‘भूगोलको आधारमा लुम्बिनीबाट ५–७ जना पदाधिकारी पर्ने, तर कर्णाली सधैँ उपेक्षित हुनु हुँदैन’
सुर्खेत । भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन हुने नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमार्फत कर्णाली प्रदेशले नेतृत्वमा आफ्नो बलियो उपस्थिति जनाउने तयारी गरेको छ ।
विगतमा सधैँ पदाधिकारीविहीन बनेको कर्णालीले यसपटक भने आफ्नो ‘सुरक्षित स्थान’ खोज्ने रणनीति बनाएको हो । एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहले यसपटक कर्णाली खाली हात नफर्कने दाबी गरे ।
उनका अनुसार देशका अन्य ६ वटा प्रदेशले पार्टीको शीर्ष पदाधिकारीमा प्रतिनिधित्व जनाइसक्दा कर्णाली भने अहिलेसम्म रित्तै छ ।
१०औँ महाधिवेशनमा नेता यामलाल कँडेलले सचिव पदका लागि तयारी गरे पनि अन्तिम समयमा उनी खाली हात फर्कनु परेको थियो । प्रदेश अध्यक्ष शाहका अनुसार, यसपटक पदाधिकारीमा कर्णालीको उपस्थिति सुनिश्चित गर्न सिङ्गो प्रदेश कमिटी र प्रतिनिधिहरू एकढिक्का भएका छन् ।
महाधिवेशनका लागि काठमाडौँमा रहेका शाहले रातोपाटीसँग कुरा गर्दै भने, ‘हामीले अध्यक्षदेखि महासचिवसम्मका शीर्ष नेताहरूलाई भेटेर कर्णालीको दाबी पेस गरिसकेका छौँ । उहाँहरूले पनि कर्णालीलाई एउटा पदाधिकारी दिन कुनै समस्या नरहेको सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।’
शाहले भूगोलको आधारमा लुम्बिनीबाट ५–७ जना पदाधिकारी पर्ने, तर एमालेको इतिहास बोकेको कर्णाली सधैँ उपेक्षित हुन नहुने प्रस्ट पारे ।
शीर्ष नेतृत्वले कर्णालीको मागलाई स्वाभाविक र जायज मानेको शाहले बताए । यसपटक कर्णालीले सचिव पद पाउने सम्भावना प्रबल रहेको उनको भनाइ छ ।
पदाधिकारी पाउने आशासँगै कर्णालीका सबैजसो प्रतिनिधि पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुलेका छन् । नेतृत्वको दाबेदार मानिएका ईश्वर पोखरेलको प्रभाव कर्णालीमा न्यून देखिएको छ ।
पदाधिकारीका लागि कर्णालीबाट स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री यामलाल कँडेल र नेता गोरख बोगटीलाई मुख्य दाबेदारका रूपमा हेरिएको छ ।
यस्तै, नीरज आचार्य, विनोदकुमार शाह, विष्णु रिजाल, भैरवसुन्दर श्रेष्ठ लगायतका नेता पनि पदाधिकारीमा दाबी गर्न सक्ने देखिन्छन् । यद्यपि, कँडेल नै अहिलेका लागि कर्णालीबाट पदाधिकारीको सर्वस्वीकार्य नेता रहेको उनी निकट नेता–कार्यकर्ताको भनाइ छ ।
कँडेलले पनि भूगोलमात्रै होइन, सामर्थ्यका हिसाबले पनि एमाले पदाधिकारीमा कर्णालीले ‘डिजर्भ’ गर्ने बताए ।
रातोपाटीसँगको कुराकानीमा कँडेलले भने, ‘म पार्टीको पोलिटब्युरो र स्थायी कमिटी सदस्य भइसकेँ । मेरा कतिपय समकालीनहरू पदाधिकारीमा २–३ कार्यकाल बिताइसक्नुभयो । प्रदेशको हिसाबमा पनि कमिटीभित्र सिनियर भएको नाताले पदाधिकारीमा स्वतः दाबी रहन्छ नै ।’
पदको विषयमा नेतृत्वसँग सरसल्लाह भइरहेको उनले बताए । ‘जिम्मेवारीको हिसाबले पनि काम गर्न सक्छु भन्ने मलाई आत्मविश्वास छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण