एमाले छाडेका बृजेश गुप्ता भन्छन्– विभिन्न दलहरूबाट अफर आएको छ, अझै कतै गएको छैन
सारांश
- बुटवलका बृजेश कुमार गुप्ताले नेकपा एमाले पार्टी परित्याग गरेपछि अन्य दलबाट प्रस्ताव आएको बताए।
- गुप्ताले जेनजी आन्दोलनमा सरकारको दमन र नेतृत्वको कार्यशैली मन नपरेपछि पार्टी छाडेको बताए।
- गुप्ताले २०५६ सालदेखि राजनीति सुरु गरेका थिए र उनी विभिन्न दलबाट सांसद बनेका थिए।
बुटवल । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवं कपिलवस्तुबाट चार पटक सङ्घीय सांसद जितेका नेता बृजेश कुमार गुप्ताले पार्टी परित्याग गरेपछि विभिन्न दलहरूबाट अफर आएको बताएका छन् । उनले एमाले छाडेपछि अन्य दलबाट प्रस्ताव आइरहे पनि आफू अझै कतै नलागेको रातोपाटीलाई बताए ।
कपिलवस्तुबाट ४ पटक सांसद जितेका बृजेशले जेनजी आन्दोलन भन्दा अगाडि नै एमालेको कार्यशैली मन नगरेपछि पार्टी त्यागेका थिए ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले युवा विद्यार्थीको सुशासन लगायतका जायज मागलाई नजर अन्दाज गरेर आन्दोलनमा दमन गरेको, दुई ठुला दल मिलेर जे गरे पनि हुन्छ भन्ने दम्भ देखाएको र एमाले नेतृत्व सुध्रिने लक्षण नदेखेपछि पार्टी परित्याग गरेको गुप्ताले बताएका छन् । उनले भने– 'म एमालेमा पहिलेदेखि सक्रिय छैन, अव नयाँ पार्टीमा जाने विषय छलफल चलिरहेको छ ।'
गुप्ता इन्जिनियरको स्थायी जागिर छाडेर २०५६ सालदेखि राजनीतिमा आएका थिए । सुरुमा राप्रपा, त्यसपछि तमलोपा र दुई पटक एमालेबाट सांसद जितेका थिए । पाँचौँ पटक २०७९ को चुनावमा भने भने काँग्रेस नेता सुरेन्द्रराज आचार्यसँग झिनो मतले पराजित भएका थिए ।
गुप्ताले २०५६ र २०७४ मा प्रतिनिधि सभा सदस्य तथा २०६४ र २०७० मा दुई पटक संविधान सभा सदस्यमा जितेका थिए । उनी एक पटक कानुन मन्त्री समेत भएका थिए ।
एमाले कपिलवस्तु नेता एवं लुम्बिनी प्रदे सभा सदस्य विष्णु पन्थीले गुप्ताले केन्द्रीय सदस्यबाट राजीनामा दिएको र पछिल्लो समय पार्टीका गतिविधिमा सक्रिय नभएको रातोपाटीलाई बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण