खेलकुद प्रतियोगिता कला–संस्कृति जोगाउने माध्यम बन्दै
कञ्चनपुर। कञ्चनपुरमा पालिकास्तरमा आयोजना हुने खेलकुद प्रतियोगिताले खेल प्रतिभा उजागर गर्नुका साथै स्थानीय समुदायको भाषा, भेषभूषा, लोकगीत र नृत्यजस्ता सांस्कृतिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
विद्यालय, क्लब तथा नगरस्तरीय प्रतियोगितामा खेलकुदसँगै सांस्कृतिक झाँकी, लोकनृत्य र लोकगीत समावेश हुन थालेपछि नयाँ पुस्तामा संस्कृतिप्रतिको चासो र अपनत्वको भावना बढ्दै गएको छ । खेलकुद प्रतियोगिताले बालबालिकाभित्र लुकेका खेल प्रतिभा उजागर गर्नुका साथै सांस्कृतिक कार्यक्रममार्फत आफ्नोपन र पहिचानको भावना जागृत गराउने गरेको सिद्धबैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक राजबहादुर साउद बताउँछन् ।
“विद्यालयको वार्षिकोत्सव, खेलकुद प्रतियोगिताजस्ता कार्यक्रममा परम्परागत लोकगीत र नृत्यलाई प्राथमिकतामा राख्दै आएका छौँ”, उनी भन्छन्, “यसले बालबालिकालाई आफ्नो संस्कृति बुझ्ने अवसर मिल्छ भने संस्कृति जोगिन मद्दत पुग्छ ।”
तराईका जिल्ला कञ्चनपुरमा राना थारु, डगौरा, चौधरी थारु तथा पहाडी समुदायको मिश्रित बसोबास छ । यी समुदायका आआफ्नै रीतिरिवाज, भेषभूषा, गीत–सङ्गीत र संस्कार छन् ।
विद्यालयस्तरबाटै बालबालिकालाई एक–अर्काको संस्कृति चिनाउने उद्देश्यले खेलकुदसँगै सांस्कृतिक कार्यक्रमलाई जोडिँदै आएको राष्ट्रिय माध्यमिक विद्यालय पिपलाडीका प्रधानाध्यापक धनबहादुर महरा बताउँछन् ।
“एक समुदायको लोकनृत्य र गीत अर्को समुदायका बालबालिकाले बुझ्ने अवसर पाउँदा सामाजिक सद्भाव बढ्छ”, उनले भने, “एक समुदायको बालबालिकाले अर्को समुदायको नाच र गीतमा ताली बजाउँदा यहाँको सामाजिक सद्भाव र अपनत्वको भावना झनै बलियो भएको छ ।”
पालिकास्तरमा सञ्चालन भइरहेका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यसका उदाहरण हुन् । प्रतियोगितामा सहभागी विद्यालयहरूले खेलकुद विधासँगै मार्चपासका क्रममा स्थानीय समुदायको भेषभूषा, गहना र राष्ट्रिय पोसाकलाई विशेष ध्यान दिने गरेका छन् ।
धर्मजनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ठगुन्ना भन्छन्, “मार्चपासमा राना थारुको घँघरिया, डगौराको लेहङ्गा, चोली र पहाडी समुदायको दौरा–सुरुवाल र गुन्युचोलीलगायत पहिरनलाई ध्यानमा राखेर विद्यार्थीलाई सजाइ मार्चपासमा सहभागी गराइन्छ, यसले ओझेलमा पर्दै गएका संस्कृति जोगाउन ठुलो सहयोग पुगेको छ ।”
प्रतियोगिताका क्रममा आयोजक पक्षले राष्ट्रिय भावना झल्कने गीत–सङ्गीतसँगै थारु र पहाडी समुदायका लोपोन्मुख अवस्थामा पुगेका सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने गरेका छन् । यसबाट विद्यालयमा अध्ययनरत विद्यार्थीमा खेलकुदसँगै कला र संस्कृति जोगाउनुपर्छ भन्ने चेतना विकास हुँदै गएको उनले बताए ।
_47jrhG7Opd.jpg)
शुक्लाफाँटा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टीकेन्द्रराज भट्टका अनुसार पालिकाले योजनाबद्ध रूपमा खेलकुदलाई संस्कृतिसँग जोड्दै आएको छ । “पालिकास्तरका खेलकुद प्रतियोगिताले बालबालिकाको प्रतिभा उजागर गर्छन् नै”, उनी भन्छन्, “साथै नगर क्षेत्रमा बसोबास गर्ने समुदायको संस्कृति संरक्षण गर्न खेलकुद एक सशक्त माध्यम बन्न पुगेको छ, स्थानीय समुदायले खेलकुदको रोमाञ्चसँगै सांस्कृतिक मनोरञ्जन लिन पाएका छन् ।”
यस किसिमका कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकमा संस्कृति जोगाउनुपर्छ भन्ने सामूहिक मनोभाव विकास गरिरहेको उनको भनाइ छ । उनले भने, “लोपोन्मुख अवस्थामा पुगेका पहिरन, आभूषण, लोकगीत र नृत्य पुनः अभ्यासमा आउन थालेका छन् भने समुदाय–समुदायबिच एक–अर्काको संस्कृति बुझ्ने र सम्मान गर्ने अवसर बढेको छ ।”
प्रतियोगिता आयोजकहरूले राष्ट्रिय भावनाले ओतप्रोत गीतहरूसँगै लोपोन्मुख अवस्थामा पुगेका स्थानीय लोक कलाहरूलाई मञ्च दिने गरेका छन् । शुक्लाफाँटा नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चक्रबहादुर साउदका अनुसार खेलकुदलाई संस्कृतिसँग जोड्नुको पछाडि गहिरो उद्देश्य छ ।
“हामी चाहन्छौँ कि बालबालिकाहरू शारीरिक रूपमा स्वस्थ मात्र नहुन्, उनीहरू आफ्नो कला र संस्कृतिमा उत्तिकै निपुण बनुन्”, साउदले भने, “लोपोन्मुख पहिरन, आभूषण, र लोक भाकाहरूलाई खेलको माध्यमबाट नयाँ जीवन दिनुलाई उपलब्धिका रूपमा लिनुपर्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
-
सरकारी कागजमा मल मौज्दात, तर किसानलाई अझै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण