मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बैतडी कांग्रेसमा प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवार सिफारिसमा विवाद

आइतबार, २१ मङ्सिर २०८२, ११ : ३३
आइतबार, २१ मङ्सिर २०८२

सारांश

  • बैतडीमा नेपाली कांग्रेसको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिसमा विवाद उत्पन्न भएको छ।
  • पार्टी सभापति चतुरबहादुर चन्दले एकलौटी गरेको आरोप लगाउँदै पूर्व सभापति नरबहादुर चन्दसहित ५ जनाले असहमति जनाएका छन्।
  • जिल्ला सभापतिले निर्वाचन प्रक्रियामा बहुमतबाट उम्मेदवार चयन गरेको र असन्तुष्ट पक्षले प्रक्रिया मिचेको आरोप लगाएका छन्।

काठमाडौँ । नेपाली कांग्रेस बैतडीमा फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार सिफारिसमा विवाद देखिएको छ । 

पार्टीका जिल्ला सभापति चतुरबहादुर चन्दले एकलौटी गरेको भन्दै पार्टीका पूर्वजिल्ला सभापति नरबहादुर चन्दसहित ५ उम्मेदवारका आकांक्षीले असहमति जनाएर विज्ञप्ति निकालेका छन् ।

जिल्ला सभापति चन्दले शनिवार पार्टीको जिल्ला कार्यसमिति बैठक राखेर उम्मेदवार छनोट प्रक्रिया सुरु गरेका थिए । त्यो छनोट प्रक्रियामा सहमति जुटाउने क्रममा दाबेदारहरूबिच छलफल चलिरहेको बेलामा पार्टीमा चल्दै आएको परम्परा तोड्दै सभापति चन्दले एकपक्षीय निर्वाचन गरेको आरोप असन्तुष्टहरूले लगाएका छन् ।  

‘आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको निर्देशानुसार उम्मेदवारको नामावली सिफारिस गर्नका लागि बसेको वृहत् बैठकमा छलफलकै क्रममा दाबेदारहरू बिचमा सहमति जुटाउने प्रयास चलिरहेकै समयमा हठात् रूपले पार्टी सभापति पक्षले नेपाली कांग्रेसको इतिहासमा चलिआएको परम्परालाई तोड्दै निर्वाचनको प्रपञ्च गरेको प्रति हाम्रो गम्भीर असहमति रहेको छ,’ उनीहरूको विज्ञप्तिमा लेखेका छन् ।

असहमति जनाएर विज्ञप्ति निकाल्नेमा ०७० को दोस्रो संविधानसभा निर्वाचनमा बैतडीबाट प्रत्यक्ष निर्वाचन जितेर उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीसमेत बनेका नरबहादुर चन्द, महासमिति सदस्य उत्तरबहादुर ऐर, जिल्ला उपसभापति वीरबहादुर विष्ट, पार्टीका सुदूरपश्चिम प्रदेश समिति सदस्य तेजबहादुर बस्नेत र शिक्षक संघका पूर्वकेन्द्रीय सदस्य नन्दराज भट्ट छन् । असहमति जनाउनेहरूले सहमतिको प्रक्रियामै उम्मेदवारहरूको नामावली टुङ्गो लगाउन अपिल गर्दै एकाढंगबाट गरिएको निर्णयप्रति विरोध गरेका छन् ।

तर, जिल्ला सभापति चन्दले सुरुमा उम्मेदवारी दर्ता गरेर हार्ने भएपछि केहीले असहमति जनाएको र त्यसको तुक नभएको बताए । ‘सुरुमा सबैको सहभागितामा केन्द्रको परिपत्रअनुसार जिल्ला कार्यसमिति बैठकमा छलफल भएको हो । पछि असहमति जनाउनेहरूले पहिला उम्मेदवारी दर्ता गर्नुभएको हो । पछि हार्ने भएपछि विरोध गर्नुको तुक छैन,’ जिल्ला सभापति चन्दले रातोपाटीसँग भने, ‘प्रक्रिया पुर्‍याएर बहुमतबाट उम्मेदवार निर्वाचित गरिसकेका छौँ ।’

निर्वाचनबाट जिल्ला सभापति चन्द र विष्णुदत्त जोशी छानिएका छन् । महिला उम्मेदवारका रूपमा जानकी भट्ट निर्विरोध चयन भएकी थिइन् ।

केन्द्रको निर्वाचन समितिले उम्मेदवार बनाउनका लागि प्रतिनिधि पठाउनु पर्नेमा नपठाई छान्नुभयो भन्ने विपक्षीको आरोप छ नि भन्ने रातोपाटीको प्रश्नमा सभापति चन्दले भने, ‘केन्द्रको परिपत्र अनुसार हामीले उम्मेदवार निर्वाचन प्रक्रियाबाट टुङ्ग्याएका छौँ ।’

यता असन्तुष्टि जनाउने मध्यका उत्तरबहादुर ऐरले भने केन्द्रबाट उम्मेदवार निर्वाचनबाट छान्नु पर्ने भएमा भन्दै प्रतिनिधि पठाउनु पर्नेमा प्रतिनिधि नै आइनपुग्दै आफ्ना नाम सिफारिस गर्न जिल्ला सभापतिले एकलौटी गरेको आरोप लगाए । ‘विधि र प्रक्रिया मिचेपछि हामीले उम्मेदवारी दर्ता गरेपछि पनि बहिस्कार गर्‍यौँ,’ ऐरले रातोपाटीसँग भने, ‘आफू नपर्ने भएपछि सक्षम साथीहरूलाई रोक्न जिल्ला सभापतिबाट हतारमा निर्वाचन गरियो ।’

उम्मेदवार बन्नका लागि मनोनयन दर्ता आफूहरूले गरेको भने ऐरले स्वीकारे । 

Congress Baitadi birodh

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप