मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

मङ्गलबार, १५ पुस २०८२, ०२ : २५
मङ्गलबार, १५ पुस २०८२

सारांश

  • सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्षको मङ्सिरसम्ममा कूल बजेटको ८.४ प्रतिशत खर्च गरेको छ।
  • चालु खर्चतर्फ १६.५१ प्रतिशत र पुँजीगततर्फ २.८९ प्रतिशत खर्च भएको छ ।
  • राजस्व सङ्कलन र अन्य शीर्षकमा उतारचढाव देखिएको छ ।

सुदूरपश्चिम । चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित बजेटको आठ दशमलव चार प्रतिशत मात्र खर्च भएको छ ।

आर्थिक मामिला मन्त्रालयको प्रतिवेदनअनुसार चालु खर्चतर्फ विनियोजित रु १३ अर्ब ६३ करोड ५५ लाख ४२ हजार बजेटमध्ये मङ्सिरसम्म १६ दशमलव ५१ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ विनियोजित रु १९ अर्ब ८३ करोड पाँच लाख छ हजारमध्ये दुई दशमलव ८९ प्रतिशत मात्र खर्च भएको छ ।

यो अवधिमा सवारीसाधन करतर्फ रु २६ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा रु रु २५ करोड ९७ लाख नौ हजार सङ्कलन भएको थियो । घरजग्गा रजिस्ट्रेसन दस्तुर भने घटेको छ । यो शीर्षकमा गत वर्ष मङ्सिरसम्म रु १५ करोड १७ लाख ७० हजार सङ्कलन भएकामा चालु आवको सोही अवधिमा रु आठ करोड २० लाख सात हजार सङ्कलन भएको हो । मनोरञ्जन कर, विज्ञापन कर र प्राकृतिक स्रोतबाट प्राप्त आयमा समेत उतारचढाव देखिएको छ ।

अन्य सेवा शुल्क तथा बिक्री शीर्षकमा भने गत वर्ष मङ्सिरसम्मको रु चार करोड १२ लाख ५१ हजारबाट वृद्धि भई यो वर्षको सोही अवधिमा रु आठ करोड २३ लाख ५६ हजार पुगेको छ । प्रदेश सरकारले चालु आवमा राजस्व सङ्कलनको लक्ष्य रु एक अर्ब ६५ करोड राखेको छ । गत आव २०८१/८२ मा राजस्व सङ्कलनको लक्ष्य रु एक अर्ब ६० करोड सात लाख १५ हजार राखेको थियो ।

आव २०८१/८२ मङ्सिरसम्म रु ४८ करोड ७६ लाख २३ हजार सङ्कलन भएकामा चालु आवको सोही अवधिमा रु ४५ करोड २४ लाख ८४ हजार सङ्कलन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप