मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा साविक माओवादीका आधा दर्जन सिनियर नेताहरू टिकटविहीन

सोमबार, ०५ माघ २०८२, १३ : १४
सोमबार, ०५ माघ २०८२

बुटवल । लुम्बिनी प्रदेशमा साविक नेकपा (माओवादी केन्द्र) बाट टिकट नपाउने नेताहरू ६ जना नेताहरू छन् । पटक–पटक निर्वाचन जितेका, मन्त्री बनेका र पार्टीको उच्च तहमा पुगेका उनीहरू यसपटक उम्मेदवार बन्न वञ्चित भएका छन् । 

यसपटक निर्वाचनको मैदानमा उत्रन नपाउने पूर्वमन्त्री रेखा शर्मा, माओवादीका पूर्वकेन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज चन्द्रप्रकाश खनाल 'बलदेव', पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी प्रदेश सभाका पूर्व सभामुख पूर्णबहादुर घर्ती, यस्तै माओवादी नेता कृष्णबहादुर महरा लगायतका नेताहरू हुन् । 

रेखा शर्माले २०७९ सालको निर्वाचनमा दाङमा एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी थिइन् र त्यसपछि सञ्चारमन्त्री बनेकी थिइन् । माओवादी नेता बलदेव कपिलवस्तुबाट पटक–पटक निर्वाचन लड्दा कहिले हार्ने कहिले जित्ने गरेका थिए । उनी प्रचण्ड प्रधानमन्त्री हुँदा कृषि मन्त्रीसमेत बनेका नेता हुन् । 

रोल्पाकी ओनसरी घर्ती पछिल्लो समय काठमाडौँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्दा पराजित भएकी थिइन् । उनी २०७२ देखि २०७४ सालसम्म सभामुख भएकी थिइन् । यसपटक भने उनले कतैबाट पनि टिकट पाएकी छैनन् । 

यस्तै कुनै बेला रोल्पा र दाङबाट निर्वाचन जितेका, विवादास्पद छविका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा यसपटक निर्वाचनमा गुमनामजस्तै छन् । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले दाङबाट लड्ने इच्छा राखे पनि टिकट पाउन सकेका छैनन् । रुकुम पूर्वबाट पहिलो प्रदेश सभामा सदस्य जितेर लुम्बिनी प्रदेश सभामुख बनेका पूर्णबहादुर घर्ती यसपटक निर्वाचनमा सहभागी छैनन् । उनले २०७९ सालमा प्रतिनिधि सभाको सदस्यमा पनि विजय हासिल गरेका थिए । 

यस्तै रुकुम पूर्वका जिल्ला नेता तथा पूर्वमन्त्री गणेशमान पुनले पनि यसपटक टिकट पाउन सकेनन् । लुम्बिनी प्रदेशमा सबैभन्दा बलियो आधार क्षेत्र मानिने रुकुम पूर्वमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र रोल्पामा नेता वर्षमान पुनको उम्मेदवारी परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप