मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
कथा

अभिमान

शनिबार, ३० फागुन २०८२, ०७ : ००
शनिबार, ३० फागुन २०८२

सारांश

  • लेखकले हिब्रुवान् नामक व्यक्तिसँगको सम्बन्ध तोड्ने निर्णय लिएकी छिन्, जसले उनलाई झुट बोलेको र धोका दिएको आरोप लगाएकी छिन्।
  • लेखकले हिब्रुवान्को व्यवहार र झुटको कारण आफू निराश भएको र अब उसलाई विश्वास गर्न नसक्ने बताएकी छिन्।
  • लेखकले हिब्रुवान्लाई भेट्न नआउन र आफूलाई सम्मान गर्ने व्यक्तिको खोजीमा रहेको कुरा उल्लेख गरेकी छिन्।

प्रिय हिब्रुवान्,

तिमीलाई 'प्रिय' किन भनेँ ! भन्ने लागेको होला ।

तिमीसँग मेरो सम्बन्ध जेसुकै र जस्तोसुकै होस्, तिम्रा केही विशेषताका कारण तिमी मलाई सधैँ प्रिय हुनेछौ ।

आज साइबरको यस युगमा आइपुगेर पनि तिमीलाई पत्र लेख्दै छु । यो पत्र पाउँदा तिमीलाई अचम्म पनि लाग्ला ।

अचम्म मान्नु पर्दैन हिब्रुवान् ।

म तिमीलाई यो भन्न पत्र लेख्दै छु कि आजका दिनबाट हिजोसम्मका हाम्रा सारा सम्बन्धलाई तोड्ने निर्णयमा पुगेकी छु, म ।

म यो निर्णयमा किन पुगेँ भन्ने कुरा पक्कै बुझ्यौ होला । तर मलाई थाहा छ तिमीसँग सम्बन्धविच्छेदका लागि तिमीसँगका असन्तुष्टिका जुन कारणहरू म भन्दै छु, त्यो तिमीसँग प्रत्यक्ष भेटेर भनेको भए तिमी त्यसलाई कदापि स्वीकार गर्ने थिएनौ ।

तिमीले मसँगका सम्बन्धका विषयमा बनाएका बहानाका निम्ति बोलिरहेका झुटहरू दोहोरिन थाले । तिमीले ख्याल गरेनौ होला तर म कसरी बिर्सन सक्थेँ र ?

मैले तिमीलाई धेरैपटक भन्ने प्रयास पनि गरेकी हुँ । प्रत्यक्ष भेटमा र फोनमा पनि । तिमीले मेरो कुरा कहिल्यै सुन्ने र स्वीकार गर्ने प्रयास गरेनौ । तिमी अनेक बहाना बनाएर मैले व्यक्त गरेका असन्तुष्टिहरूको खण्डन गर्ने वा त्यसो हुनुको कारण प्रस्तुत गरेर आफूलाई निर्दोष वा त्यसो गर्न बाध्य भएको बहाना बनाइरह्यौ ।

थाहा छ हिब्रुवान् ! सुरुसुरुमा मैले पत्याएँ पनि । मलाई लाग्यो तिमी बडो अप्ठेरोमा छौ । म आफ्नो प्रियलाई कसरी अप्ठेरोमा पार्न सक्थेँ ! अनि तिमीले एकपछि अर्को बहाना बनाउँदै जान थाल्यौ । कहिले आफ्ना अप्ठ्याराका कुरा गर्‍यौ, कहिले मेरै हितका निम्ति तिमीले त्यसो गर्नुपरेको कारण देखाएर बहाना बनायौ । तर हिब्रुवान् मैले कहिलेसम्म तिमीलाई पत्याउने ! भन त कहिलेसम्म पत्याइबस्ने !

तिमीले मसँगका सम्बन्धका विषयमा बनाएका बहानाका निम्ति बोलिरहेका झुटहरू दोहोरिन थाले । तिमीले ख्याल गरेनौ होला तर म कसरी बिर्सन सक्थेँ र ? जब दोहोरिन थाले तिम्रा बहानाहरू अनि मलाई तिमीमाथि विश्वास लाग्न छाड्यो । थाहा छ हिब्रुवान् ! त्यति हुँदा पनि मैले तिमीलाई पत्याइदिए जस्तो गरिरहेँ । मलाई लाग्यो कुनै दिन त तिमीलाई झुट बोल्ने बहाना पनि सकिएला वा मेरो सहनशीलतामाथि सहानुभूति पलाउला ! त्यस दिन त तिमी कसो मेरो नहौला !

म गलत रहेछु हिब्रुवान्, म गलत रहेछु । सधैँ प्रतिकूलतामा पनि अनुकूलताको आश गर्नु मेरो कमजोरी रहेछ, गल्ती रहेछ ।

हो हिब्रुवान् ! जुन दिन मैले राम्रोसँग बुझेँ कि मेरो सहनशीलतालाई तिमीले मेरो कमजोरी ठानेका छौ र निश्चिन्त बनेका छौ; हो त्यही पल मैले निर्णय गरेँ; जीवनमा तिमीमाथि विश्वास गरेर मैले आजसम्म जेजति र जेजस्ता गल्ती गरेँ ती अब गर्दिनँ ।

अनि मैले तिमीलाई फोन गरेँ । तर तिमीले अझै पनि मलाई झुट बोलेर विश्वासमा पार्न सक्छु भन्ने आत्मविश्वास गुमाएका रहेनछौ । मिति नै तोकेर तिमीले जब भन्यौ "साम्भवी ! म तिम्रो आक्रोश र आवेशलाई बुझ्न सक्छु । तर मैले तिम्रै राम्रोका निम्ति यतिका दिन तिमीलाई कुराएँ । तिमी त बुझ्ने मान्छे । आवेशमा नआऊ साम्भवी, यसरी मलाई नधम्क्याऊ । यसले न तिमीलाई हित गर्छ, न मलाई । न यसले हाम्रो सम्बन्धलाई हित गर्छ ।"

तिमी कति मीठा कुरा गर्छौ हिब्रुवान् ! पहिलो पटक, एक पटकका लागि त जोसुकैलाई तिमी प्रभावित पार्न सक्छौ, ओहो !

थाहा छ हिब्रुवान् ! तिमीले एकोहोरो लामो समयसम्म बोलिरह्यौ र मलाई आफ्ना कुरामा पत्यार पार्ने प्रयत्न गरिरह्यौ । तिमीलाई लाग्यो होला मैले तिम्रा कुरा पत्याइरहेकी छु । तर हिब्रुवान्, मैले यसपटक तिम्रा कुरा एक रत्ती पत्याइनँ । मलाई हाँसो लागिरहेको थियो तिम्रा कुरा सुनेर । तिमीले ढाँट्न नसकेको, नजानेको देखेर तिमीमाथि टीठ पनि लागिरहेको थियो र पनि मैले सुनिरहेँ । यस अर्थमा सुनिरहेँ कि, सुनौँ तिमी कतिसम्म ढाँट्न सक्ने कलाकार रहेछौ ! हो तिमी कुरा बनाउन सक्ने, ढाँट्न सक्ने कलाकार हौ हिब्रुवान् तर तिम्रो क्षमताका पनि सीमा छन्, सीमा रहेछन् । किनकि तिमी अब मलाई पटक्कै ढाँट्न नसक्ने भएका छौ । तिमीले त्यति मात्र भनेनौ हिब्रुवान्, तिमीले अगाडि भन्यौ— "साम्भवी अहिले समय खराब छ । अनुकूल समय आउन देऊ । सधैँ समय यस्तै रहँदैन । समय फेरिन्छ । मान्छेहरू आत्तिन्छन् यस्तो समयमा, तर धैर्य गर्न सक्नुपर्छ । धैर्य गर्नेहरूले नै जीवनको बाजी जितेका छन् । आत्तिनेहरूले हार्नुपरेको छ । रामको वनवासको इतिहास हेर, पाण्डवहरूको वनवास र गुप्तवासको धैर्य हेर । आज उनीहरूको इतिहास कति सुनौला अक्षरले लेखिएको छ । के तिमी चाहन्नौ कि तिम्रो जीवनको इतिहास, हाम्रो जीवनको इतिहास सुनौला अक्षरले लेखियोस् ?"

तिमी कति मीठा कुरा गर्छौ हिब्रुवान् ! पहिलो पटक, एक पटकका लागि त जोसुकैलाई तिमी प्रभावित पार्न सक्छौ, ओहो ! भन्ने पार्न सक्छौ तर जबजब तिमी बहानामाथि बहाना बनाउन थाल्छौ, झुटमाथि झुट बोल्न थाल्छौ अनि तिम्रा महान् कुरा तासको महल बनेर धराशायी हुन्छन् ।

कति दिन ? कति जनासँग यसरी ढाँटेर तिम्रो जीवन निर्वाह हुन्छ हिब्रुवान् ! मलाई त लाग्छ मसँग जस्तो झुटको खेती तिमीले कहाँकहाँ को-कोसँग गरेका छौ होला ? मलाई सम्झँदा पनि घृणा लाग्छ हिब्रुवान् । घृणा गर्दागर्दै पनि त म तिमीलाई बिर्सन सक्दिनँ, तिमीलाई वास्तै नगरी चटक्क छोड्न सक्दिनँ । त्यसैले यो पत्र लेख्दै छु । तिमीलाई लाग्दो हो हिब्रुवान् कि यी र यति कुरा त फोनमै भनेको भए पनि त हुन्थ्यो । मलाई थाहा छ हिब्रुवान् मैले यी कुरा तिमीलाई भेटेर गरेको भए पनि हुन्थ्यो र फोनमा गरेको भए पनि । मलाई थाहा छ मैले भेट्न बोलाएको भए तिमी जतिबेला जहाँ पनि आउँथ्यौ, जति बेला फोन गरेको भए पनि उठाउँथ्यौ ।

यही त तिम्रो एउटा राम्रो बानी छ हिब्रुवान् । जसका कारण म तिमीलाई चाहेर पनि भुल्न सक्दिनँ । म तिमीसँग झगडा गर्छु । केही दिन तिमीलाई म वास्ता नै गर्दिनँ । मलाई लाग्छ मेरो यस व्यवहारका कारण तिमी रिसाएका छौ होला । मैले गरेको फोन रिसिभ गर्दैनौ होला । म डराइडराई तिमीलाई फोन गर्छु । तिमी त झन् बढी मायालु पाराले बोल्छौ, फोन उठाएर । हो हिब्रुवान् मैले तिमीलाई यतिका समयसम्म छोड्न नसकेको, चाहेर पनि तिरस्कार गर्न नसकेको मूल कारण यही हो । अन्यथा मैले तिमीलाई धेरै अघि छोडिसकेकी हुने थिएँ ।

अँ साँच्चै हिब्रुवान्, म भन्दै थिएँ कि मैले तिमीलाई नभेटेर यो पत्र किन लेख्दै छु । थाहा छ हिब्रुवान् पछिल्लो समयमा जबजब म तिमीलाई भेट्ने गर्छु, त्यतिबेला कठोर मन बनाएर तिमीसामु आएकी हुन्छु । सोचेकी हुन्छु आज त स्पष्ट भनिदिन्छु कि यस्तै पारा हो भने आजबाट तिमी आफ्नो बाटो लाग म आफ्नो बाटो लाग्छु । तर हिब्रुवान् जब म तिमीसँग कुरा गर्न थाल्छु, तिमी मेरा कुरा सुन्न छाडेर आफ्नै मात्र कुरा गर्छौ, आफ्नै समस्या ठुला बनाउँछौ र भन्छौ, "अझ केही समय पर्ख साम्भवी, अझ केही समय धैर्य गर ।"

हिब्रुवान् मलाई तिम्रो यस अभिव्यक्तिप्रति पटक्कै विश्वास छैन । मलाई विश्वास छैन कि तिमी केही दिनभित्रमा केही गरिहालौला ।

अनि हाम्रा कुरा टुङ्गिन्छन् । म मनको आवेशलाई जस्ताको तस्तै बोकेर फर्कन्छु । अस्तिको पटक त मैले मनलाई कठोर तुल्याएरै तिमीलाई भन्नु नभन्नु भनेँ । मैले त्यसरी कठोर किन हुनुपर्‍यो थाहा छ हिब्रुवान् ? किनकि म चाहन्थेँ मेरो कुरा सुनेर, मेरो शैली देखेर तिमीले बाध्य भएर भन्नुपरोस्, "हुन्छ जा । जे गर्ने गर् । आजबाट तेरो र मेरो कुनै सम्बन्ध छैन ।"

तर तिमीले त्यसो कहाँ भन्यौ र हिब्रुवान् । तिमीले त भन्यौ, "साम्भवी ! तिम्रो र मेरो उज्ज्वल भविष्यको तयारी अन्तिम चरणमा पुग्यो । यस चरणमा आएर तिमीले र मैले हाम्रो प्रेमका निम्ति गरेको योगदान व्यर्थ नपार । मेरो बिन्ती छ अब केही दिन पर्ख ।"

हिब्रुवान् मलाई तिम्रो यस अभिव्यक्तिप्रति पटक्कै विश्वास छैन । मलाई विश्वास छैन कि तिमी केही दिनभित्रमा केही गरिहालौला । हो, बरु अब तिमी त्यसपछि के भनेर मलाई ढाँट्ने, के भनेर झुक्याउने, के भनेर फकाउने भन्ने नयाँ युक्तिको खोजीमा हुनेछौ । मैले भनेकी पनि हुँ कि, "तिमी त्यसबेला अर्को बहाना गर्छौ ।" तर तिमीले त्यसो नहुने र यस बीचमा मैले चाहेजस्तो हुने कुरामा मलाई निश्चिन्त तुल्याउने प्रयत्न गरिरह्यौ । मैले तिमीलाई विश्वास गरेर होइन हिब्रुवान्, बस् यही सम्झिएर कि यतिका वर्ष तिमीलाई पर्खेर बसेँ भने अब अन्तिमपटक केही दिन किन नपर्खने ! तिमीलाई यो भन्ने मौका किन दिने कि, "साम्भवीले आवेशमा निर्णय गरी र हाम्रो सम्बन्धलाई ध्वस्त पारेर गई ।"

हिब्रुवान् तिमीले आजका दिनबाट मलाई भेट्ने प्रयास नगर्नु, सम्झाउने र फकाउने प्रयास पनि नगर्नु ।

तिमीलाई लागेको होला तिम्रा लागि मैले ग्रेसानलाई छोडेर पछुताइरहेकी छु । तिमी यति कुरामा निश्चिन्त बन हिब्रुवान् कि म आफ्ना विगतका निर्णयबाट रत्तीभर पछुताएकी छैन । तिमी मेरो जीवनमा नआएको भए पनि म ग्रेसानसँग बस्ने थिइनँ, बस्न सक्ने थिइनँ । म अभिमानी नारी हुँ हिब्रुवान् । अनि त्यस्ता व्यक्तिसँग म कसरी बस्न सक्थेँ र ! आज जब म तिमीलाई सम्बन्धविच्छेदका निम्ति यो पत्र लेख्दै छु, तब पनि यति चाहिँ निश्चिन्त भएर भन्छु कि, तिमी आज पनि मेरा निम्ति ग्रेसानका तुलनामा श्रेष्ठ छौ । किनकि झुटो नै बोले पनि, धोका नै दिए पनि आफूलाई बेवास्ता गर्ने पुरुषभन्दा वास्ता गर्ने पुरुष मेरा लागि श्रेष्ठ छ ।

सम्झ हिब्रुवान् पहिलोपटक हाम्रो भेट कहाँ र कसरी भएको थियो । म कलेजको आम्दानी शाखामा एडमिसनका लागि लाइनमा थिएँ । तिमी हेल्प डेस्कमा बसेर अरु कसैको फारम भर्न हेल्प गरिरहेका थियौ ।

आज तिमीलाई यो पत्र लेख्दै गर्दा तिमीसँगको पहिलो भेटदेखिका सारा घटनाहरू मेरा आँखाअगाडि चलचित्रको रिलझैँ घुमिरहेको छ हिब्रुवान् । तर त्यसले कहीँनिर पनि अब मैले तिमीलाई पर्खनुपर्ने र विश्वास गर्नुपर्ने कारण देखिँदैन ।

तिमीले त बिर्स्यौ होला हिब्रुवान् । किनकि ढाँट्नका निम्ति थोरै थोरै विगतलाई बिर्सनु पनि पर्छ । तिमीले नबिर्सेकै भए पनि बिर्सेजस्तो त पक्कै गर्छौ । सम्झ, आज म तिमीलाई सम्झाउँछु ।

सम्झ हिब्रुवान् पहिलोपटक हाम्रो भेट कहाँ र कसरी भएको थियो । म कलेजको आम्दानी शाखामा एडमिसनका लागि लाइनमा थिएँ । तिमी हेल्प डेस्कमा बसेर अरु कसैको फारम भर्न हेल्प गरिरहेका थियौ । म लाइनमा उभिएर तिमीलाई नै हेरिरहेकी थिएँ । त्यत्तिकैमा तिमीले लाइनमा नजर डुलायौ र हाम्रा आँखा जुधेका थिए । सायद त्यतिबेला तिमीलाई हेरेर म मुस्कुराइदिएकी थिएँ । सायद तिमी हाँसेनौ र पुनः आफ्नै काममा लाग्यौ । मैले फारम बुझाएँ । कर्मचारीले डकुमेन्ट नपुगेको भन्दै हेल्प डेस्कमा जान भने । म तिमीसामु गएँ । तिमीले मेरा सारा डकुमेन्ट मिलाइदियौ र फारममा नमिलेका कुराहरू पनि मिलाइदियौ । मलाई तिमीबाट त्यति विघ्न सहयोगको अपेक्षा थिएन र पनि तिमी त आफैँ गएर मेरो फारम बुझाइदियौ । हो, तिम्रो त्यही सहयोगबाट म तिमीप्रति प्रभावित भएँ । मैले चिया खाने प्रस्ताव राखेँ । तिमीले हेल्प डेस्कमा अरु कसैलाई राखेर मसँगै चिया खान गयौ क्यान्टिनमा । मलाई साँच्चिकै राम्रो लाग्यो ।

हामी क्रमशः नजिक हुँदै गयौँ । हरेक दिन क्याम्पसमा हाम्रो भेट हुन थाल्यो । फ्रेन्ड, क्लोज फ्रेन्ड हुँदै मलाई लाग्यो हामी प्रेमी-प्रेमिकामा परिणत हुन थाल्यौँ ।

मैले एक दिन तिमीलाई भनेँ, "हिब्रुवान् घरमा मेरो बिहेको कुरा चल्न थालेको छ ।"

तिमीले तत्काल भन्यौ, "साम्भवी ! मलाई पातलो स्लिम फिगर भएकी केटी मन पर्छ । तिमी मेरा लागि दस केजी वेट घटाउन सक्छ्यौ ?"

मलाई तिमीबाट त्यस्तो प्रतिक्रियाको अपेक्षा थिएन हिब्रुवान् । थाहा छ, आजसम्म जुनसुकै प्रसङ्गमा भए पनि मेरो सुन्दरता र फिगरलाई लिएर कसैले दोष लगाएको थिएन । तिमीले पनि त मन परेरै होला मेरो नजिक भयौ, ब्वाइफ्रेन्ड बन्यौ । अनि बिहेको कुरा आउँदा तिमीलाई म मोटो भएँ ! मैले दस केजी वेट घटाउनुपर्ने ! म के भन्न सक्थेँ र हिब्रुवान् । म तिमीलाई सोचेर जवाफ दिन्छु भनेँ र हिँडेँ ।

दुई दिनपछि मेरो घरबाट फोन आयो । कारण के थियो मैले सोधिनँ । घर बोलाइएको थियो । यसै पनि तिम्रा अभिव्यक्तिका कारण मेरो मन अस्थिर थियो । केही दिन गाउँतिर भुल्ने मनस्थिति बनाएर घर गएँ ।

घरमा मेरो बिहेको कुरो चलेको रहेछ । त्यही प्रयोजनका निम्ति बोलाइएको रहेछ । मैले हुन्छ, हुन्न केही पनि भनिनँ । नभन्नुको मूल कारण मेरो मानसिक अस्थिरता हो र मेरो मानसिक अस्थिरताको कारण तिमी हौ हिब्रुवान् ।

सुन्यौ हिब्रुवान् ! तिमीले दोष लगाएको मेरो फिगरलाई उसले त्यसरी प्रशंसा गर्‍यो । मैले भनेका सबै कुरा र सर्त मान्न ऊ राजी भयो । मैले उसबारे सोधेँ ।

मेरो मौनतालाई घरकाले स्वीकृतिको अर्थ लगाए हिब्रुवान् । भने, "छोरी मान्छेले हुन्छ त कहाँ भन्छन् र ! नबोल्नु भनेकै हुन्छ भन्नु हो ।"

मलाई हेर्न केटा आयो । मेरो त मनभरि तिमी थियौ । त्यसैले सोचेँ जब ऊ आउने छ, म यति धेरै सर्तहरू राख्नेछु कि ऊ स्वतः आफैँ तिरस्कार गरेर जानेछ । अनि त म पुनः बजार फर्केर डाइटिङ सुरु गर्छु र तिमीले चाहेजस्तै बन्ने छु ।

तर मैले सोचेजस्तो भएन हिब्रुवान् । देख्दै मायालाग्दो सुन्दर हृष्टपुष्ट युवक आयो मेरो हात माग्न । उसका आँखामा हेर्दै थाहा हुन्थ्यो ऊ मलाई पूर्ण श्रद्धाका साथ हेरिरहेको छ । उसलाई देख्दै माया लाग्यो । र जब कुराकानीको बेला आयो मैले भनेँ, "म मोटी छु । तपाईंलाई मन नपर्ला ।"

उसले भन्यो, "कसले भन्यो तिमी मोटी छौ ! यति राम्रो फिगर छ तिम्रो ।"

सुन्यौ हिब्रुवान् ! तिमीले दोष लगाएको मेरो फिगरलाई उसले त्यसरी प्रशंसा गर्‍यो । मैले भनेका सबै कुरा र सर्त मान्न ऊ राजी भयो । मैले उसबारे सोधेँ । ऊ पनि तिमीजस्तै विद्यार्थी राजनीति गर्दो रहेछ । जब उसका कुरा मन पर्दै गए मलाई तिमीले राखेको सर्तका कारण उसैलाई स्वीकार गर्न मन लाग्यो ।

मैले उसलाई स्वीकार गरेँ । हाम्रो बिहे तय भयो । मलाई एकपटक तिमीलाई फोन गर्न मन लाग्यो । फोन गरेर भनेँ, "हिब्रुवान्, तिमीले मलाई मोटी भनेर दोषारोपण गर्‍यौ । थाहा छ त्यही मेरो फिगरलाई कसैले प्रशंसा गर्‍यो । मैले उसैलाई बिहे गर्ने भएँ ।"

तिमी फोनमै मसँग रिसायौ र भन्यौ, "साम्भवी तिमीले मलाई बुझिनौ, बुझ्ने प्रयास गरिनौ । तिमीलाई बधाइ छ ।"

मैले बल्ल थाहा पाएँ तिमी मलाई कति माया गर्दा रहेछौ भन्ने । तर अचम्म लाग्छ र पनि मेरो फिगरमा दोष लगायौ तिमीले !

मेरो बिहे भयो । केही समय ग्रेसानसँग बिताएपछि उनी आफ्नो कार्यक्षेत्रमा फर्किए । म कलेज फर्किएँ ।

ग्रेसानले मलाई कहिल्यै फोन गरेनन् । म नै उनलाई फोन गरिरहन्थेँ । पछिपछि त उनी, "बिनाकाम फोन नगर्ने गर" भनेर झर्किन थाले । बिस्तारै मेरो फोन रिसिभ गर्न पनि छाडे ।

मलाई अपेक्षा थियो हिब्रुवान् कि ग्रेसान भन्नेछन् कि, "साम्भवी अब तिम्रो ट्रान्सफर गर्नुपर्छ र मेरै कलेजमा जानुपर्छ ।" तर उनले एकैपटक त्यसो भनेनन् ।

मलाई लाग्यो उनी वातावरण मिलेपछि मलाई लिन आउनेछन् । तर उनी त अचम्मका मान्छे रहेछन् । न कहिल्यै फोन गर्छन्, न भेट्न आउँछन् ।

कलेज फर्किएपछि मलाई सबैभन्दा ठुलो समस्या तिमी थियौ हिब्रुवान् । तिमीसँग कलेजमा दैनिक भेट हुन्छ । अब तिमीसँग कसरी भेट्नु ! कसरी बोल्नु ! यही ठुलो समस्या थियो मेरा लागि ।

तर हिब्रुवान् तिमीले मेरो समस्यालाई यसरी सहज बनाइदियौ कि म आश्चर्यमा परेँ । तिमी एउटा बेस्ट फ्रेन्डझैँ मेरो नजिक आयौ र मलाई बधाइ दियौ । त्यस दिनपछि तिम्रो व्यवहारमा मैले कहिल्यै त्यो भाव पाइनँ कि हामी पूर्व प्रेमी-प्रेमिका हौँ । बस् तिमी सधैँ बेस्ट फ्रेन्डका रूपमा मसँग भेटिरह्यौ, बोलिरह्यौ ।

ग्रेसानले मलाई कहिल्यै फोन गरेनन् । म नै उनलाई फोन गरिरहन्थेँ । पछिपछि त उनी, "बिनाकाम फोन नगर्ने गर" भनेर झर्किन थाले । बिस्तारै मेरो फोन रिसिभ गर्न पनि छाडे ।

म प्रेग्नेन्ट भएँ । मैले फोन गरेर उनलाई सुनाएँ । मलाई लागेको थियो त्यो खबरले ग्रेसान खुसी हुनेछन् । तर मेरो कुरा उनले यसरी सुने मानौँ म कुनै सामान्य कुरा भनिरहेकी छु । मलाई रिस उठ्यो । मैले रिसाएरै भनेँ, "ग्रेसान म तिम्री पत्नी हुँ । लोग्नेस्वास्नी भएपछि हाम्रा एकआपसमा केही दायित्व हुन्छन्, तिमी किन यसरी बेवास्ता गर्छौ ?"

उनले बडो सहज रूपमा भने, "हो साम्भवी तिमी मेरी पत्नी हौ र म तिम्रो पति । तर त्योभन्दा माथि तिम्रो र मेरो हामी दुवैको आ-आफ्नो जीवन छ, आ-आफ्नो अस्तित्व छ र त्यही अनुरूपको अधिकार पनि । पति हुनुका नाताले आजसम्म मैले तिमीसँग कुनै सर्त राखेँ ? कुनै अपेक्षा गरेँ ? अनि तिमी कसरी पत्नी हुनुका नाताले मेरो जिम्मेवारीका कुरा गर्दै छौ ?"

मलाई ग्रेसानमाथि रिस उठ्यो । मैले सहनै सकिनँ र फोन काटिदिएँ ।

त्यो पिर मैले कसलाई सुनाउनु ? मेरो को थियो र ! दुःखमा मान्छे आफन्त खोज्दो रहेछ । कुन्नि किन हो त्यस दिन मलाई तिमी आफ्नो लाग्यौ । मैले तिमीलाई फोन गरेर बोलाएँ । तिमी तत्काल मेरो कोठामा आयौ । तिमीलाई अङ्गालेर म रोएँ र ग्रेसानले मसँग गरेका सारा व्यवहार तिमीलाई सुनाएँ । मैले त्यस दिन तिम्रा आँखामा मप्रति पूर्ण सहानुभूति देखेकी थिएँ हिब्रुवान् । तिमीमा हिजो मैले गरेको व्यवहारको प्रतिशोधको भाव पटक्कै झल्किएको पाइनँ । मलाई लाग्यो तिमी वास्तवमै असल मान्छे हौ ।

धेरै बेर तिमीले मलाई सम्झायौ । अन्तमा भन्यौ, "अन्यथा नमान्नु साम्भवी । आज पनि म तिमीलाई उत्तिकै माया गर्छु । तिमी चाहन्छ्यौ भने आज पनि म तिमीलाई स्वीकार गर्छु, तिमी ग्रेसानलाई छोडेर मसँग आउन सक्छ्यौ । तर मेरो एउटा सर्त छ ।"

हिब्रुवान् तिम्रो सधैँ मसँग सर्त राख्ने बानीले पनि हैरान तुल्याउँछ । र पनि मैले सोधेँ, "कस्तो सर्त हिब्रुवान् ?"

तिमीले भन्यौ, "या तिमी यसलाई एबोर्सन गर या यसलाई जन्म दिएर ग्रेसानकहाँ छोडेर आऊ ।"

त्यस दिन मलाई तिम्रो कुरा सुनेर पटक्कै रिस उठेन । अचम्म पनि लागेन । स्वाभाविक लाग्यो । बरु लाग्यो तिमी मलाई कति धेरै माया गर्दा रहेछौ । अर्कैसँग बिहे गरेर बच्चा बोकेकी नारीलाई फेरि आफ्नो बनाउन तयार छौ ।

मैले भनेकी थिएँ, "म यो बच्चा कसरी एबोर्सन गर्न सक्छु हिब्रुवान् !"

"तिमीलाई जसले वास्तै गर्दैन, उसको बच्चा एबोर्सन गर्न तिमीलाई के आपत्ति ?" तिमीले भनेका थियौ ।

"उसको बच्चा ?" मैले मेरो पेटमा सङ्केत गरेर भनेकी थिएँ, "मेरो पाठेघरमा वीर्यको एक अंश अडिएर जुन दुई महिनादेखि मान्छे बन्ने प्रक्रियामा छ, जो अझै छ-सात महिना मेरो पेटमा बसेर हुर्किनेछ, त्यो कसरी ग्रेसानको बच्चा हुन सक्छ ? त्यो त मेरो बच्चा हो हिब्रुवान् । र म मेरो बच्चाको हत्या कसरी गर्न सक्छु ?"

तिमीले भनेका थियौ, "म तिमीसँग बहस गर्न चाहन्न साम्भवी । तिमी यसलाई जन्माउन पनि सक्छ्यौ ।"

हो ! त्यसपछि मैले बच्चा जन्माएँ । यही आत्मविश्वासका साथ कि यो जन्मिएपछि तिमी मलाई स्वीकार गर्नेछौ । अनि म निश्चिन्त भएँ ।

बच्चा जन्मियो । मलाई थाहा थियो तिमी बच्चासहित मलाई स्वीकार गर्ने छैनौ । म बच्चाको व्यवस्थापनका निम्ति चिन्तित थिएँ । मेरो अपेक्षाविपरीत एक दिन ग्रेसान आए र बच्चालाई अपनाए । पछि मैले थाहा पाएँ ग्रेसानकी अर्की पनि श्रीमती रहिछे । धनाढ्य परिवारकी एक्ली छोरी भएकाले ग्रेसान घरज्वाइँ रहेछन् । उसले बच्चा नजन्माउने सर्तमा बिहे गरेकी रहिछे । मसँग ग्रेसानले बच्चाका निम्ति मात्र बिहे गरेका रहेछन् भन्ने बुझ्न गाह्रो भएन ।

त्यसपछि म तिमीसामु आएँ । तिमीले, "बच्चाको कसरी व्यवस्थापन गर्‍यौ ?" भनेर एकपटक पनि सोधेनौ । त्यसबेला मलाई पनि सहजै लागेको हो । तिमीले अत्यन्त हार्दिकताका साथ मलाई अपनायौ । हाम्रा भौतिक दूरी र सीमाहरू सारा समाप्त भए । अब सीमा केका निम्ति भन्ने पनि लाग्यो मलाई ।

कहिले तिमी मेरो रुममा आयौ, कहिले म पनि तिम्रो कोठामा गएँ । यसरी हाम्रा कति दिन बिते, कति रात बिते । हामी त्यहाँभन्दा बाहिर पनि बस्यौँ, धेरैपटक होटलहरूमा हाम्रा रात बिते । अन्य सहरहरूमा पनि हाम्रा दिन-रात बिते ।

जबजब म तिम्रो कोठामा हुन्थेँ तब तिमीलाई भन्ने गर्थेँ, "हिब्रुवान् म मेरो कोठा छोडेर सदासदाका लागि यस कोठामा कहिले आउने हो ?"

तिमी मुस्कुराउँथ्यौ र भन्थ्यौ, "साम्भवी यो तिम्रै कोठा त हो । यहाँ तिमी जहिले पनि त आउन सक्छ्यौ । यतै बस न आएर ।"

मैले भनेकी थिएँ, "त्यसरी होइन के । तिमी र मैले बिहे गरौँ । म बेहुली बनेर तिम्रो कोठामा आउन चाहन्छु ।"

तिमी मेरो कुरा सुनेर गम्भीर भएका थियौ । भर्खरसम्मको मप्रतिको प्रेम र आसक्ति सेलाएजस्ता देखिएका थियौ । ममाथि, मेरो शरीरमाथि घोप्टो परेका तिमी मलाई छोडेर साइड लागेका थियौ । उत्तानो परेर कतै आकाशमा हराएजस्ता देखिएका थियौ ।

मलाई लाग्यो मैले गलत समयमा गलत कुरा भनेँ । "के भयो हिब्रुवान् ? मैले केही नभन्नु भनेँ र ?" सोधेँ मैले ।

"त्यसो होइन साम्भवी । तिमीले भनेको कुरा ठिक हो । म त तिमीलाई त्यसै दिन सिन्दुर हालेर भित्र्याउन चाहन्थेँ, जुन दिन तिमी ग्रेसानलाई छाडेर आएकी थियौ । म चाहन्थेँ कि दुनियाँलाई बताएर तिमीलाई भित्र्याऊँ; ताकि भोलि ग्रेसान तिमीमाथि अधिकार जताउन नसकुन् । तर... !"

तिम्रो कुरा सुनेर लाग्यो तिमी कुनै जटिल समस्यामा छौ । "तर के हिब्रुवान् ?" मैले सोधेकी थिएँ, तिमीसँग ।

तर अब भयो हिब्रुवान् । अब म तिमीलाई पर्खिन सक्दिनँ । अब पनि म धैर्य गर्न सक्दिनँ । अब म तिमीलाई विश्वास गरिरहन सक्दिनँ । त्यसैले आजका दिनबाट तिमीसँगको प्रेमसम्बन्धलाई सदासदाका लागि तोड्दै छु ।

"तर अहिले समय प्रतिकूल छ साम्भवी । हामीले हतार गरेर भोलिलाई दुर्घटित तुल्याउन ठिक छैन । त्यसैले तिमीले अरु केही समय प्रतीक्षा गर, ल ।"

मलाई लाग्यो तिमी मलाई कति माया गर्छौ । तिमी कति असल छौ । तिमीमाथि माया कति हो कति बढेर आयो । मैले मनैमन प्रतिज्ञा गरेँ "तिमीलाई प्रतिकूल हुने गरी, ममाथि तिमीले सिकायत गर्नुपर्ने गरेर म कहिल्यै व्यवहार गर्ने छैन ।"

तर हिब्रुवान् बिस्तारै थाहा पाउँदै गएँ । तिमी मैले सोचेजस्ता असल र महान् रहेनछौ । बस्दै-हेर्दै जाँदा अरुले पनि तिम्रा बारेमा अनेक कुरा गर्न थाले । मैले थाहा पाउँदै गएँ तिमी अन्य युवतीहरूसँग पनि सम्बन्धमा रहेछौ । मैले तिमीलाई भनेँ पनि । तर तिमीले त्यसलाई स्वीकार गरेनौ । मलाई सम्झाउँदै भन्यौ, "साम्भवी ! म राजनीति गर्ने मान्छे । राजनीति गर्नेहरूले सबैसँग उठबस गर्नुपर्छ । तिमीले यसरी शङ्का गर्न थाल्यौ भने त मेरो राजनीतिक करियर नै धरापमा पर्छ ।"

मलाई होला भन्ने लाग्यो । तर बिस्तारै थाहा पाउँदै गएँ कि तिमीले मलाई रखैल बनाएका रहेछौ । मसँग भन्दा पहिलादेखि नै तिम्रा अन्य थुप्रै युवतीहरूसँग समेत मसँग जस्तै सम्बन्ध रहेछ र उनीहरूलाई पनि मलाई जस्तै झुटो बोलेर फकाउँदा रहेछौ ।

एकातिर लामो समयदेखि मसँग जस्तै अन्य नारीहरूसँग शारीरिक सम्बन्ध राख्ने र अनुकूल समय आएपछि बिहे गर्छु भनी फकाउने तिमी, नयाँ-नयाँ युवतीहरूसँग समेत सम्बन्ध बढाउने, उनीहरूका पछि लाग्ने र रात बिताउने, कतिलाई त एकान्तमा सिन्दुर हालेर विश्वासमा पार्ने तिम्रो स्वभाव र चरित्र अब मेरो दृष्टिमा लुकेर रहेन हिब्रुवान् । यी सबै थाहा पाएर पनि यदि तिमी सबैलाई छाडेर मलाई स्वीकार गर्छौ भने तिमीसँग जीवन बिताउन राजी हुनेछु भन्ने अठोट गरेरै मैले तिमीलाई पर्खिरहेँ ।

तर अब भयो हिब्रुवान् । अब म तिमीलाई पर्खिन सक्दिनँ । अब पनि म धैर्य गर्न सक्दिनँ । अब म तिमीलाई विश्वास गरिरहन सक्दिनँ । त्यसैले आजका दिनबाट तिमीसँगको प्रेमसम्बन्धलाई सदासदाका लागि तोड्दै छु ।

तिमीलाई छोडेर म कहाँ जान खोज्दै छु भन्ने सोचेका छौ होला; हैन तिमीले ! त्यसो त ग्रेसानसँग मेरो औपचारिक सम्बन्धविच्छेद भएको होइन र पनि म ग्रेसानकहाँ फर्केर जान्नँ । जुन व्यक्तिले मलाई सम्मान गर्न सक्दैन, जसले मलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग मात्र गर्‍यो म उसलाई कसरी स्वीकार गर्न सक्छु !

मैले एक्लै जीवन बिताउने निर्णय गरेर पनि तिमीलाई छोडेको होइन हिब्रुवान् । म त्यो हिम्मत, त्यो साहस भएकी नारी पनि होइन । तर पनि अबको जीवन म त्यस्तो व्यक्तिसँग बिताउने छु, जो मलाई सम्मान गरोस्, माया गरोस् । पतिपत्नीको सम्बन्धमा मलाई समान हैसियत प्रदान गरोस् । बरु ऊ गरिब नै होस् । उसको हैसियत तिमीसँग र ग्रेसानसँग तुलना गर्न नमिल्ने नै किन नहोस् मलाई त्यो स्वीकार छ ।

अब मैले स्वीकार गरेको मान्छेले समेत मेरो आत्मसम्मानमा आघात पुर्‍यायो भने म तिमीलाई जति समय पनि लाउने छैन उसलाई छोड्न । हो मलाई थाहा छ हिब्रुवान् यदि मेरो जीवनमा फेरि पनि त्यस्तो घटना घट्यो र मैले उसलाई पनि छाड्नुपर्‍यो भने यो दुनियाँ मलाई सहानुभूतिले हेर्ने छैन । मेरो चरित्रमाथि प्रश्न गर्ला ! रन्डी भन्ला, रखैल भन्ला, घृणा, तिरस्कार गर्ला । तर पनि म मेरो आत्मसम्मानसँग सम्झौता गर्ने छैन हिब्रुवान् ! चाहे तिमी यसलाई मेरो अभिमान सम्झ ।

अब मलाई कसैको सहानुभूति चाहिएको छैन, तिम्रो पनि चाहिएको छैन हिब्रुवान् । बस् मलाई मेरो आत्मसम्मान चाहिएको छः ग्रेसानबाट, तिमीबाट र यो समाजबाट, यो दुनियाँबाट । त्यसका लागि म जोसुकैसँग, जस्तोसुकै जटिलतासँग लड्न सक्ने भएर उभिएकी छु । यो हिम्मत ममा तिम्रा कारण जन्मिएको हो हिब्रुवान् । त्यसकारण म तिमीलाई धन्यवाद भन्न कन्जुस्याइँ गर्दिनँ ।

तर आजबाट मलाई भेट्न नखोज्नु हिब्रुवान् । म घाइते बघिनी हुँ । मबाट सतर्क हुनु, सावधान हुनु । सम्झनु म घाइते बघिनी हुँ । हो सम्झनु हिब्रुवान्, घाइते बघिनीको आक्रमण कतिसम्म प्राणघातक हुन्छ, कतिसम्म खतरनाक हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकरप्रसाद गैरे
शंकरप्रसाद गैरे
लेखकबाट थप