गोठ भत्किए तर त्रिपालमा ‘सिफ्ट’ भए छाउ बार्ने महिला
सारांश
- अछाम जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहेको छ, तर स्थानीयको अन्धविश्वासका कारण समस्या समाधान हुन सकेको छैन।
- गोठ भत्काएपछि महिलाहरू घरभित्र बस्नुको साटो त्रिपाल टाँगेर बस्न थालेका छन्, जसले झन् जोखिम बढाएको छ।
- छाउगोठ भत्काउने अभियानले भौतिक संरचना भत्काए पनि मानसिक चेतनाको कमीले गर्दा समस्या ज्यूँका त्यूँ रहेको छ।
धनगढी । सरकारी तथ्यांक हेर्ने हो भने सुदूरपश्चिमको अछाम जिल्लामा छाउगोठ भत्काउने अभियान तीव्र गतिमा चलिरहेको देखिन्छ । प्रहरी र प्रशासनको सक्रियतामा गाउँगाउँका छाउगोठहरु भत्काउने अभियान चलिरहेको छ ।
गोठहरु भग्नावशेषमा परिणत भएपनि स्थानीयको मनमा गडेको अन्धविश्वासको पर्खाल भने भत्किन सकेको छैन । बरु छाउगोठ भत्किएपछि अछामका महिलाहरुको बास अहिले खुला आकाशमुनि वा चिसो त्रिपाल (प्लास्टिक) भित्र हुन थालेको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
हरेक वर्ष झैँ यस वर्ष पनि अछाममा छाउगोठ भत्काउने अभियान चलिरहेको छ । तर अभियानको शैली जति नै आक्रामक भएपनि परिणाम भने पुरानै भएको अगुवाहरु बताउँछन् । पहिले साँघुरा र अँध्यारा गोठभित्र रात काट्ने महिलाहरु अहिले गोठ भत्किएपछि घरभित्र पस्नुको साटो आँगन वा बारीको कुनामा त्रिपाल टाँगेर रात कटाउन बाध्य भएको प्रशासनले जानकारी प्राप्त गरेको छ ।
जिल्ला प्रशासन कार्यालय अछामका अनुसार जिल्लामा चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा मात्रै जिल्लाभर ३४६ वटा छाउगोठ भत्काइएका छन्। प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय जनप्रतिनिधि र अधिकारकर्मीहरुको लर्को गाउँ पस्छ, गोठ भत्काउँछ र फर्कन्छ।

प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार जिल्लामा हरेक वर्ष ठुलो संख्यामा छाउगोठ भत्काइने गरिएको छ । ‘यहाँ हरेक वर्ष छाउगोठ भत्काइन्छ । जिल्ला प्रशासन, प्रहरी, स्थानीय तह र सरोकारवालाको समन्वयमा गोठहरु भत्काउने गरिन्छ,’ उनले भने, ‘तर समस्या के छ भने मान्छेको दिमागमा रहेको गोठ भत्किएको छैन । गोठ भत्काएपछि अहिले त कतिपय महिलाले त्रिपाल टाँगेर बस्ने नयाँ चलन सुरु गरेका छन् ।’
छाउगोठ भत्काउने अभियान अन्तर्गत राज्यको लगानीको पनि जोडिएको हुन्छ । अभियानको प्रभावकारितामाथि भने जति देखिनुपर्ने हो, त्यो देखिएको छैन । यो अभियानको उद्देश्य भौतिक संरचना भत्काउनु मात्र हो वा महिलालाई सुरक्षित बासस्थानको ग्यारेन्टी गर्नु हो ? स्थानीयले प्रश्न गर्छन् ।
छाउगोठ भत्काउने अभियानले निम्त्याएको नयाँ चुनौती हो त्रिपाल सिस्टम । जिल्ला प्रशासन कार्यालय पनि गोठ भत्काएपछि त्रिपालमा बस्ने नयाँ प्रवृत्ति देखिएको स्वीकार गर्छ ।
‘हामी गोठ भत्काउँछौं, तर गोठ भत्काएपछि महिलाहरु घरभित्र बस्नुको साटो त्रिपालमा बस्ने गरेको पाइएको छ,’ प्रमुख जिल्ला अधिकारी बुढाले भने ।
_sbfZY0hqHP.jpg)
उनका अनुसार त्रिपाल सिस्टमले झन् जोखिम निम्त्याउन सक्छ । पक्की वा माटोको गोठले कम्तीमा चिसो हावा र जंगली जनावरबाट केही हदसम्म ओत दिन्थ्यो । पुस–माघको कठ्याङ्ग्रिने चिसोमा पातलो त्रिपालमुनि रात काट्नु निकै कष्टकर हुन्छ ।
सुरक्षाको दृष्टिकोणले पनि खुला ठाउँमा त्रिपाल टाँगेर बस्दा महिलाहरु यौन हिंसा र सर्प लगायतका जीवजन्तुको टोकाइको उच्च जोखिममा परेका छन् । गत भदौमा महिनावारी भएर त्रिपालमुनि बसिरहेका एक युवती र एक बालिकाको माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको थियो । पञ्चदेवल विनायक नगरपालिका–८ बारलामा माथिबाट खसेको ढुङ्गाले २८ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की ७ वर्षीया कविता भण्डारीको ज्यान गएको थियो । सोही घटनामा मङ्गलसेन नगरपालिका–६ की रत्नकला भण्डारी गम्भीर घाइते भएकी थिइन् । उनको टाउकोमा चोट लागेको थियो ।
स्थानीय चुरकुली भन्ने स्थानमा महिनावारी भएको भन्दै घरको आँगनमै त्रिपाल टाँगेर सुतिरहेका तीन जनालाई अचानक त्रिपालमाथिबाट खसेको ढुङ्गाले च्यापेको वडा नम्बर ८ का वडाध्यक्ष छत्रबहादुर शाहीले बताए ।
पछिल्ला वर्षहरूमा स्थानीय प्रशासन र विभिन्न संघसंस्थाले छाउगोठ भत्काउने अभियान चलाए पनि पुरानो संस्कार र कुरीतिका कारण महिनावारी भएका महिलाहरू अझै पनि त्रिपालमुनि वा ओडारमा बस्न बाध्य छन् भने जोखिम पनि उत्तिकै छ । महिनावारीका समयमा महिलाले घरभित्र नबस्ने, खाना पकाउन नपाउने र गाईवस्तु नछुने प्रथालाई त्यहाँ ‘छाउपडी बार्ने’ भनिन्छ । अधिकांश महिला छाउ नबारे देवीदेवता रिसाएर बिरामी भइन्छ भन्ने अन्धविश्वास पाल्छन् ।

साँफेबगर नगरपालिकाकी स्थानीय सुनिता खड्काको बुझाइमा यो समस्याको जड भौतिक संरचना नभई मानसिक चेतना हो । ‘गोठहरु त सयौँ भत्काइए तर मानसिकता र चेतनामा कमी हुँदा गोठ भत्काएर केही नहुने रहेछ,’ सुनिता भन्छिन्, ‘घरका मान्छे र स्वयं महिलाहरुमा पनि देउता रिसाउने डर छ । जबसम्म त्यो डर हट्दैन, तबसम्म गोठ भत्काएर उनीहरु त्रिपालमा, ओढारमा वा खुल्ला आकाशमुनि बस्न तयार हुन्छन्, घरभित्र पस्दैनन् ।’
उनका अनुसार शिक्षित भनिएका परिवारमा पनि महिनावारी बार्ने चलन हट्न सकेको छैन । सहरमा पढ्न बस्दा आधुनिक जीवनशैली अपनाउनेहरु पनि गाउँ फर्किंदा समाज र ‘देउता’को डरले छाउ बार्न बाध्य छन् ।
अछाममा छाउगोठ भत्काउने अभियान दशकौंदेखि चलिरहेको छ । एनजीओ-आईएनजीओले करोडौं रुपैयाँ जनचेतनामा खर्च गरेका छन् । सरकारले कानुन बनाएर छाउ बार्नेलाई कारबाही गर्ने व्यवस्था गरेको छ । तर व्यवहारमा परिवर्तन आउन सकेको छैन । प्रशासनको आँखा छल्न अस्थायी त्रिपालको सहारा लिन थालेका छन् । यसले समस्या समाधान हुनुको साटो रुपान्तरण मात्र भएको स्थानीय शिक्षक छत्रा रावल बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
-
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण