बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

छानबिन समिति गठनपछि खुल्याे अवरुद्ध सडक

मङ्गलबार, १३ माघ २०८२, १९ : ३१
मङ्गलबार, १३ माघ २०८२

सिरहा। सिरहामा १६ वर्षीया एक किशोरीको शव अस्पतालको शवगृहबाट हराएको घटनामा छानबिन समिति गठन भएपछि करिब ५ घण्टादेखि अवरुद्ध सडक खुलेको छ।

आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजारमा गरेको अवरोधपछि इलाका प्रशासन कार्यालय लहानका प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो।

वडाध्यक्ष धनप्रसाद लामाका अनुसार घटनाको निष्पक्ष र प्रभावकारी छानबिनका लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र शवगृहको जिम्मेवारीमा रहेका कर्मचारीलाई हटाउने सहमति भएको छ।

माघ १० गते रमेश वानियाँकी १६ वर्षीया छोरी निशा आफ्नै घरको कोठाभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

इलाका प्रहरी कार्यालय गोलबजारले आवश्यक मुचुल्का गरी सोही दिन पोस्टमार्टमका लागि रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहान पठाएको थियो। शनिबार नै शव अस्पताल पुगे पनि भारतमा रहेका उनका बुबाआमा सोमबार मात्र आएका थिए। पोस्टमार्टमका लागि अस्पताल पुग्दा उनीहरूले निशाको शव भेट्टाएनन्।

सोही दिन सप्तरीको खडक नगरपालिका–१, करर्बोना निवासी १६ वर्षीया राधिका साहको शव पनि पोस्टमार्टमका लागि सोही अस्पतालमा ल्याइएको थियो।

अस्पतालका अनुसार पोस्टमार्टमपछि एउटा शव बाहिर निकालिएको थियो, जसलाई राधिकाका आफन्तले आफ्नो ठानेर बुझेर लगेका थिए। तर, पछि अस्पतालले उक्त शव राधिकाको नभई निशाको भएको स्वीकार गरेको छ।

निशाका आफन्त भने यस विषयलाई मान्न तयार छैनन्। उनीहरूले शव हराउनुलाई रहस्यमय भएको बताएका छन्। 

पूर्वमन्त्री लीलानाथ श्रेष्ठले पनि घटना आशंकापूर्ण भएकोले यसको उचित छानबिन हुनुपर्नेमा जोड दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप