नेपाली कांग्रेस कैलालीले गर्यो उम्मेदवार सिफारिस, को–को कहाँबाट ?
सारांश
- कैलाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार सिफारिस प्रक्रिया सुरु गरेको छ।
- क्षेत्रीय समितिहरूले प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरूको नाम जिल्ला कार्यसमितिमा पठाएका छन्।
- उम्मेदवार सिफारिसका क्रममा केही क्षेत्रले शुल्क लिएकोमा जिल्ला सचिवले आपत्ति जनाएका छन्।
धनगढी । नेपाली कांग्रेस कैलालीले आसन्न प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार सिफारिस प्रक्रिया टुङ्ग्याउन सुरु गरेको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा र माघमा हुने राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसको तल्लो तहबाट सिफारिस गरेको उम्मेदवारको नाम जिल्ला कार्यसमितिमा आइपुगेको छ ।
जिल्ला सचिव नृप सुनारका अनुसार कांग्रेसको विधान र केन्द्रको परिपत्र अनुसार क्षेत्रीय कार्यसमितिहरूले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेर पठाएका छन् । विशेषगरी निर्वाचन क्षेत्र नम्बर ५मा पूर्वमन्त्री आरजु राणा देउवासहितका नेताहरूको नाम सिफारिस भएको छ ।
- क्षेत्र नम्बर ५ः आरजु राणासहित ४ जनाको नाम सिफारिस
सबैको चासोको केन्द्र बनेको कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ डा. आरजु राणा देउवाको नाम सिफारिस भएको छ । यद्यपि, उनलाई सर्वसम्मत उम्मेदवारका रूपमा भने सिफारिस गरिएको छैन । सो क्षेत्रबाट राणासँगै पूर्वजिल्ला सभापति नारायण शाह ‘मनु’, महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारी, निवर्तमान प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर नृप वड गरी ४ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ ।
यस क्षेत्रबाट समानुपातिकतर्फ डा. जीवन राना, गौरीकुमारी लामा, मन्च देवल, धनगढीकी पूर्वउपमेयर सुशीला मिश्र भट्ट, सुनिताकुमारी राना, पुष्पा भट्ट जोशी, नृप चोखाल, जागृत बोगटी, टेकबहादुर रैका, प्रमिला लम्साल र नरबहादुर बम लगायत ११ जनाको नाम सिफारिस भएको छ ।
यसैगरी यहाँबाट राष्ट्रिय सभाका लागि रिता भण्डारी, हरिश खड्का र रामचन्द्र ओझाको नाम उम्मेदवारमा सिफारिस गरिएको छ ।
- क्षेत्र नम्बर ४ः प्रदेश सभापति बलायरको चर्चा
क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरसहित ७ जनाको नाम सिफारिस भएको छ । सिफारिस भएका अन्यमा दिनेशराज जोशी, विजयबहादुर कुँवर, लोकराज पाण्डेय ‘आगो’, टेकराज जोशी, नैनसिंह महर र भुवन महरा छन् ।
यस्तै समानुपातिकतर्फ यज्ञनिधि कोइराला, जानकी पाल, खडकसिंह बडैला, गोपालबहादुर देउवा, गंगा कामी र रमेश ताम्राकारको नाम सिफारिस भएको छ भने राष्ट्रिय सभाका लागि डा. लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरा भट्ट सिफारिसमा परेका छन् ।
- क्षेत्र नम्बर १, २ र ३ को अवस्था
प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ तप्तराज जोशी, जनकराज चौधरी, बुद्धिसागर चौधरी, डा. रणबहादुर रावल र पूर्वमन्त्री रामजनम चौधरीको नाम सिफारिस भएको छ ।
समानुपातिकमा उमाकुमारी वादी, केशरीकुमारी रावल, धिरज रेग्मी, दीर्घबहादुर रावल, वीरबहादुर हमाल, राजेशकुमार टमटा र सुशीला स्वारको नाम सिफारिस भएको छ ।
यस्तै राष्ट्रिय सभाका लागि जगन्नाथ रिमाल, नीरबहादुर खड्का र फकिरसिंह कडायतको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर २मा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ कृष्णराज पाण्डेय, घनश्याम जोशी, विजयबहादुर स्वार, हिमबहादुर रावल, गोपालबहादुर बम, ललित भट्ट, वीरबहादुर थारु, नमराज उपाध्याय, जितेन्द्र उपाध्याय र मोहन राठौर सिफारिस भएका छन् ।
समानुपातिकमा शिवा थापा, टीका चौधरी, सुमन सञ्जेल, रिता चौधरी, गोविन्द विष्ट, बलबहादुर विष्ट, रविन्द्रकुमार चौधरी, सुशीला जोशी, कर्णबहादुर चौधरी, नन्दाराम वादी र नृप सुवर्णकार छन् ।
राष्ट्रिय सभाका लागि जनकबहादुर बम, मोहनसिंह राठौर, अम्बिकाकुमारी भट्टराई, शिवा थापा, बलबहादुर विष्ट, धर्मराज र नारायण शर्माको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ३मा प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ खेमराज चौधरी, भीम बडुवाल, अविनाश चौधरी र झंकर शाह सिफारिस भएका छन् । समानुपातिकमा रिता चौधरी, रामकुमारी चौधरी र सम्झना खत्री तथा राष्ट्रिय सभाका लागि रामचरण चौधरी र कलावती शाह सिफारिस भएका छन् ।
- आकाङ्क्षीसँग शुल्क असुली गरिएकोमा सचिवको आपत्ति
उम्मेदवार सिफारिस प्रक्रियामा केही निर्वाचन क्षेत्रले आकाङ्क्षीहरूबाट मोटो रकम असुल गरेको भन्दै जिल्ला सचिव नृप सुनारले तीव्र असन्तुष्टि जनाएका छन् ।
‘क्षेत्र नम्बर २ ले निःशुल्क सिफारिस गरेको छ भने क्षेत्र नम्बर १ ले ५ हजार (प्रत्यक्ष) र ३ हजार (समानुपातिक)तर्फ शुल्क लिएको छ । तर, क्षेत्र नम्बर ३, ४ र ५ ले १५ हजारदेखि २० हजारसम्म शुल्क तोकेका छन् । यो लोकतान्त्रिक र समाजवादी पार्टीको चरित्र होइन, यो त पुँजीवादी प्रवृत्ति भयो,’ उनले भने । पैसा नहुने तर योग्य कार्यकर्तालाई यस्तो प्रवृत्तिले निरुत्साहित गर्ने सुनारले बताए ।
जिल्ला कार्य समितिमा आएका यी नामलाई कांग्रेसको विधान अनुसार २६ गतेभित्र प्रदेश कार्य समितिमा पठाइनेछ । प्रदेशले आफ्नो रायसहित केन्द्रमा पठाउने र अन्तिम निर्णय केन्द्रले गर्ने सचिव सुनारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण