धनगढीमा सालनालसहित झाडीमा नवजात शिशु फाल्ने आमा पक्राउ
सारांश
- धनगढी उपमहानगरपालिका-८ मा एक नवजात शिशुलाई खोलाको किनारमा बेवारिसे अवस्थामा फेला पारियो।
- प्रहरीले शिशुको उद्धार गरी सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पठाएको छ, र आमाको खोजी सुरु गर्यो।
- प्रहरीले शिशुलाई फालेको आरोपमा २९ वर्षीया महिलालाई पक्राउ गरेको छ, तर उनले शिशु फाल्नुको कारण खुलेको छैन।
धनगढी । पुसको कठ्याङ्ग्रिने चिसो, बिहानको समय । धनगढी उपमहानगरपालिका–८ स्थित भद्रटोलमा एकान्त खोलाको कुनाबाट अचानक नवजात शिशु रोएको आवाज आयो । खोला किनारको झाडीमा सालनाल समेत नकाटेको अवस्थामा एक शिशु (छोरी) बेवारिसे फालिएको देखेपछि स्थानीय स्तब्ध भए । यो घटना मंगलवार बिहानको हो।
स्थानीयहरूले तत्कालै प्रहरीलाई खबर गरे। प्रहरीले शिशुको उद्धार गर्यो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार बिहान करिब सवा ८ बजेतिर प्रहरी कन्ट्रोलमा खबर आएको थियो । धनगढी–८ को भद्रटोलस्थित खोला किनारमा रहेको खेत र बाँसको झाङ भएको ठाउँ नजिकैबाट बच्चा रोएको आवाज आएको थियो ।
‘त्यहाँ किनारमा एउटा बच्चा रोइरहेको छ भन्ने आवाज सुनेपछि हामीलाई खबर भयो । हाम्रो प्रहरी गयो, गइसकेपछि हेर्दा एउटा सानो नवजात शिशु (फिमेल) रहिछ । त्यसलाई तत्कालै हामीले सेती प्रादेशिक अस्पतालमा उपचारको लागि पठायौँ ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले भने।
शिशु सालनाल सहित र कपडाले बेरिएको अवस्थामा थिइन् । चिसो भुईँमा फालिएकी ती अबोध शिशुको अवस्था अहिले भने सकुशल रहेको र सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शिशुको उद्धार लगत्तै प्रहरीले आमाको खोजी सुरु गरेको थियो । खोजी गर्दै जाँदा सोही वडाकी २९ वर्षीय राममति रानालाई प्रहरीले पक्राउ गर्यो । उनी विवाहित रहेको र श्रीमान् रोजगारीको सिलसिलामा विदेशमा रहेको बुझिएको छ । तर, उनले भर्खरै जन्मेको सन्तानलाई किन झाडीमा फालिन् भन्ने कारण भने खुल्न सकेको छैन ।
प्रहरी निरीक्षक विष्टका अनुसार सुत्केरी अवस्थाकी ती महिला शारीरिक र मानसिक रूपमा निकै कमजोर देखिएकी छिन् । ‘हामीले उनलाई समातेर ल्यायौँ । तर उनको अवस्था कस्तो छ भने शारीरिक र मानसिक दुवै अवस्था अलिकति कमजोर, बोल्न नसक्ने भएकोले अरू बाँकी कुरा केही पनि खुलेको छैन ।’
प्रहरीले उनलाई किन शिशु फालेको भनी सोधपुछ गर्न खोजे पनि उनले जवाफ फर्काउन सकेकी छैनन् । ‘किन फाल्यो, के कारण रहिछ भन्ने कुरो केही पनि खुलेको छैन । उनलाई पहिला उपचारको आवश्यकता छ,’ विष्टले भने ‘उहाँले राम्रोसँग बोल्न सक्ने भइसकेपछि अनि बल्ल कुरा खुल्छ ।’
प्रहरीका अनुसार ती महिलाको घर परिवारका अन्य सदस्यहरू कोही पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । श्रीमान् विदेशमा रहेको बताइए पनि घटनापछि उनको हेरचाह वा सोधपुछका लागि आफन्तहरू प्रहरी कार्यालयमा उपस्थित नभएको बुझिएको छ ।
‘घर परिवारसँग कुरा भएको छैन । हामी त्यो कहाँनिर घर रहिछ, आफन्तहरू को छन्, के छन् भन्ने कुरा सोधीखोजी गरिरहेका छौँ ।’ बिष्टले भने।
अहिले शिशु र आमा दुवैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र आमाको स्वास्थ्यमा सुधार आएपछि मात्र शिशु फाल्नुको वास्तविक कारण बाहिर आउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण