मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

हृदयन्द्रलाई देउडा सुनाएकी जुम्लाकी पञ्चकली राप्रपाको समानुपातिक उम्मेदवार सिफारिस

बुधबार, ०९ पुस २०८२, १७ : ३१
बुधबार, ०९ पुस २०८२

सुर्खेत । पूर्व नवयुवराज हृदयन्द्र शाहको ‘जुम्ला भ्लग’ मा देउडा गीत सुनाएर देशव्यापी चर्चामा आएकी जुम्लाकी पञ्चकली बुढा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक सुचीमा सिफारिस भएकी छिन् । उनीसँगै जानदेवी शर्मा र बसान्ताकुमारी शाहीको नाम सिफारिस गरिएको छ । 

गत साउनमा पञ्चकलीले हृदयचन्द्रलाई ‘जुम्ला फल्छ धान संसारकै अग्लो ठाउँमा, कोही सुन्दैनन् कान, कर्नाली रोयाको आवाज’ भन्ने मार्मिक देउडा सुनाएकी थिइन् ।

यस गीतबाट उनले जुम्ला र समग्र कर्णालीको वर्तमान अवस्था र पीडालाई जीवन्त रूपमा चित्रण गरेकी थिइन् । यति मात्र होइन, उनले पूर्व युवराजलाई सोधेकी थिइन्, ‘हाम्रो नेपाल समृद्ध कहिले हुन्छ होला ?’

जवाफमा हृदयचन्द्रले ‘सबैले राम्रो काम गरे राम्रै हुन्छ होला, अलिकति तपाईँ हामी पनि लाग्नुपर्‍यो, आँट गर्नुपर्‍यो’ भन्दै जवाफ दिएका थिए ।उनको सोही प्रेरणाले पञ्चकली राप्रपामा सक्रिय भएकी र उम्मेदवारको रूपमा नाम सिफारिस हुनुका पछाडि कहिनँ कहीँ हृदयन्द्रको ‘जुम्ला भ्लग’ काम गरेको जुम्लाका राप्रपाका एक नेताले बताए ।

राप्रपाले पनि सोही भ्लगमार्फत देशभर परिचित भएकी उनको लोकप्रियतालाई एक आधार मानेरै उम्मेदवारका रूपमा सिफारिस गरिएको बताइन्छ ।

पातारासी गाउँपालिका–५, की पञ्चकली उमेरले २४ वर्षकी मात्रै भइन् । ‘जेनजी’ उमेर समूहकी भएको र उनको लोकप्रियता पनि रहेकाले पार्टीले उनको नाम पनि सिफारिस गरिएको ती नेता बताउँछन् ।

यसअघि उनी जुम्लाको रेडियो खुल्ला आकाशमा काम गर्थिन् । अहिले उनले पत्रकारिता छाडिसकेकी छिन् । उनी ०७९ सालको निर्वाचनमा ज्ञानेन्द्र शाहीलाई भोट मागेकी थिइन् । तर त्यो बेला उनी राप्रपामा सङ्गठित नभएको उनले रातोपाटीलाई बताइन् ।

साथै, उनी राप्रपाको विद्यार्थी सङ्गठनबाट जुम्ला बहुमुखी क्याम्पसको स्ववियु चुनाव लडेकी थिइन् ।

पञ्चकलीले अहिले उम्मेदवारका लागि पार्टीबाट नै प्रस्ताव आएको र आफ्नो पनि चाहना अनुसार नाम सिफारिस भएको बताइन् । साथै, उनले अहिले राप्रपाको कुनै पदमा नरहेको तर साधारण सदस्य रहेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप