आरक्षपीडितको पुनर्स्थापना माग गर्दै कानुनका विद्यार्थी अदालतमा
धनगढी । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका नागरिकहरूको न्यायका लागि कानुन संकायका विद्यार्थीहरूले न्यायिक लडाइँ सुरु गरेका छन् ।
पीडितहरूको पुनर्स्थापनामा राज्यले ढिलासुस्ती गरेको भन्दै सुदूरपश्चिम विश्वविद्यालयका पाँच विद्यार्थीले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा बिहीबार रिट दायर गरेका हुन् ।
विद्यार्थीहरू ईश्वरदत्त भट्ट, भावना साउद, वसन्ती बोहरा, मुकेश विष्ट र पूजा सुनारले संयुक्त रूपमा दायर गरेको रिटमा राज्यका जिम्मेवार निकायहरूलाई विपक्षी बनाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई विपक्षी बनाई मुद्दा दायर गरिएको हो ।
रिट निवेदक मध्येका एक मुकेश विष्टका अनुसार आरक्ष विस्तारका नाममा २०५८ सालमा स्थानीयको बासस्थान खोसिएको थियो । २४ वर्ष बितिसक्दा पनि पुनर्स्थापना नहुँदा पीडितहरूको मौलिक हक निरन्तर हनन भइरहेको रिटमा उल्लेख छ ।
आर्थिक र सामाजिक रूपमा कमजोर भएका कारण पीडितहरू स्वयं अदालतसम्म पुग्न नसकेको अवस्थामा आफूहरूले कानुनी उपचार खोजेको विद्यार्थीहरूको भनाइ छ ।
रिटमा संविधानको धारा १६ (सम्मानपूर्वक बाँच्न पाउने हक), धारा २५ (सम्पत्तिको हक) र धारा ३७ (आवासको हक) को गम्भीर उल्लङ्घन भएको जिकिर गरिएको छ। संविधानको धारा ४६ र १४४ (१) बमोजिम कानुनी राज्यको प्रत्याभूति गराउन अदालतको ढोका ढक्ढकाएको उनीहरूले बताएका छन् ।
यसअघि गठित २३औँ आयोगले कञ्चनपुरमा २ हजार ४ सय ७३ घरधुरीलाई आरक्षपीडितका रूपमा प्रमाणीकरण गरेको थियो ।
सुरेन्द्र बमको नेतृत्वमा बनेको आयोगले पीडितलाई प्रतिपरिवार १० कठ्ठा जग्गा वा ६० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव गरेको थियो ।
तर, उक्त प्रस्ताव वन मन्त्रालयमा नै थन्किएर बसेको छ । लामो समयदेखि पुनर्स्थापना नहुँदा पीडितहरू सरकारी जग्गा अतिक्रमण गरेर कष्टकर जीवन बिताउन बाध्य भएको विषयलाई रिटमा प्रमुखताका साथ उठाइएको छ ।
अदालतले रिटको पहिलो पेसी भाेलि शुक्रबारका लागि तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
-
छानबिन प्रतिवेदन र सुधनको पुनरागमनले स्थापित गरेका चार गलत नजिर
-
मन्त्री पुनले गरे पदभार ग्रहण
-
शोधनान्तर स्थिति साढे ८ खर्ब र चालु खाता झण्डै ८ खर्बले बचतमा
-
महावीरले तोके आफ्नो कार्यकाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण