मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी सहिदको घरमा सरकारी टोली

शुक्रबार, ११ पुस २०८२, १७ : ०६
शुक्रबार, ११ पुस २०८२

बैतडी । जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक साउदको परिवारको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको टोली उनको घरमा पुगेको छ ।

साउदको घरमा गएर पारिवारिक अवस्थाबारे जानकारी लिइएको प्रजिअ पौडेलले बताए । उनले भने, “सहिद परिवारको अवस्थाबारे जानकारी लिन उहाँको घरमापुगेका हौंँ । दीपकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेका छौंँ । परिवारलाई राज्यका तर्फबाट भेटवार्ता र सरकारको भएको महसुस गराउन र सान्त्वना दिन हामी प्रयासरत छौँ ।”

भेटवार्ताका क्रममा परिवारका कुनै सदस्यलाई रोजगारीको व्यवस्था गर्न सकिने विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले जानकारी दिए । उनले भने, “सहिद परिवारका सदस्यलाई रोजगारसँग जोड्ने र थप सहयोग गर्न पहल गर्नेछौँ । चौधरी ग्रुपले रोजगारी दिने जानकारी दिएपछि प्रक्रिया अघि बढाइएको हो ।”

प्रजिअ नेतृत्वको टोली भेट्न आएर पारिवारिक अवस्था बुझिदिँदा केही राहत महसुस भएको सहिद साउदकी आमा लक्ष्मी साउदले बताइन् । 

दीपकको परिवारलाई यसअघि सरकारको तर्फबाट रु १५ लाख र शिवनाथ गाउँपालिकाले रु एक लाख सहयोग गरेको थियो । बीस वर्षीय दीपकलाई जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते काठमाडौँको कालीमाटीमा गोली लागेको थियो ।

गोली लागेर गम्भीर घाइते उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा भदौ २७ गते मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप