गोरखापत्रका जन्मदाता नरदेव पाण्डे
सारांश
- गोरखापत्र नेपालको पहिलो समाचारपत्र थियो, जसको निर्माणमा मोतीराम भट्टको भूमिका थियो र नरदेव पाण्डे पहिलो प्रकाशक थिए।
- १९५८ वैशाख २४ गतेदेखि प्रकाशित गोरखापत्र सुरुमा पाशुपत छापाखानामा छापिएको थियो र यसको सम्पूर्ण खर्च सरकारले बेहोर्थ्यो।
- नरदेव पाण्डेले गोरखापत्रको सम्पादन र व्यवस्थापन गरे, तर पछि उनलाई पदबाट हटाइयो र जयपृथ्वीबहादुर सिंहलाई जिम्मा दिइयो।
नेपाल राष्ट्रको पहिलो समचारपत्रको नाउँ ‘गोरखापत्र’ हो । यस पत्रिकाको निर्माणको पाश्र्व भूमिका मोतीराम भट्टको थियो । तर यसको जन्मदाता र पहिलो प्रकाशक भने नरदेव पाण्डे हुन् । १९५८ वैशाख २४ गते सोमबारदेखि प्रकाशन हुन थालेको ‘गोरखापत्र’ सुरुमा पाशुपत छापाखानामा छापिएको थियो ।
अनि वर्ष १ सङ्ख्या १ देखि वर्ष २ सङ्ख्या ११ सम्म यो पत्रिका त्यही छापानाखानामै छापियो । तर त्यसको सम्पूर्ण खर्च प्रति महिना चार हजार पाँच सय चौरासी रुपियाँ सरकारबाटै बेहोरिन्थ्यो । त्यतिबेला त्यस रकमले महिनाको चार हप्ता एकएक हजार पत्रिका छाप्नु पर्ने थियो । अनि त्यस कार्यका लागि सत्र जना कर्मचारी भर्ना गरिएका थिए ।
पाण्डेकै प्रयत्नमा गोरखापत्रको जन्म भएकाले श्री ३ देवशमशेरले पाण्डेलाई त्यस पत्रिकाको तालुकवाला अथवा भनौं हाकिममा भर्ना गरे । साथै पाण्डे नै त्यस पत्रिकाको सम्पादक थिए । तर सो पत्रिकाको पहिलो सम्पादक पाण्डे नै हुन या होइनन् भन्नेबारे पनि मतमतान्तर भए । खास कुरा के भने सरकारले जारी गरेको सनदमा हकिमको तलब मासिक ५० रूपियाँ र एडिटरको तलब मासिक ३३ रुपियाँ तोकिएको थियो ।
हाकिम र एडिटर बेग्लाबेग्लै शिर्षमा तलब लेखिएको शब्दका आडमा र उक्त पत्रिकाको सम्पादकीयमा प्रस्तुत भएको भाषा पनि पाण्डेले लेख्ने गरेको भाषा नभएकाले सम्पादक अर्कै थिए कि भन्ने अनुमान लगाइएको पनि पाइन्छ । तर पाण्डेले सम्पादकीय लेख्नका लागि अर्कै व्यक्ति नियुक्त गरेको हुन सक्छ भन्ने तर्कहरू पनि आइरहे ।
माध्यमिक कालका साहित्यिक प्रवर्तक भनौँ या त्यस बेलाका साहित्यिक नेता मोतीराम भट्ट थिए । अनि उनीचाहिँ पाण्डेका भान्जा थिए ।
त्यसबेला पाण्डेका नाउँमा एउटा सरकारी सनद नै जारी भएको थियो । त्यस बेहोरामा लेखिएको थियो, ‘पण्डित नरदेव पाण्डेले पुर्जि हेरी गोर्खाली अखबार हप्तावारी जम्मा १००० थान छापा गरी जारी गर्ने काम तालुकमा राखी बक्स्याको हुनाले सो कामलाई मद्धत गर्न टायप छापाखाना लेथोग्राफ छापाखाना समेत गरी उर्दिसवाल गरिबक्स्याको छ ।’
माध्यमिक कालका साहित्यिक प्रवर्तक भनौँ या त्यस बेलाका साहित्यिक नेता मोतीराम भट्ट थिए । अनि उनीचाहिँ पाण्डेका भान्जा थिए । त्यसैले भट्टले पाण्डेलाई डोर्याएर हिंडाएकाले पनि पाण्डेको हिम्मत र हैसियत निक्कै बडेको थियो । त्यसमाथि आढत सञ्चालनदेखि पाशुपत छापाखाना चलाउने दायित्व क्रमशः उनकै थाप्लोमा आइपरेको थियो । त्यसैले उनी त्यसैबेला ठूलो बोझ बोक्न पोख्त भइसकेका थिए ।
उमादेव पाण्डेका सात छोरा र सात छोरी थिए । उनकी कान्छी पत्नी शिवप्रियाका पाँच छोरामध्ये नरदेव पाण्डे माइला छोरा थिए । अनि उनको जन्म बिस १९२९ मा फसिकेव काठमाडौंमा भएको थियो ।
पाण्डेले चार जनासँग बिहे गरे । उनका जेठी र माइली पत्नीबाट सन्तान जन्मेनन् । अनि जेठी श्रीमती कृष्णकुमारीकै आग्रहमा उनले मुनुदेवीसँग बिहे गरे । एउटा छोरो जन्माएको दस महिनामा उनी स्वर्गीय भइन् । अनि फेरि उनकी जेठी पत्नीको करबलमा उनले गन्धर्वराजकुमारी तिवारीसँग बिहे गरे । यिनले भक्काभक तीन छोरा र पाँच छोरी जन्माइन् ।
एक दिन पाण्डे आफ्नो कुलदेवताको पूजा गर्न गएका थिए । पूजा सकेर उनी आफ्नो घर फसिकेव फर्के । त्यस दिनदेखि उनलाई ज्वरोले लखतरान पारेको थियो । ज्वरोको तापक्रम बढेर उनी बेहोस पनि भए । त्यसपछि उनलाई आर्यघाट पुर्याइयो । अनि भोलिपल्ट अर्थात् २००१ वैशाख १२ गते उनको निधन भएको थियो ।
पाण्डे मोतीमण्डलीमा सक्रिय थिए । मोतीरामले नियम बनाए अनुरुप मोतीमण्डलीमा पुग्ने जतिले हरेक दिन एकदुई श्लोक कविता लेखेर मोतीरामलाई देखाउनै पथ्र्यो । त्यही क्रमले पाण्डे पनि खारिदै गए । त्यसै कारण एक–दुई वर्ष भित्रै उनी राम्रो कविका रूपमा दरिए । उनी प्रबन्ध, निबन्ध लेखनमा पनि क्रमशः अग्रसर हुँदै आए ।
पाण्डेले कति लेखे; यसको हिसाब किताब छैन । तर प्रकाशनमा उनका सातवटा पुस्तक आए । तीमध्ये उनको पद्यतर्फ १९५० सालमा ‘श्रीगणेश सरस्वतीस्तोत्र’ प्रकाशनमा आयो । त्यसपछि १९५६ सालमा ’वीरबल चातुररी’ नामक उनको गद्याख्यान प्रकाशनमा आयो । साथै गद्याख्यानकै मेसोमा उनले १९५८ सालमा ‘अद्भुत मिलाप’ पनि छपाए । अनि यसैविधाको ’मेरिना चरित्र’ उनले १९५९ मा जनसमक्ष ल्याए । त्यसै वर्ष उनको अर्को पद्यात्मक रचना ‘शङ्कमूल यात्रा’ छापिएको थियो । साथै यसै विधाको ‘चन्द्रभक्ति प्रकाश’ १९६२ मा प्रकाशित गरेर उनी झनै चर्चित भए ।
पाण्डेले नै ‘सुधासागर’ मासिक पनि सञ्चालन गरे । उनले त्यस मासिक पत्रिकाको प्रारम्भ पनि १९५५ सालको साउनदेखि आरम्भ गरेका थिए ।
२००८ सालमा नरदेवको घरमा आगलागी भयो । त्यसबेला उनको घर मात्र खरानी भएन सबै कागजात पनि नास भए । बालमुकुन्ददेव पाण्डेका अनुसार ‘दमकलका सिपाहीहरूले झ्यालबाट फालिदिएका कागतका डङ्गुरबाट नडढेका र नबिग्रेका केही कागतपत्र मैले बटुलेको थिएँ । त्यसमा प्राचीन ताडपत्रमा लेखिएका हस्तलिखित ग्रन्थहरू पुरातत्व विभाग र मोतीराम भट्टको एक निजी कापी गोपाल पाण्डे ‘असीम’लाई बुझाएको थिएँ ।’
पाण्डेका कृतिहरूमा सबैभन्दा चर्चित र महत्वपर्ण ‘कविवर मोतीराम भट्टको सचित्र जीवन चरित्र’ मानियो । यो कृति १९९५ सालमा प्रकाशनमा आयो । यस कृतिमा उनले मोतीराम भट्टको गाथा नै लेखे । शरदचन्द्र शर्मा भट्टराईका भाकामा भन्ने हो भने सरदार रुद्रराज पाण्डेको प्रेरणा र शिक्षा डाइरेक्टर मृगेन्द्रशमशेरको स्वीकृति लिएर उनले मोतीरामको सङ्क्षिप्त जीवन वृतान्त प्रकाशनमा ल्याएका थिए । त्यसबेला पाण्डेले प्रस्तुत गरेपछि नै मोतीराम भट्टको जीवनीका हाँगाबिँगा फैलिएको हो ।
१९४५ सालमै ‘ठहिटी आढत’ स्थापना भएको थियो । त्यस पसलले बनारसबाट किताब ल्याएर बेच्ने काम गथ्र्यो । साथै त्यस आढतबाट अन्य जिनिस पनि बेचिन्थ्यो । तर पाण्डेले यसको आडमा आफ्नो पसलको नाउँमा कतै पुस्तकालय र कतै पसल राखे । अनि ठहिँटी हढातको स्थापनाले प्रेसव्यवसायलाई प्रोत्साहन पनि भएको थियो । त्यो संस्थाको स्थापनाको पाँच वर्षमै पाशुपत छापाखाना खोलिएको थियो । यो निजी क्षेत्रमा खोलिएको पहिलो छापाखाना थियो । अनि यो १९५० सालको आषाढ शुक्ल पूणिर्मामा स्थापना भएको थियो ।
पाण्डेले नै ‘सुधासागर’ मासिक पनि सञ्चालन गरे । उनले त्यस मासिक पत्रिकाको प्रारम्भ पनि १९५५ सालको साउनदेखि आरम्भ गरेका थिए । त्यस पत्रिकामा कविता प्रकाशित गरिन्थ्यो । उक्त पत्रिका सञ्चालनको अनुभव उनले गोरखापत्रमा लेखेका थिए ।
गोरखापत्र प्रकाशनको पनि वेग्लै कथन छ । कुरा केहो भने– मोतीराम एउटा समाचारपत्र निकाल्ने धुनमा धेरै वर्षदेखि लागेका थिए । यस कामका लागि उनले दरबार नजिक रहेका नरदेव पाण्डेलाई धेरै वर्ष कन्याए । तर वीरशमशेरले यस्ता कामबारे आफ्ना कानमा कुरै घुस्न दिँदैन्थे । वीरशमशेर स्वर्ग जाने बित्तिकै देवशमशेर श्री ३ भए । उनी सुधारवादी भएकाले पाण्डेले मौकामा चौका हाले । अनि उनकै नेतृत्वमा गोरखापत्र प्रकाशित हुन थाल्यो । तर यसका परिकल्पनाकार मोतीराम भट्ट भने पाँच वर्षअघि नै स्वर्गवास भएका थिए ।
पाण्डेले एकनिष्ट भई गोरखापत्र निकालिरहेका थिए । चन्द्रशमशेर राणा श्री ३ को गद्दीमा बसेपछि पाण्डेलाई राणाले त्यहाँबाट विनाकसुर हुत्याइदिएका थिए । अनि राणाले आफ्ना ज्वाइँ जयपृथ्वीबहादुर सिंहलाई गोरखापत्रको संरक्षणको जिम्मा दिएका थिए । त्यस दिनदेखि पाण्डेको शिर ओझेलमा पर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण