मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

काम गुणस्तरीय र समयमै गर्नुस्, भुक्तानीकाे समस्या भए मलाई भन्नुस् : मुख्यमन्त्री कँडेल

पश्चिम सुर्खेतको‌ सडक विकास निर्माणमा गति देखियो
सोमबार, २२ मङ्सिर २०८२, १७ : १८
सोमबार, २२ मङ्सिर २०८२

‎सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पश्चिम सुर्खेतमा निर्माणाधीन सडक पूर्वाधारहरूको काम सन्तोषजनक रूपमा अघि बढेको बताएका छन् ।

‎सोमबार प्रदेश सरकारबाट निर्माण भइरहेका चार वटा सडक तथा पुलका योजनाहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेपछि कँडेलले विगतको तुलनामा कामको गति बढेको भन्दै खुसी व्यक्त गरे ।

‎विगतमा धेरै छलफल भए पनि काम हुन नसकेको र जनगुनासो बढेको ती क्षेत्रमा यसपटक निर्माण व्यवसायीहरूले काममा तदारुकता देखाएको मुख्यमन्त्रीले बताए ।

‎‘काम गरे भुक्तानी पाइन्छ’

‎‎मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशमा काम गर्ने निर्माण व्यवसायीले भुक्तानीको चिन्ता लिनु नपर्ने स्पष्ट पारेका छन् । उनले भने, ’कर्णाली प्रदेशले एउटा सकारात्मक सन्देश दिएको छ– कर्णालीमा काम गरेबापतको भुक्तानी पाइन्छ। रकमको अभावले काम रोकिँदैन ।’‎

‎उनले बजेट मात्र छुट्याएर नहुने भन्दै कार्यान्वयन गर्ने निकायको तत्परता र निर्माण व्यवसायीको इमानदारिता भएमा सरकारले आवश्यक स्रोतको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।‎

‎'तपाईँहरू समयमै काम सक्नुहोस्, आवश्यक पर्ने बजेटको व्यवस्थापन सरकारले गर्छ,’ मुख्यमन्त्री कँडेलले भने। पश्चिम क्षेत्रमा विशेष गरी बड्डीचौर–खम्बागाडे लगायतका सडकहरूमा विगतमा काम नहुँदा जनतामा नैराश्यता र अविश्वास पैदा भएको थियो ।

‎तर, पछिल्लो समय निर्माण व्यवसायीले काममा देखाएको सक्रियताले जनतामा हराएको विश्वास पुनः जागृत भएको मुख्यमन्त्रीको भनाइ छ ।

‎‎उनले रानीघाट–भुरिगाउँ सडकजस्ता लामो समयदेखि अल्झिएका आयोजनाहरूले पनि अहिले गति लिएको बताए। ‎कँडेलले सरकारी कामकारबाहीको प्रक्रियाले गर्दा काममा ढिलाइ हुने गरेको स्वीकार गरे ।

बजेट भएर पनि टेन्डर प्रक्रिया, मूल्याङ्कन र छनोट गर्दा ३–४ महिना लाग्ने र त्यसले गर्दा फागुन–चैतमा मात्र काम सुरु हुने परिपाटीको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।‎

'हामीले साउनबाटै टेन्डर निकाल्ने सुरुवात गरेका छौँ, ताकि समयमै काम सुरु होस्,’ उनले भने, ’मनको गतिले मात्र हुँदैन, विधि र प्रक्रियाले पनि साथ दिनुपर्छ। यद्यपि कानुनी र प्रक्रियागत झन्झटहरूलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता छ ।’‎

‎अनुगमनका क्रममा मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायीहरूलाई बिना पूर्वाग्रह, सम्झौता अनुसारको गुणस्तरीय काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।‎

‎उनले विकास निर्माणमा देखिएका कानुनी र व्यावहारिक समस्या समाधान गर्न प्रदेश सरकार सधैँ तयार रहेको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप