बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
रहनसहन

अपि होमस्टेका मुखमै झुन्डिने ‘रोटा–माडा’

बुधबार, १७ मङ्सिर २०८२, ०९ : ३१
बुधबार, १७ मङ्सिर २०८२

सारांश

  • दार्चुलाको अपिहिमाल गाउँपालिकामा होमस्टे संस्कृति मौलाएको छ, जहाँ पर्यटकहरूलाई स्थानीय खाना र आतिथ्यता प्रदान गरिन्छ।
  • विदेशी पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाले होमस्टे सञ्चालन गरी आर्थिक उपार्जन गरिरहेका छन्, जसले महिला सशक्तिकरणमा पनि सहयोग पुगेको छ।
  • पर्यटनको सम्भावना भए पनि पदमार्गको समस्याका कारण होमस्टेहरू ओझेलमा पर्ने चिन्ता स्थानीयमा छ।

धनगढी । ‘गाडी छैन, मोटर छैन, अपि बेस क्याम्प जानु, होमस्टेमा बास बस्नु, अर्ग्यानिक छ खानु ।’

दार्चुलाको अपिहिमाल गाउँपालिका–४, नौपाटा गाउँकी होमस्टे सञ्चालक राइमती ठेकरे आफ्नै सुदूरपश्चिमको मौलिक देउडा गीतको लयमा पाहुनालाई यसरी निम्तो दिन्छिन् ।

उकालो–ओरालो गर्दै जिन्दगी कटाइरहेका यहाँका महिलाको यही किसिमको आत्मीयताले जो कोहीको मन लोभ्याउँछ । विगत तीन वर्ष यता घरको चुलोचौकोमा मात्र सीमित नभएर राइमती अहिले होमस्टे सञ्चालनमा व्यस्त छिन् । होमस्टे सञ्चालक समितिकी सदस्यसमेत रहेकी उनी गाउँमा आएका पाहुनालाई जुनसुकै बेलामा पनि स्वागत र सत्कार गर्न एकदमै उत्साहित भएर लाग्छिन् ।

करिब २०/३० वर्ष अगाडि दार्चुलाको यो दुर्गम अपि हिमाल क्षेत्रमा विदेशी पर्यटक देख्दा स्थानीयहरू अचम्म मान्थे । उनीहरू विदेशीसँग बोल्नै डराउँथे । भाषा नबुझिने डर त छँदै थियो, नयाँ मान्छेप्रति उनीहरू संकोच मान्थे । चेतनाको अभाव र बाहिरी दुनियाँसँगको कम सम्पर्कले गर्दा विदेशीहरू गाउँ पस्दा स्थानीयहरू लजाएर वा डराएर घरभित्र लुक्थे वा भाग्थे ।

त्यतिबेला अपिसम्म पुग्ने विदेशीहरू गाउँका घरमा बस्दैनथे । उनीहरू आफ्नै बन्दोबस्तीका सामान, टेन्ट र खानेकुरा बोकेर आउँथे । त्यहाँका स्थानीय बासिन्दाको भूमिकाचाहिँ ती विदेशी पर्यटकको भारी बोक्ने ‘भरिया’मै सीमित हुन्थ्यो । पर्यटकको भारी बोक्नु र उनीहरूले दिएको ज्याला लिनुको अर्थमा मात्र त्यहाँका स्थानीयले पर्यटन क्षेत्रलाई बुझ्ने गरेका थिए । समयसँगै त्यहाँको अवस्था पनि फेरियो ।

अहिले अपिका गाउँका आँगनहरूमा पर्यटकको स्वागतका लागि सधैँ ढोका खुला हुन्छन् । हिजो ३०० रुपैयाँ ज्यालामा भारी बोक्ने स्थानीयहरू आज आफ्नै घरलाई ‘होमस्टे’ (घरबास) बनाएर पर्यटकलाई अर्ग्यानिक स्वाद चखाउने घर मालिक र उद्यमी बनेका छन् । कोही बन्नेक्रममा रहेका छन् । अपि हिमाल गाउँपालिका अहिले पर्यटकीय गन्तव्यसँगै मौलिक आतिथ्यताको नमुना केन्द्रको रूपमा चिरपरिचित बन्दै गएको छ ।

1-1 (2)

अपि हिमाल गाउँपालिका–४ का स्थानीय खडक ठेकरे आफ्नो विगत सम्झँदा अहिले पनि भावुक बन्छन् । उनी १५ वर्षका हुँदाको त्यो समय सम्झन्छन्, जुन बेला पनि अपिसम्म घुम्न विदेशीहरू आउँथे ।

‘म त्यतिबेला १५ वर्षको थिएँ । हामी उनीहरूको भारी बोक्थ्यौँ । दिनको जम्मा तीन सय रुपैयाँ पाउँथ्यौँ । गाउँलेहरू विदेशी देख्दा डराउँथे, भाग्थे । उनीहरूसँग कोही पनि खासै बोल्दैन थिए । अच्चम मान्ने, लाज मान्ने हुन्थ्यो,’ ठेकरेले भने ।

त्यसपछि बिचमा देशमा चलेको सशस्त्र द्वन्द्वको समयमा पर्यटक आउने क्रम ठप्पजस्तै भयो । लामो समयसम्म अपिको पदमार्ग सुनसान बन्यो । अशान्ति र असुरक्षाको डरले न त पर्यटक आए, न त स्थानीयले पर्यटनको सपना देखे । लामो उतारचढावपछि शान्ति सम्झौता र देशमा संविधान बनेपछि अपिको पदमार्गमा फेरि पर्यटकहरूको चहलपहल बढ्न थाल्यो ।

विगत सात–आठ वर्ष यता स्वदेशी तथा विदेशी पर्यटकको आगमन विगतभन्दा अहिले बाक्लिएको छ । पछिल्लो दुई वर्ष यता त अपि बेस क्याम्प जानेको संख्या उल्लेखनीय देखिन्छ । पर्यटकको बाक्लो उपस्थितिले नै यहाँको जनजीवनमा होमस्टे संस्कृतिको विकास गराएको हो ।

2-1 (3)

पर्यटकको चहलपहल बढेसँगै अहिले अपिका गाउँ–गाउँमा होमस्टे संस्कृति मौलाउँदै गएको छ। अपि हिमाल गाउँपालिकाको वडा नम्बर ४ स्थित नौपाटा गाउँ होमस्टेका लागि मुख्य ठाउँ हो । यहाँ हाल १२ वटा होमस्टे सञ्चालनमा छन् भने यसलाई बढाएर १५ वटा पुर्‍याउने लक्ष्य राखिएको छ । यस्तै वडा नम्बर १ को सिती गाउँमा पनि दिवेन्द्र होमस्टे, कृष होमस्टे र अर्चना होमस्टे गरी तीन वटा व्यवस्थित होमस्टे चलिरहेका छन् । सिती गाउँ बाटोमा पर्ने हुँदा यी होमस्टेमा प्रायः पाहुनाको उपस्थिति भइरहन्छ ।

यस्तै, वडा नम्बर २ को घुसा गाउँमा २ वटा र वडा नम्बर ३ को क्षेत्ती तथा वडा नम्बर ४ को खाती गाउँमा पनि होमस्टे सञ्चालनमा आएका छन् । यी होमस्टेको स्थापना र सञ्चालनमा अपि नाम्पा संरक्षण क्षेत्र र अपि हिमाल गाउँपालिकाले ठुलो भूमिका खेलेका छन् । सानो सहयोगबाट सुरु भएको यो अभियान आज सिङ्गो गाउँको मुहार फेर्ने माध्यम बनेको छ ।

‘सुरुमा अपि नाम्पा संरक्षण क्षेत्रले एउटा कम्मल, सिरानी र तन्ना दिएर सहयोग गर्‍यो । त्यही सानो सहयोगबाट सुरु भएको होमस्टे अभियान अहिले गाउँको आयस्रोत बनेको छ,’ खडक ठेकरेले भने ।

अपिका होमस्टेहरूको मुख्य विशेषता भनेकै यहाँको अर्ग्यानिक खानपान हो । यहाँ आउने पाहुनाले बजारको विषादीयुक्त वा ‘जंक फुड’ खानुपर्दैन । यहाँको भान्सामा पाक्ने हरेक परिकार खेतबारीबाट सिधै आउँछ । अपि हिमाल गाउँपालिका–४ नौपाटामा तीन वर्षदेखि होमस्टे चलाउँदै आएकी छन् रुकुमा ठेकरे । उनका अनुसार होमस्टेमा पाहुनालाई आफ्नै खेतबारीमा फलेको फापर, कोदो र मकैको रोटी खुवाइन्छ । दही, दुध, घिउको स्वाद त त्यहाँको विशेषता नै हो ।

अपिको होमस्टेमा पुग्ने जो कोहीले पनि यहाँको ‘रोटा’ र ‘माडा’ को तारिफ नगरी फर्किंदैनन् । यो बनाउने तरिका पनि आफैँमा मौलिक र रोचक छ । सहरका ग्यास चुलोमा पकाएको भन्दा यहाँको दाउराको आगोमा फलामको तवामा पकाएको रोटीको स्वाद बेग्लै हुन्छ ।

3-1 (5)

स्थानीय राइमति ठेकरेका अनुसार, कोदो र फापरको माडा बनाउन पहिले कोदोलाई जाँतोमा पिधेर पिठो बनाइन्छ । उक्त पिठोलाई पानीमा मुछेर लेदो बनाइन्छ । त्यसपछि तातेको फलामको तावामा थोरै घिउ लगाएर त्यो लेदोलाई हातैले फैलाएर पातलो रोटी बनाइन्छ । आगोको मध्यम रापमा पाकेको यो ‘माडा’ एकदमै नरम र स्वादिलो हुन्छ । यसलाई स्थानीय गाई–भैंसीको शुद्ध घिउसँग चोपेर खाँदाको मज्जा नै अर्को हुन्छ ।

त्यस्तै, मकैको रोटा बनाउन मकैको पिठोलाई तातो पानीले मुछिन्छ । बाक्लो डल्लो बनाएर हातैले थिचेर रोटीको आकार दिइन्छ । यसलाई आगोमा बिस्तारै पकाइन्छ, जसले गर्दा भित्रसम्म राम्ररी पाक्छ । सहरका ‘पिठो’ (प्याकेटका पिठो) भन्दा यहाँको ओखल–जाँतोमा कुटेको पिठोकोको स्वाद नै फरक हुन्छ । यही अर्ग्यानिक स्वाद र स्थानीय आमा, दिदी–बहिनीहरूको  आत्यमीयता मिसिएपछि सामान्य खाना पनि जिब्रोमा झुन्डिने स्वादको बन्ने गरेको पर्यटकहरूको भनाइ छ ।

स्थानीय राइमति ठेकरेले भनिन्, ‘हाम्रो गाउँमा गाडी छैन, मोटर छैन, तर जो अपि बेस क्याम्प जानुहुन्छ, उहाँहरूले यहाँको अर्ग्यानिक खाना र आतिथ्यता कहिल्यै बिर्सनुहुन्न । मकैका रोटा, कोदोको माडा र लगर घिउको स्वादले पर्यटकलाई लोभ्याउने गरेको छ ।’

5-1 (4)

पर्यटकलाई आर्थिक भार नपर्ने गरी गाउँलेहरूले होमस्टेमा आउने पाहुनाका लागि विशेष ‘प्याकेज’ नै बनाएका छन् । एक जना पाहुनाबाट बस्ने र खाने गरी एक रातको जम्मा ५ सय रुपैयाँ लिने गरिएको छ । यो सस्तो र सुलभ दरले गर्दा पर्यटकहरू पनि खुसी हुन्छन् भने स्थानीयले दुई पैसा आम्दानी पनि गरिरहेका छन् । न त पर्यटकलाई महँगो पर्ने, न त स्थानीयलाई घाटा लाग्ने– यो मोडेलले यहाँको पर्यटनलाई दिगो बनाउन मद्दत गरेको छ ।

यहाँको होमस्टेमा पुग्दा पर्यटकले बास र गाँसमात्र पाउँदैनन्, उनीहरूले सुदूरपश्चिमको मौलिक संस्कृतिसँग साक्षात्कार गर्ने मौका पनि पाउँछन् । स्थानीय महिलाहरू आफ्नो परम्परागत भेषभूषामा सजिएर पाहुनाको स्वागत गर्छन् । नौपाटाकी रोशनी ठेकरेका अनुसार यहाँ आउने पर्यटकलाई ‘पाहुना’ नभई ‘भगवान’ सरह मानेर स्वागत गर्ने चलन छ ।

‘हामी हाम्रो कल्चरलाई प्रमोट गर्न आफ्नै पोसाक लगाउँछौँ । टाउकोमा खुचेली, झुमझुमी, घाँटीमा पोते र तिलहरी, अनि शरीरमा भाङ्गोबाट हातले बुनेको बोदलो (गादो), धडो र चोली लगाउँछौँ,’ उनले भनिन् ।

गाउँमा पर्यटक पुग्नासाथ अबिर र फूलमालाले स्वागत गर्ने चलन छ । दिनभरिको थकान मेट्न बेलुकी देउडा गीत, मागल र फाग गाएर रमाइलो गरिन्छ । चिटिक्क परेका घरहरू, रातो माटो र गाईको गोबरले लिपपोत गरिएको आँगन अनि सफा गाउँले पर्यटकको मन जित्ने गरेको छ । यहाँको सरसफाई देखेर धेरै पर्यटक छक्क पर्ने गरेका छन् ।

अपिहिमाल गाउँपालिकाकी उपाध्यक्ष देवकी बोहराका अनुसार होमस्टेले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर मात्र बनाएको छैन, उनीहरूलाई बोल्न र नेतृत्व गर्न सक्ने पनि बनाएको छ । ‘पहिला पराई मान्छे देख्दा लजाउने दिदीबहिनीहरू अहिले पाहुनालाई आफ्ना कुरा खुलेर राख्न सक्ने भएका छन् । यो नै हाम्रो ठुलो उपलब्धि मानिएको छ,’ उनले भनिन् ।

गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरेका अनुसार गाउँपालिकाले होमस्टे प्रवर्द्धनका लागि विभिन्न संघसंस्थासँग मिलेर तालिम र आवश्यक सामग्री सहयोग गरिरहेको छ । ‘हामी अपि हिमाललाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन चाहन्छौँ, जहाँ प्रकृति र संस्कृति दुवैको मज्जा लिन सकियोस्,’ उनले भने ।

यद्यपि, पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि केही चुनौती कायमै छन् । विशेषगरी पदमार्गको विषयलाई लिएर नौपाटा होमस्टेका स्थानीयहरू चिन्तित छन् । मकरी गाडबाट अपि बेस क्याम्प जाने दुई वटा बाटो छन् । तल्लो बाटो अलि छोटो र सहज मानिन्छ, जसका कारण धेरैजसो पर्यटक र ट्रेकिङ गाइडहरूले पर्यटकलाई सिधै तल्लो बाटो हुँदै बेस क्याम्प लैजाने गर्छन् । यसले गर्दा नौपाटा जस्ता व्यवस्थित होमस्टे भएका र मौलिक संस्कृति बोकेका गाउँहरू ओझेलमा पर्ने गरेका छन् ।

4-1 (1)

‘मकरी गाडबाट करिब ३ हजार सिँढी चढेर माथि आउनुपर्छ नौपाटा पुग्न । ‘अलि गाह्रो त छ, त्यही भएर यहाँ गाउँसम्म कम आउँछन्,’ स्थानीय धना ठेकरेले भनिन्, ‘घुम्नेहरूले पनि फटाफट माथि नगएर यहाँसम्म आएको खण्डमा यहाँको जीवनशैली, कला, संस्कार, संस्कृति, मौलिक खाना, मौलिक गीत लगायत धेरै कुरा बुझ्ने मौका पाउँथे ।’

कतिपय ट्रेकिङ गर्नेले छोटो बाटो रोज्दा उनीहरूले यहाँको वास्तविक संस्कृति र होमस्टेको अनुभव लिनबाट बञ्चित हुनुपरेको स्थानीयको गुनासो छ । कतिपय स्थानीयले यति लामो यो पदमार्ग बनाउनुको साटो त्यो पैसाले नौपाटासम्म सडक बनाएको भए यी गाउँका होमस्टेमा पर्यटकहरूको उपस्थिति बाक्लो हुने टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप