सुत्केरीको मृत्युपछि सेती प्रादेशिक अस्पतालमा तनाव, आफन्तद्वारा शव बुझ्न अस्वीकार
सारांश
- सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएपछि विवाद भएको छ।
- मृतकका आफन्तले चिकित्सकको लापरबाहीको आरोप लगाउँदै छानबिन र क्षतिपूर्तिको माग गरेका छन्।
- अस्पताल र पीडित परिवारबीच सहमति नहुँदा शव उठ्न सकेको छैन।
धनगढी । सेती प्रादेशिक अस्पतालमा शल्यक्रिया मार्फत शिशुलाई जन्म दिएकी एक सुत्केरीको मृत्यु भएपछि विवाद उत्पन्न भएको छ । मृत्यु भएको तीन दिन बितिसक्दा पनि पीडित पक्ष र अस्पतालबिच सहमति नजुटेपछि मृतकको शव उठ्न सकेको छैन ।
गत बुधबार साँझ ५ बजे उपचारका क्रममा गोदावरी नगरपालिका–८ बस्ने ३३ वर्षीया राधिका नेपालीको मृत्यु भएको थियो । मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग राख्दै शव बुझ्न नमानेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार अस्पताल प्रशासन र पीडित परिवारबिच पटक–पटक छलफल भए पनि कुनै निष्कर्ष निस्किएको छैन। अहिले मृतकको शव अस्पतालकै शव गृहमा राखिएको छ।
मृतक नेपालीले गत २३ गते दिउँसो शल्यक्रियामार्फत छोरीलाई जन्म दिएकी थिइन्। सुत्केरी भए लगत्तै उनको स्वास्थ्यमा जटिलता देखिएको र सोही साँझ उनको मृत्यु भएको बताइएको छ। आमाको मृत्यु भए पनि नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण