राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी दर्तासँगै रणनीति बनाउँदै गठबन्धन
सारांश
- लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि ८ जनाको उम्मेदवारी दर्ता भएको छ।
- कांग्रेस, एमाले र जसपाको संयुक्त गठबन्धनबाट ३ जना, नेकपाबाट ३ जना र राष्ट्रिय जनमोर्चाबाट २ जनाले उम्मेदवारी दिएका छन्।
- निर्वाचन माघ ११ गते हुने र फागुन २० गतेदेखि रिक्त हुने पदका लागि निर्वाचन आयोगले निर्वाचन गराउँदै छ।
बुटवल । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ८ जनाको उम्मेदवारी दर्ता भएको छ ।
यस निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) को संयुक्त गठबन्धनबाट ३ जना, नेकपाबाट ३ जना र राष्ट्रिय जनमोर्चाको तर्फबाट २ जनाले उम्मेदवारी दिएका छन् । सँगै उम्मेदवारहरू मतदाताहरूसँग भेटघाटको कार्यतालिकामा बनाउन लागिपरेका छन् ।
कांग्रेस, एमाले र जसपाको गठबन्धनबाट रामकुमारी झाँक्री, चन्द्र बहादुर केसी र बासुदेव घिमिरे ‘जंगली’ले उम्मेदवारी दिएका छन् । उक्त गठबन्धनका उम्मेदवारहरूले माघ २ गतेदेखि जिल्ला–जिल्ला पुगेर स्थानीय तहका जनप्रतिनिधिसँग भेटघाट गर्ने कार्यतालिका तय गरेका छन् ।
एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले रातोपाटीलाई बताएअनुसार माघ २ गतेदेखि प्रदेशका १२ वटै जिल्ला पुग्ने गरी कार्य तालिका तय भएको छ ।
यस क्रममा कांग्रेस, एमाले र जसपाका प्रतिनिधिहरू उम्मेदवारसँगै हिँड्नेछन् । नेपाली कांग्रेसबाट पार्टीका सहमहामन्त्री खगराज पाण्डे र दाङ जिल्ला सभापति शंकर डाँगीले अन्य दलसँग समन्वय गर्नेछन् भने एमालेले पनि उम्मेदवारसहित जनप्रतिनिधि नै खटाउने तयारी गरेको छ । जसपाबाट पनि केही नेताहरू खटिनेछन् ।
उक्त गठबन्धनले माघ २ गते रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाका जनप्रतिनिधिसँग भेटघाट गर्नेछ । माघ ३ गते बाँके जिल्लाको कोहलपुरमा भेटघाट गर्ने कार्यक्रम छ भने माघ ४ गते रोल्पा, रुकुम, प्युठान र दाङ जिल्लामा भेटघाट गर्नेछ । माघ ५ गते गुल्मी र अर्घाखाँची जिल्लाका स्थानीय तहका प्रमुख–उपप्रमुखलाई भेट्ने कार्यक्रम तय गरिएको छ ।
लुम्बिनी प्रदेशअन्तर्गत ३ सदस्य चयन गर्न नेकपाबाट अन्यतर्फ बृहस्पति अधिकारी, अपाङ्गतातर्फ सर्जन विक र महिलातर्फ दुर्गा भण्डारीको उम्मेदवारी दर्ता भएको छ ।
साबिक माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारहरूलाई सबै जिल्ला पुर्याउने र उम्मेदवारी दर्ता नगराएका दलहरू तथा दर्ता गराएका कांग्रेस–एमालेका मतदातासँग औपचारिक–अनौपचारिक रूपमा मत माग्ने योजना रहेको खुलाएका छन् । उनले अब छिट्टै प्रदेशस्तरीय एउटा टिम निर्माण गरेर उम्मेदवारलाई १२ जिल्ला पुर्याउने कार्यतालिका तयार गर्ने बताएका छन् ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चाको तर्फबाट पनि उम्मेदवारी दर्ता भएको छ । तीन सिटका लागि निर्वाचन हुनेमा यहाँ जनमोर्चाले २ वटा उम्मेदवार खडा गरेको छ ।
‘अन्य’ क्लस्टरमा बोमबहादुर खत्री र महिला क्लस्टरमा पद्मा पण्डितले उम्मेदवारी दिएका छन् । जनमोर्चा लुम्बिनी प्रदेश सभा सदस्य तारा जिसीले अन्यसँग गठबन्धन नगर्ने गरी आफूहरूले उम्मेदवारी दर्ता गराएको बताइन् । उनले पनि अब छिट्टै उम्मेदवारहरूको प्रचार प्रसार गर्ने तथा अन्य भेटघाट कार्यक्रम तय गर्ने योजना बन्दै गरेको जानकारी दिइन् ।
निर्वाचन आयोगले फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभा सदस्य पदका लागि यो निर्वाचन गराउँदै छ । यस प्रदेशमा एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई र राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, तथा अपाङ्गतातर्फ माओवादीका जगप्रसाद शर्माको पदावधि फागुन २० मा सकिँदै छ ।
प्रदेश सभा सदस्य र स्थानीय तहका अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख मतदाता रहने राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा प्रदेश सभा र स्थानीय तह गरी कुल ८७५३ मतभार रहेको छ । लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन् र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जनाको मतदाता रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण