मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
सुदूरपश्चिम

बालेन–रवि मिल्दा सुदूरपश्चिमका जनता के भन्छन् ?

सोमबार, १४ पुस २०८२, १५ : ५०
सोमबार, १४ पुस २०८२

सारांश

  • बालेन शाह र रवि लामिछानेबीचको सहमतिलाई लिएर सुदूरपश्चिम प्रदेशमा चर्चा भइरहेको छ।
  • कतिपयले यसलाई देशमा परिवर्तनको संकेतका रूपमा लिएका छन् भने, केहीले शंका व्यक्त गरेका छन्।
  • स्थानीय मानिसहरूले नयाँ नेताहरूको टिमलाई भोट दिन र परिवर्तनको लागि आह्वान गरेका छन्।

धनगढी । अहिले सडक, चोक, चिया पसललगायत हरेक ठाउँमा बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबिच भएको सहमतिको चर्चा छ । यो चर्चाले सुदूरपश्चिम प्रदेश पनि तरङ्गित भएको छ ।

रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई अघि सार्ने र रवि लामिछानेले नै पार्टीको नेतृत्व गर्ने गरी भएको सहमतिलाई कतिपयले देशमा परिवर्तन हुने सङ्केतका रूपमा लिएका छन् । केहीले भने अहिले नै यसै हुन्छ भनेर भन्न सकिने जनाएका छन् । यी दुई जना मिलेर पनि देशमा प्रभावकारी काम गर्न नसके फेरि आगो बल्ने उनीहरूको तर्क छ ।

सेती प्रादेशिक अस्पतालमा आफ्नी बिरामी श्रीमतीको उपचारका लागि आएका बझाङको बित्थडचिर गाउँपालिका–४ का गोरख कामीले बालेन र रविको मिलनलाई देशको मुहार फेर्ने एउटा महत्त्वपूर्ण अवसरका रूपमा चित्रण गरे ।

‘अस्पतालमा सेवा लिन त हामीलाई कति गाह्रो छ । यी हेर्नुहोस्, जेमा पनि लाइन लाग्नु पर्छ । बालेन र रवि मिल्नु भनेको देशमा नयाँ परिवर्तनको संकेत हो । केही होला भन्ने आशा छ । पक्का हुन्छ पनि,’ रातोपाटीसँग उनले भने ।

उनले देश बनाउने भिजन भएका यी नयाँ नेताको टिमलाई भोट दिएर जिताउन आवश्यक रहेको पनि बताए । ‘अब पनि पुरानालाई नै बोकेर हिँड्ने हो भने देश बन्दैन । नयाँ परिवर्तन ल्याउन हामीले नै भोटमार्फत आफ्नो शक्ति देखाउनुपर्छ ।’

सोही अस्पतालको भिडमा भेटिए बाजुराको बुढीगंगा नगरपालिका–४ का रामबहादुर खड्का । उनको बुझाइ पनि गोरखको जस्तै छ । उनले दुई युवा एक ठाउँमा आउनु सकारात्मक रहेको बताए ।

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएका युवाहरू अलग–अलग हिँड्नुभन्दा मिल्नु नै राम्रो हो,’ खड्काले भने, ‘बालेनले काठमाडौँमा देखाएको काम र रविले वर्षाैंदेखि सञ्चार क्षेत्र र अहिले संसदमा उठाएको आवाज एक भयो भने देशले पक्कै निकास पाउँछ । उनीहरू एक हुनु भनेको सबै युवा एक हुनु हो ।’

डडेल्धुरा र डोटीका जनतामा पनि पुराना दलहरूप्रति गहिरो असन्तुष्टि देखिन्छ । धनगढीको चौराहमा भेटिएका डोटीको जोरायल गाउँपालिकाका कमलेश बोहरा बालेन–रवि सहकार्यले पुराना राजनीतिक दलको एकाधिकार तोड्ने बताउँछन् ।

‘पुराना दलहरूले कि सच्चिनुपर्छ, कि त सुध्रिनु पर्छ,’ बोहराले भने, ‘जनता दिक्क भइसकेका छन् । विकल्प खोजिरहेको बेला यो सहकार्यले ठुलो राहत महसुस गराएको छ । हुन त राजनीतिमा जे पनि हुन्छ, आफूहरूलाई कमजोर हुन नदिन पुराना राजनीतिक दलहरूले अनेक खेल खेल्छन् होला ।’

अहिले देशको हालत नाजुक अवस्थामा पुगेको भन्दै उनले रवि र बालेन मिलेर यो देश बनाउनु पर्छ भन्ने माग युवा पुस्ताको रहेको प्रस्ट पारे । उनले भने, ‘यसमा सबैले साथ दिनुपर्छ ।’

हार्डवेयरको पसलमा भेटिएका डडेल्धुरा, परशुराम नगरपालिकाका भीमबहादुर जाग्री भने अझ एक कदम अघि बढेर बालेनलाई कार्यकारी भूमिकामा देख्न चाहन्छन् । ‘देशमा अस्थिरताले सीमा नाघ्यो । अब हामीलाई काम गरेर देखाउने एक्सन म्यान चाहिएको छ,’ जाग्रीले भने, ‘बालेन प्रधानमन्त्री भए देशको अवस्थामा सुधार हुने थियो । नयाँ र स्थिर राजनीतिको खाँचो पूरा गर्न उनीहरू मिल्नैपर्छ ।’

रवि र बालेन मिल्नुले सबैमा उत्साह ल्याएको छैन । दार्चुलाको शैल्यशिखर नगरपालिकाकी मानमती राना बालेनले रविसँग मिल्नुभन्दा एक्लै अघि बढेको भए राम्रो हुने तर्क गर्छिन् । स्वतन्त्र छविका बालेन दलगत राजनीतिमा मुछिँदा उनको काम गर्ने शैलीमा प्रभाव पर्ने हो कि भन्ने चिन्ता मानमतीमा देखिन्छ ।

‘बालेनले रविसँग मिल्न हतार गर्न हुन्थेन कि जस्तो लाग्छ,’ उनले भनिन्, ‘तर अब मिलिसकेपछि भाषणमा मात्र होइन, काम गरेर देखाउनुपर्छ । जनतालाई परिणाम चाहिन्छ, गठबन्धनमात्र होइन ।’

कैलालीको धनगढी उपमहानगरपालिका–१६ का भीमबहादुर चौधरीे सामाजिक सञ्जालको हल्लाले मात्र देश नबन्ने बताउँछन् । ग्रासरुटको राजनीति बुझ्न आग्रह गर्दै उनले भने, ‘देशमा केही गर्नका लागि सात वटै प्रदेशमा बहुमत ल्याउन सक्नुपर्छ । काठमाडौँको कोठामा बसेर होइन, प्रत्येक गाउँठाउँमा पुगेर जनताको वास्तविक अवस्था बुझेर काम गर्न जरुरी छ ।’

अछाम, साँफेबगरकी निमा खड्काले बालेन र रविको सहकार्यले देशमा केही पनि परिवर्तन भएन भने अझ ठुलो निराशा र अनिश्चय निम्त्याउने बताइन् । उनले भनिन्, ‘हामीले धेरै हेर्‍यौँ, धेरै भोग्यौँ । अब बालेन र रवि मिलेर देशमा परिवर्तन हुन्छ भने यो राम्रो कुरा हो । यदि अब पनि देशमा केही भएन र उस्तै अवस्था रह्यो भने देशमा अझ ठुलो आगो जल्छ ।’

कञ्चनपुरको बेलौरी नगरपालिकाका पप्पु चौधरीले भने देश बनाउने शक्ति जनताकै हातमा रहेको बताए । ‘राजनीति राम्रो भएमात्र देश राम्रो हुन्छ । त्यो राम्रो बनाउने शक्ति भोटमार्फत जनतासँग छ,’ पप्पुले भने, ‘नेतालाई मात्र गाली गरेर हुँदैन, भोट हाल्ने बेला जनताले विवेक प्रयोग गरेर परिवर्तन गर्न आवश्यक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप