्रसारभन्दा एआईको प्रयोगले धेरै छिटो र प्रभावकारी नतिजा दिने विश्वास व्यक्त गरेका छन् । 

प्रशिक्षार्थी सलोना ढुङ्गानाले एआईको प्रयोगले आगामी दिनमा धेरै सजिलो हुने बताए । उनले आफूले गर्ने काम र एआईको प्रयोगले गर्ने कामको गतिमा आकाश जमिनको फरक रहेको बताए । 

आफूले दैनिक रूपमा प्रयोग गर्दै आएका कृत्रिम बुद्धिमत्ता (एआई) भन्दा बाहेकका अन्य कृत्रिम बुद्धिमत्ताका बारेमा सिक्न पाएको प्रशिक्षार्थी ऋषिप्रसाद नेपालले बताए । उनले आजका डिजिटल मार्केटिङका लागि प्रवर्द्धन कसरी गर्ने, कृत्रिम बुद्धिमत्ताको प्रयोग गरेर आफ्नो कम्पनीको प्रचार कसरी गर्ने भन्ने विषयको ज्ञान लिएको बताउनु भयो । यस कार्यक्रममा ग्राहकहरूका इमेललाई अटोमेसनको माध्यमबाट जवाफ फर्काउने विषय सिक्न पाएको उनले बताए । 

नयाँ जमानामा पुरानो तरिकाले कम्पनीको प्रचारप्रसार गर्दा प्रभावकारी नहुने भएकाले आफू यस कार्यक्रममा आएको अर्की प्रशिक्षार्थी रितिका धमलाले बताइन् । उनले आधुनिक युगमा एआईको प्रयोग गरेर नेपालको पर्यटन क्षेत्रको प्रचार गरेको अवस्थामा देशमा पर्यटकहरुको आमन बढाउन सकिने उनले बताए ।  

आयोजककाअनुसार तालिमबाट सहभागीहरूले आन्तरिक कार्यव्यवस्था सुधार्ने, ट्रेकिङ प्याकेजहरूलाई अन्तर्राष्ट्रिय बजारमा आकर्षक ढंगले प्रस्तुत गर्ने र एआईको सहयोगमा प्रतिस्पर्धी क्षमता वृद्धि गर्न सक्नेछन् भन्ने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप