मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

डाक्टर शेखरलाई भारी मतले हराउने रुबिना को हुन् ?

शनिबार, २३ फागुन २०८२, ०८ : २७
शनिबार, २३ फागुन २०८२

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी रुबिना आचार्य भारी मतले विजयी भइन् । उनको प्रतिस्पर्धी थिए काँग्रेसका नेता डाक्टर शेखर कोइराला । जित निकाल्ने दाबी गरिरहेका काँग्रेसीजनका लागि अन्तिम परिणामसम्म आइपुग्दा भने अवस्था सहज थिएन । किनकि आचार्यसँग कोइरालाको हार सामान्य थिएन । 

आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्दा कोइरालाले मात्र १२ हजार ८५० मत प्राप्त गरे । आचार्य र कोइरालाबिचको मतान्तर ४२ हजार ६६३ रहेको छ । यस क्षेत्रमा अन्य उम्मेदवारले १० हजार मत कटाउन सकेनन् । यो क्षेत्रबाट २०७९ सालको निर्वाचनमा डाक्टर शेखर कोइराला विजयी बनेका थिए । 

को हुन् रुबिना ?

विराटनगर–४, आयल निगममा २०५२ साल माघ १० गते जन्मिएकी आचार्यले उच्च शिक्षा काठमाडौँबाट हासिल गरेकी हुन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कलेजबाट बीबीए र काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबाट एमबीए पूरा गरेकी छन् । उनले आफ्नो प्रारम्भिक शिक्षा विराटनगरकै इडेन नेशनल र मेरील्यान्ड कलेजबाट प्राप्त गरेकी थिइन् ।

रुबिना आचार्यको राजनीतिक यात्रा २०७४ सालको संघीय निर्वाचनबाट सुरु भएको हो । तत्कालीन विवेकशील साझा पार्टीमार्फत काठमाडौँ क्षेत्र नं. २ मा चुनावी रणनीति निर्माण र स्वयंसेवक परिचालनमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

विवेकशील साझा युवा संगठनको बागमती प्रदेश समितिमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी आचार्य पछि सोही पार्टीको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझाबीचको एकीकरणपछि  उनी रास्वपाको युवा नेतृको रूपमा मोरङमा निर्वाचन लड्न आइपुगेकी थिइन् । 

विगत एक दशकदेखि सामाजिक कार्यमा सक्रिय आचार्यले डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियान, कोरोना महामारीका बेला सञ्चालित ‘तातो भात अभियान’, र महिला हिंसा विरुद्धका पहलहरूमा नेतृत्वदायी भूमिका खेलेकी छन् । उनले मुख्य गरी महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरण, नेतृत्व विकास, र लैंगिक समानतालाई आफ्नो मुख्य मुद्दा बनाएको बताउँछिन् ।

नागरिक अधिकार र समावेशीताको पक्षमा निरन्तर आवाज उठाउँदै आएकी आचार्यले आगामी दिनमा दिगो सामाजिक विकास र परिवर्तनका लागि आफू प्रतिबद्ध रहेको बताएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप