मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मन्त्री थापाद्वारा गड्डाचौकी र त्रिनगर सीमानाकाको स्थलगत अनुगमन

बिहीबार, २४ पुस २०८२, ०० : ५१
बिहीबार, २४ पुस २०८२

सारांश

  • मन्त्री थापाले गड्डाचौकी र त्रिनगर सीमानाकाको स्थलगत अनुगमन गरे।
  • उनले सीमा क्षेत्रमा यात्रु आवागमन सहज बनाउन प्रविधिमैत्री सुरक्षा प्रणालीको कुरा गरे।
  • एकीकृत भन्सार प्रणालीलाई सुदृढ बनाउन संघ र सुरक्षा निकायसँग समन्वय गरिने भयो।

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बुधबार कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर भन्सार नाकाको स्थलगत अनुगमन गरेका छन् ।

सीमानाकामा भारतीय पर्यटक तथा नेपाली नागरिकको आवागमन सहज बनाउन एकीकृत भन्सार जाँच प्रणालीलाई व्यवस्थित गर्ने उद्देश्यले मन्त्री थापालगायतको टोलीले अनुगमन गरेको हो ।

सीमानाकाबाट आवतजावत गर्ने भारतीय पर्यटक तथा नेपाली नागरिकको आवागमनलाई सहज, सुरक्षित र पारदर्शी बनाउने उद्देश्यले प्रदेश सरकारले प्रविधिमैत्री सुरक्षा प्रणालीमा जोड दिएको मन्त्री थापाले बताए । मन्त्री थापाले सीमामा यात्रुको विवरण अभिलेख, डिजिटल विश्लेषण र सुरक्षा व्यवस्थापनको अवस्थाबारे जानकारी लिएका थिए ।

एकीकृत भन्सार जाँच प्रणालीले भन्सार, अध्यागमन र सुरक्षा निकायबिच सूचनाको आदानप्रदानमा सहजता ल्याई अवैध आवागमन, तस्करी तथा सीमापार सुरक्षा जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास लिइएको मन्त्री थापाले उल्लेख गरे ।

अनुगमनका क्रममा मन्त्री थापाले भने, “सीमानाकाको व्यवस्थापनले प्रदेशको अर्थतन्त्र, पर्यटन र व्यापारमा प्रत्यक्ष प्रभाव पार्दछ, त्यसैले पर्यटक र नागरिकलाई घरदैलोमै आधुनिक र झन्झटमुक्त सेवा दिनु हाम्रो प्राथमिकता हो ।”

उनले सीमामा हुने अनावश्यक ढिलासुस्ती हटाउन र सूचना प्रविधिको उच्चतम प्रयोग गरी नागरिकमैत्री सेवा प्रवाह गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिए ।

“एकीकृत भन्सार जाँच प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक छ, यसका लागि देखिएका प्राविधिक तथा संरचनागत चुनौती समाधान गर्न प्रदेश सरकारले सङ्घीय सरकार र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्नेछ”, मन्त्री थापाले भने । मन्त्री थापालगायतको अनुगमन टोलीले नाकामा देखिएका व्यवस्थापकीय चुनौती पहिचान गर्दै तत्काल सुधारका पक्षमा पहल गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप