नेपाल जोलोजिकल सोसाइटीको अध्यक्षमा डा. शर्मा निर्वाचित
बुटवल । नेपाल जोलोजिकल सोसाइटीको केन्द्रीय अध्यक्षमा डा. हरिप्रसाद शर्मा निर्वाचित भएका छन् । जोलोजीको दोस्रो राष्ट्रिय सम्मेलनका अवसरमा बुटवलमा आइतबार सम्पन्न १३औँ साधारणसभाले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
जोलोजिकल सोसाइटी प्राणीशास्त्रमा स्नातकोत्तरदेखि विद्यावारिधि गरेका प्राज्ञिकहरूको साझा संस्था हो ।
सोसाइटीको उपाध्यक्षमा राजेन्द्र सुवाल, महासचिवमा डा. विष्णुप्रसाद भट्टराई, सचिवमा बाबुराम बन्जाडे र कोषाध्यक्षमा डा. पूजा जैसवाल निर्वाचित भएकी छन् ।
यस्तै, कार्यसमिति सदस्यहरूमा डा. रमा मिश्र, डा. दीपक गुप्ता, माया उपाध्याय, शालिकराम अधिकारी, डा. जगन्नाथ अधिकारी, डा. राजेन्द्र बस्यौला, गंगा शाह, चेतराज भट्ट र कमलकुमार शर्मा निर्वाचित भएका सचिव बाबुराम बन्जाडेले जानकारी दिए । नयाँ नेतृत्वको कार्यकाल दुई वर्षको रहनेछ ।
नव निर्वाचित अध्यक्ष डा. शर्माले सरकारी निकायहरूमा जोलोजिस्टहरूको नियुक्ति र सहभागिता न्यून रहेकाले त्यसलाई बढाउन नीतिगत पहल गर्ने बताए । साथै, प्रदेशस्तरमा जैविक विविधता, माछादेखि हात्तीसम्मका प्रजातिका प्राणीको तथ्यांक संकलन र अनुसन्धान गर्ने तथा बाँदरलगायत कतिपय वन्यजन्तुका कारण बालीनालीमा हुने क्षतिका विषयमा लगानी गर्न सरकारलाई सुझाव दिने उनको भनाइ छ ।
दुईदिने राष्ट्रिय सम्मेलनमा डा. कुमार सापकोटा, डा. चन्द्रमणि शर्मा, डा. पुष्पराज आचार्य, लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्का कार्यकारी प्रमुख रामु जोशीलगायतले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण