मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला आयोजना हुने

सोमबार, २८ पुस २०८२, २२ : २२
सोमबार, २८ पुस २०८२

कैलाली । यहाँको प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला २०८२ आयोजना हुने भएको छ । देवभूमि प्रवेशद्वारका रूपमा परिचित गोदावरी नगरपालिका-४ स्थित धाममा बुधबार लघुकुम्भका रूपमा आयोजना हुँदै आएको बाह्रराशि दर्शन मकर मेला आयोजना हुने गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

मकर मेलाको बुधबार दिउँसो १ः०० बजे धार्मिक विधि–विधानअनुसार विशेष पूजाआजासहित मेला शुभारम्भ गरिने उनले जानकारी दिए । माघ १२ गतेसम्म सञ्चालन हुने मेलामा पाँचवटा पुराण वाचन, ग्रह शान्ति, लक्षहवन, योग–ध्यान, भजनकीर्तन तथा धार्मिक प्रवचनजस्ता विविध धार्मिक कार्यक्रमहरू आयोजना गरिने अध्यक्ष जोशीले बताए ।

मेलाको शुभारम्भ कार्यक्रममा सन्त–महन्त, आचार्य, धार्मिक, सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूका साथै श्रद्धालुहरूको सहभागिता रहने उनले बताए ।

धार्मिक अनुष्ठान अवधिभर देशभरका श्रद्धालु, विभिन्न सामाजिक र धार्मिक सङ्घ संस्थाको सहभागिताका लागि निम्ता तथा आवश्यक प्रचार प्रसार भइरहेको विकास समितिले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप