रुकुम पश्चिममा जीप दुर्घटना हुँदा १२ जना घाइते
सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ बाँकेज्यूलामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । शुक्रबार दिउँसो सदरमुकाम मुसिकोट खलंगादेखि आठबिसकोटको राडितर्फ जाँदै गरेको लु १ ज २०८२ नम्बरको जीप भेरी करिडोर सडकखण्डमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार जीपको ब्रेक फेल भई सडकबाट करिब १५ मिटर तल खसेको थियो । दुर्घटनामा परी घाइते हुनेहरूमा आठबिसकोट नगरपालिका–१ का ५१ वर्षीय हरिजंग मल्ल, वडा नम्बर १३ का ३४ वर्षीय प्रकाशजंग मल्ल, सोही ठाउँका १४ वर्षीय जितु मल्ल र २८ वर्षीय डिल बहादुर विक छन् ।
यस्तै, आठबिसकोट–८ का ३२ वर्षीय विष्णु केसी र १९ वर्षीया विमला केसी, वडा नम्बर ५ का ३२ वर्षीय अभिषेक केसी, वडा नम्बर १२ की १७ वर्षीया रीता परियार र वडा नम्बर १४ का ४८ वर्षीय भरतजंग मल्ल पनि घाइते भएका छन् ।
रुकुम पूर्वको भुमे गाउँपालिका–५ का २२ वर्षीय विजय विक, रुकुम पश्चिमकै बाफीकोट गाउँपालिका–८ का २६ वर्षीय जनक चन्द र सानीभेरीका ३३ वर्षीया बसन्ता शाह रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण